शोभा बजगाई
नोभेम्बर २५ देखि १० डिसेम्वरसम्मको १६ दिनलाई महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियानको रुपमा मनाइन्छ । यसलाइ विश्वभर मनाउदै आएको २७ बर्ष भईसकेको छ । यस वर्ष पनि “लैङ्गिक हिंसा र दुव्यवहारःछैन हामीलाई स्विकार” भन्ने राष्ट्रिय नाराका साथ देशव्यापि रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भईरहेको छ । विशेष गरि यि १६ दिवसहरुलाई महिलाको मानव अधिकारको सवालमा पैरवी गर्ने अवसरका रुपमा लिइन्छ ।
महिला माथि हुने हिंसाका स्वरुपहरु धेरै छन । यि स्वरुपहरु दिनानुदिन बदलिँदै पनि गएका छन । महिलामाथि हुने हिंसाको सम्वोधनका लागि पैरवी गर्ने यो अभियान हामी महिलाका लागि उत्सव हो । यसै सन्दर्भमा समाजको एउटा डरलाग्दो पाटो तर खासै बहस भने नहुने विषयको उठान गर्ने प्रयत्न यस लेखको माध्यमबाट गर्दैछु । विधवा महिलाहरुले विधवा भएकै कारणले परिवार तथा समाजबाट भोग्नुपरेको हिंसालाई महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत उठान गर्ने जमर्को गर्दैछु । यसमा एकल शव्दको प्रयोग नगरेर विधवा शव्दकै प्रयोगको सान्दर्भिकता ठान्छु । किनभने महिलाहरु एकल हुने अन्य विभिन्न कारणहरु पनि हुन्छन । तसर्थ यसलाई अन्यथा नठान्दिनुहोला ।
हामीले मनाउने चाडपर्व, हाम्रा जीवनशैलि, रहनसहन र हाम्रो व्यवहारमा सदियौं देखि हामीले पच्छ्याउँदै आएका संस्कार र परम्पराको गहिरो प्रभाव परेको हुन्छ । अक्सर संस्कृतिको नाममा हुने धेरै हिंसाको शिकार महिलाले बन्नुपर्छ । जसलाई हामी हाम्रो संस्कार हो, हामीले संरक्षण गर्नुपर्छ भनेर सहज रुपमा ग्रहण गरिरहेका हुन्छौ । यि संस्कारको नाममा रहेका कुुसंस्कार हामीले नै बनाएका हौं र परिवर्तनका हिस्सेदार पनि हामी हौं भन्ने दुस्साहस हामीमा थोरै छ । यिनै विभिन्न संस्कृति र परम्पराको नाममा विधवा महिलाहरुले आफ्नो जीवनकालमा धेरै पटक हिंसाको शिकार बनिरहनु परेकोछ ।
जसको एउटा उदाहरण दशै हो । मेरी विधवा आमासंग वितेका थुपै्र दशैं जसले कहिले रातो टिकाको नाममा त कहिले रंङ्गिन कपडाको नाममा असंख्य संगिन मेरो छातिभरि रोपेको छ( जो प्रतिनीधिमुलक मात्र हो) । आमाको छाती बिचबाट घटिरहने घटनाक्रम र अन्य महिला जस्तो गरि रमाउन नसक्नुको यथार्थ अरु केही नभएर मेरो बुबाको मृत्यु हो । अर्थात उनी विधवा हुनु हो । यसमा उनको केही दोष छैन । तर समाजले पूर्ण रुपमा दोष उनीमाथि थुपार्छ । उनी चुपचाप सहिरहन्छिन । जब दशैमा परिवारका सदस्यहरुलाई नयाँ लुगा किनिन्थ्यो, मेरी आमाका लागि कहिल्यै राता र उज्याला रंङ्गका लुगा किनिन्नथ्यो । धमिला,सेता र अध्यारा रङ्गका लुगामै मेरी आमा दशैंका तमाम रङ्ग खोज्थिन । जव हजुरबाले टिकाको थालीमा चामल,रातो रङ्ग र दही मिसाएर अक्षता बनाउथे त्यस बखत मेरी आमाको टिका अर्कै ट्रे मा पहेलो केशरी घोलेर बनाइन्थ्यो । आजपनि धेरै महिलाहरुले यहि स्थितीको सामाना गर्नुपरेको छ । यसले महिलालाई प्रत्यक्ष रुपमा हिंसा त गरिरहेकै छ नै जसको मनोसामाजिक असरको हस्तान्तरण छोराछोरीमा भएको एउटा उदाहरण मात्र हुँ म ।
वास्तवमा संस्कृती र परम्पराको परिवर्तनको आवर्तन फरक फरक हुन्छ । परम्पराहरु धेरै पुस्तासम्म समान जस्तै नै रहन्छन । त्यहाँ परिवर्तनको सुक्ष्म संकेत मात्र देखिन्छ । तर परम्पराको सारवान मान्यता भने अपरिवर्तनशिल नै हुन्छ । संस्कृतीका आयामहरु भने विकासक्रम, विज्ञान, आधुनिकीकरण, सामाजिक क्रान्ति तथा सिङ्गो विश्वव्यापीरणको मान्यताले चाँडै परिर्वतन हुन पनि सक्छन् र भइरहेको पनि हामी पाउँछौ । यद्यपी परिवर्तन जटिल प्रक्रिया हो ।
रातो रङ्ग, सिन्दुर र पोते हिन्दु समाजमा सधुवा महिलाले लगाउनै पर्ने गहनाको रुपमा स्विकारिन्छ । यो हाम्रो संस्कार हो , भनिन्छ । अनी श्रीमान्को अवसान भएका महिलाहरुलाई यि सबै गहना प्रयोग गर्नबाट वञ्चित गरिन्छ । यो त भयो सतही र देखिने गरिको विभेद । तर गौण रुपमा विधवा महिलालाई समाज र परिवारले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार अझ डरलाग्दो छ । जस्तैः अझैपनि ‘विधवालाई बाटोमा देख्दा साईत बिग्रन्छ, श्रीमान टोकुवी’ जस्ता उखान प्रयोग गर्ने गरिन्छ । यहाँनेर पितृसत्ताको राजनीति जोडिएको छ भन्दा अत्युक्ति नहोला । परम्पराको नाममा भएका धेरै अभ्यासले पितृसत्तालाई मलजल गर्छन् भने महिलालाई कम्जोर बनाउँछन् । तसर्थ, विधवा महिला माथि विभिन्न बहानामा हुने गरेको हिंसा पितृसत्ताको उपज हो ।
सम्पत्ति माथिको अधिकार नहुनु, पारिवारिक निर्णयमा भूमिका नदिईनु, मानशिक यातना, श्रम शोषण, यौन शोषण र विभिन्न किसिमका लाञ्छना विधवा महिला माथि लाग्ने गरेका उदाहरण हुन । जो अहिले पनि हाम्रो समाजमा प्रसस्त पाइन्छ । फेरी पनि म मेरी आमा तर्फ फर्कन्छु । एउटा घटना बारम्बार स्मरणमा आइरहन्छ । म त्यस्तै ५ वर्षकी थिएँ होला । भाईलाइ काखमा राखेर गाईको दुध खुवाउँदै हुनुहुन्थ्यो आमाले त्यसैबेला मेरा काकाले आए र भने, ‘कमाउन पो गाहे छ त, कमाएको ख्वाउन त सजिलै हुन्छ नि π’ यसो भनेर तीखो प्रहार गरेर गए । यसले के प्रमाणित गर्दछ भने मेरी आमाको निरिह अवस्था, उनले गरेको श्रमको आर्थिक गणनाको अभाव,यसको संरक्षक कोही छैन यसलाई जे गर्दा पनि हुन्छ भन्ने दरिद्र मानशिकता नै हो । यसले हिंसालाई निरन्तर बढावा दिन्छ । जसलाई पितृसत्तात्मक सोचले निर्देशित गर्दछ । यसको शिकार आम महिलाको तुलनामा विधवा महिला बढी बन्नु परेको छ ।
जव महिला विधवा हुन्छन उनीहरुको दैनिकी र जीवनशैली पूर्ण रुपमा परिवर्तन हुन्छ । जीवनका शिल्प र भोगाईमा परिवर्तन आउँछ । संसारमा त्यस्तो कुनै मुलुक छैन जहाँ पुरुषहरुका लागि छुट्टै पोशाक अन्य प्रकारका सांकेतिक प्रमाण हुन्, जसले उक्त व्यक्ति विवाहित,अविवाहित अथवा श्रीमतीको मत्यु भएको स्पष्ट पारोस् । तर हामी महिला विशेषगरी हिन्दु महिलाले श्रीमान्संगको सम्वन्धको प्रमाण सहित समाजसंग प्रस्तुत हुनुपर्छ । रातो रंगलाई सुन्दरता र शक्तिको प्रतिकको रुपमा व्याख्या गरिन्छ । यसरी सुन्दर र शक्तिवान् हुने हकलाई श्रीमानको आयुसंग रातो रंगले जोडेर महिलालाई जीवनकालमा पटक पटक कम्जोर बनाइन्छ ।
नेपालको जनगणना २०६८ अनुसार जम्मा विवाहित जनसंख्याको १७ प्रतिशत महिला विधवा रहेका छन् भने पुरुष २.१ प्रतिशत पुरुष बिदुर । यसले के स्पष्ट पार्दछ भने पुरुषहरु विदुर भएको हाम्रो समाज, परिवार र संरचनाले स्किार्दैन । श्रीमतीको मृत्यु पश्चात पुरुषलाई दोस्रो विवाह गर्न केही कुराले पनि बन्देज हुँदैन । मार्ग खुल्ला हुन्छ । परिणामतः विदुर पुरुषले धेरैले दोस्रो विवाह गर्छन । अर्कोतिर विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्ग अनुसार नेपालीको औसत आयु ११७ औं स्थानमा रहेको छ । जसमा महिलाको आयु ७१.६ वर्ष छ, भने पुरुषको ६८.८ रहेको छ । यो तथ्याङ्गले पुरुष भन्दा महिलाको ढिलो मृत्यु हुने कुरा प्रस्ट पार्छ भने पुरुष विदुर हुने अवस्था महिलाको तुलनामा अझ कम रहेको र विवाह गर्ने दर भने उच्च रहेको छर्लङ्ग हुन्छ ।
न्याय पाउनु र न्यायको प्रत्याभुत गर्नु फरक विषय हुन । हाम्रो मुलुकमा महिलाले न्याय पाउन कति कठिन छ भन्ने उदाहरण पछिल्लो समयमा बाहिरिएका बलात्कार तथा यौनजन्य हिंसा न्युनिकरणमा भएका उजुरी र अनुसन्धान प्रक्रियाले प्रमाणित गरेकै छ । रह्यो कुरा सामाजिक न्यायको । जो व्यक्ति र समाज बिचको निश्पक्ष र न्यायिक अवधारणा हो । परम्पराले निर्देशित गरेका मान्यताहरु हाम्रो मस्तिष्कमा जरा गाढेर बसेका हुन्छन् । यसलाई भत्काउन कठिन छ तर असम्भव भने पक्कै छैन । बस् हामीले अव सुरुवात गर्नुछ ।
(लेखकमा विराटनगरमा रहेर महिला अधिकारकाे क्षेत्रमा काम गरेकाे लामाे अनुभव छ)