अदुवाले राम्रो मूल्य पाउँदा किसान हर्षित, प्रतिकेजी ५० रुपैयाँसम्म किनबेच

अदुवाले राम्रो मूल्य पाउँदा किसान हर्षित, प्रतिकेजी ५० रुपैयाँसम्म किनबेच

तेह्रथुम, २३ मङ्सिर ।  यस वर्ष अदुवाले राम्रो मूल्य पाउँदा किसान हर्षित भएका छन्। अदुवाको पहिलो सिजन मानिने मंसिर महिनामा प्रतिकेजी ५० रुपैयाँसम्ममा किनबेच हुन थालेपछि किसानमा खुसियाली छाएको छ। गत वर्ष अदुवा नबिकेर बारीमै कुहिएको थियो। अदुवा सहजरूपमा बिक्री हुन थालेपछि खुसी लागेको अदुवा किसान बताउँछन्।

गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय बजारबाट अदुवाको माग बढी आएको र उत्पादन कम भएकाले मूल्य बढेको व्यापारीको भनाइ छ। किसानको अदुवा प्रतिकेजी ५० रुपैयाँसम्ममा किनेको व्यापारी दुर्गा भण्डारीले बताए। उनले भने, ‘अहिले हामीलाई अदुवा किन्न भ्याइनभ्याइ छ।’

अदुवाले राम्रो मूल्य पाएपछि किसानले अदुवा बिक्री गर्ने तयारी थालेका छन्। उनीहरूले गत वर्षको तुलनामा राम्रो मूल्य पाएपछि धमाधम अदुवा बिक्री गर्ने तयारी थालेका हुन्। अदुवाको मूल्य सोचेजस्तो भएको किसान तथा स्थानीय व्यापारीले बताएका छन्। ‘गत वर्ष अदुवा कम निकासी भएका कारण नबिकेर बारीमै कुहिएको थियो तर यस वर्ष अदु्वाले राम्रो मूल्य पाएको छ’, म्याङलुङका अदुवा कृषक चित्रराज नेपालले भने।

जिल्लाका धेरै किसानले व्यावसायिक रूपमा अदुवाखेती गर्न गर्दै आएका छन्। सुरुमा केही वर्षसम्म अदुवा उत्पादन गरेर प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्ममा बिक्री गरेको थियो। तर, गत वर्ष भने अदुवा बिकेको थिएन। गाउँमा उत्पादन भएको अदुवा खरिद गरेर आफूहरूले भारतकै व्यापारीलाई बेच्ने गरेको र अहिले भारतको नक्सालमा पनि अदुवाको मूल्य राम्रो भएको व्यापारी दुर्गा भण्डारीको भनाइ छ।

म्याङलुङका किसान माधव गुरागार्इं यस वर्ष अदुवाको सिजन सुरु हुने बेलामा राम्रो मूल्य पाएकामा खुसी लागेको र अदुवा बिक्री गर्ने तयारी गरेको बताउँछन्। अर्का किसान फेदाप गाउँपालिका जलजलेका राम लिम्बूले पनि आफ्नो खेतीबाट उत्पादन हुने करिब २० क्विन्टल अदुवा बिक्री गरेको बताए। अहिले व्यापारी अदुवा खरिद गर्न गाउँगाउँमा आउन थालेका छन्। स्थानीय व्यापारीले किसानले उत्पादन गरेको अदुवा संकलन गरेर भारतकै व्यापारीलाई बिक्री गर्ने गरेका छन्। राम्रो जमिन नभइ पाखाबारीमा समेत अदुवाखेती गर्न सकिने र खाद्यान्न बालीको तुलनामा तेब्बरभन्दा बढी फाइदा हुने भएपछि अदुवा खेतीतर्फ किसान आकर्षित छन्। नेपालमा नै अदुवा प्रशोधन केन्द्र सरकारलेनै बनाइदिने हो भने किसानले बढीभन्दा बढी मुल्य पाउने म्याङलुङका किसान सविन नेपालले बताए।

जिल्लाको म्याङलुङ, साब्ला, ओयाक्जुङ, पिप्ले, तम्फुला, मोराहाङ, जलजले, जिरिखिम्ती, खाम्लालुङ, सक्रान्तिलगायतका क्षेत्रमा अदुवाको खेती राम्रो हुने गरेको छ। यो वर्ष करिब चार हजार मेट्रिकटन अदुवा उत्पादन हुने कृषि विकास कार्यालयले जनाएको छ।अन्नपुर्ण पाेष्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्