माेरङ प्रहरीको गम्भीर लापरवाही, बहालवाला हवल्दारलाई निलम्बन नगरी मुद्दा

माेरङ प्रहरीको गम्भीर लापरवाही, बहालवाला हवल्दारलाई निलम्बन नगरी मुद्दा

विराटनगर, २३ मङ्सिर ।  नेपाल प्रहरीले मोरङमा भएको एउटा घटनामा संलग्न प्रहरी हवल्दारको मुद्दाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको पाइएको छ । सर्वसाधारणलाई उक्साएर आफ्नै प्रहरी संगठनका सहकर्मीविरुद्ध आक्रमण गर्ने प्रहरी हवल्दार सवदनारायण चौधरीलाई बचाउने गरी प्रहरी नियमावली विपरित मुद्दा चलाएपछि मोरङ प्रहरी विवादमा तानिएको छ। अनुसन्धानको नाममा दबाब र प्रभावको भरमा घटनाको वास्तविकतालाई बङ्ग्याउने र तोडमोड गर्ने काम भएको हो। मंसिर १० गते राति कटहरी १ महेशपुरमा मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा उत्पन्न विवादपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो।

सोही ठाउँ निवासी प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत हवल्दार चौधरीलाई ड्युटीमा खटिएको प्रहरी टोलीमाथि आक्रमण गर्न स्थानीयलाई उक्साएको र आक्रमणमा आफै संलग्न भएको आरोप छ। सोही आरोपमा उनीसहित स्थानीय अनन्तराम चौधरी र जोगलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। घटनामा बोतल प्रहार हुँदा टाउकोमा चोट लागेर प्रहरी जवान रोजन राई घाइते भएका थिए। पक्राउ तीनसहित स्थानीय सन्तोश चौधरी, विजय चौधरी, विश्वास चौधरी र विनोद चौधरी गरेर सातजनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको छ।प्रहरी नियमावलीमा बहालवाला प्रहरीलाई कुनै पनि फौजदारी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न परेमा म्याद थप गर्नुअघि नै निलम्बन गरेर मात्रै प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ। तर, निलम्बन नगरी मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार हवल्दार चौधरीलाई 'अभद्र व्यवहार' को मुद्दा चलाइएपछि मोरङ प्रहरी विवादित बनेको हो।

उनीविरुद्ध मुद्दा चलाउन मंसिर ११ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनका लागि म्याद थप गरिएको थियो। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले निलम्बन नगरिकन मुद्दा प्रक्रिया अघि बढाएर हवल्दारलाई उन्मुक्ती दिएको एक प्रहरी अधिकारीले बताए। हवल्दारसम्मको दर्जालाई कुनै पनि फौजदारी कसुरमा अनुसन्धान गर्न परेमा कार्यरत कार्यालयबाट सहमति लिएर निलम्बन गर्नसक्ने अधिकार एसपीलाई हुन्छ।

प्रहरीले भने उनको परिचय लुकाएर अनुसन्धानको मिसिल तयार पार्दै सरकारी वकिल कार्यालय मोरङमा बुझाएको थियो। जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले अनुसन्धानको मिसिलमा सवदनारायण बहालवाला प्रहरी रहेको कुरा कहीं पनि उल्लेख नगरिएको जानकारी दिएका छन्।  (साभार : किशाेर बुढाथाेकी/अन्नपुर्ण पाेष्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्