निर्मला पन्त हत्याकाण्ड रहस्यकै जालोभित्र

निर्मला पन्त हत्याकाण्ड रहस्यकै जालोभित्र

काठमाडौँ, मङ्सिर २४ गते ।

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) अनुसार, डिएनए प्रतिवेदन प्राप्त हुन केही दिन लाग्ने छ । ती दुई अभियुक्तले प्रहरीलाई दिएको वयानमा पनि विवाद देखिएको छ । सिआइवीका प्रमुख निरज शाहीले ती दुईजनाको सामान्य वयान भएको स्पष्ट पार्नुभयो ।

निर्मला हत्या घटनाको विस्तृत अनुसन्धान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट नै भइरहेकाले थप अनुसन्धान उतैबाट भएको जानकारी उहाँले दिनुभयो । अभियुक्त द्वयले वयान फेर्ने र अरुलाई पोल्ने गरेपछि विवाद देखिएको हो ।
महाराजगञ्जबाट पक्राउ परेका प्रदीपले नै विशाल र दिनेश चौधरीको नामसमेत पोलेका थिए, तर दिनेशको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको छ । सिआइवी प्रमुख शाहीले पक्राउ अभियुक्तहरूले निर्मला हत्या घटना सकारेको वा अस्वीकार गरेको विषयमा जानकारी दिन चाहनु भएन । अभियुक्तको थप वयान लिने र डिएनए प्रतिवेदन हेर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई रहेको उहाँले बताउनुभयो ।

‘सिआइवीको टोली जिल्लामा नै खटिइसकेकाले केन्द्रबाट सबै कुरा हेर्नुपर्छ भन्ने पनि छैन,’ उहाँले भन्नुभयो, ’डिएनए प्रतिवेदनका बारेमा पनि जिल्लाबाट अनुसन्धान हुनेछ । पक्राउ परेकाहरूको विस्तृत अनुसन्धान पनि उतैबाट भइरहेको छ ।’

निर्मला हत्या घटनामा ती दुई अभियुक्तको संलग्नताको विषयमा अहिले नै भन्न सक्ने अवस्थामा नआइसकेको ब्यूरो प्रहरीले जनाएको छ । केही शंस्कापद ब्यक्ति पक्राउ परेका छन्, तर तथ्य प्रमाण प्राप्त हुन नसकेको जनाइएको छ ।
निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । निर्मला हत्या घटनाको अनुसन्धानमा खटिएको प्रहरीको उच्चस्तरीय अनुसन्धान टोलीले बलात्कारमा एकजना र हत्यामा दुईजनाको संलग्नता रहेको तथ्य यसअघि नै सार्वजनिक गरेको थियो ।

यसैबीच, नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकार असफल भएको आरोप लगाएको छ ।
महिला संघले आइतबार पत्रकार सम्मेलन गरी नक्कली अभियुक्त खडा गरेर बालिका पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा संघका महासचिव तथा राष्ट्रियसभाका सदस्य धना खतिवडाले निर्मला पन्तको हत्या ठूलो र पहुँचवाला व्यक्तिले गरेको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्