सुनसरीको गोली काण्ड : सीमामा तयारीसाथ तैनाथ थियो प्रहरी

सुनसरीको गोली काण्ड : सीमामा तयारीसाथ तैनाथ थियो प्रहरी

इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो ।

आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थालेको दूई हप्ता पुगेको थियो ।

फिदा हुसेनको हत्या पश्चात जिल्लामा साना हतियारको बिगबिगी सहितको थ्रेट महसुस गरेको प्रहरीले सुरक्षा रणनीतिमा फेरबदल गर्दै काउण्टर नीति अवलम्बन गरिएको जानकारी गराएको थियो ।

हतियारधारी समूहको छनक पाएको अवस्थामा सोझै गोली हान्न सक्ने अधिकार सहित परिचालित दस्ता पहिलो टार्गेट काउण्टरमा आइतबार राती उत्रियो ।

सीमा क्षेत्रमा विशेषगरी रातीको समयमा चेकजाँच र निगरानी बढाएको प्रहरी टोलीमाथि भारततर्फको बाटो हुँदै नेपाली भूमिमा प्रवेश गर्दै गरेको हतियारधारी समूहले फायर खोल्यो र जवाफमा प्रहरीले गोली चलायो । जसमा एकजनाको घटनास्थलमै ज्यान गयो ।

प्रहरीले ५–६ जनाको समूहमा रहेका व्यक्तिलाई रोक्न खोज्दा कोशी गाउँपालिका ७ मुसरी वस्ती नजिकैको खेतमा दोहोरो गोली हानाहान भएको जनाएको छ ।

रातीको समय रहेको र त्यसमापनि खुला सीमा क्षेत्र भएकाले प्रहरीको टोली सुरक्षा वन्दोवस्ती सहित परिचालित थियो । सीमामा निगरानीका क्रममा नेपाली भूमि तर्फ बढ्दै गरेको शंकास्पद समूहलाई उभिन भनियो । परैबाट उक्त समूहलाई रोक्न खोजिएको थियो । एक्कासी आफुहरुमाथि फायर भएपछि आत्मरक्षाका लागि समेत गोली चलाउनु परेको सुरक्षाकर्मीको भनाई छ ।

आवश्यकता परेको अवस्थामा हतियारधारी समूह उपर प्रहरीले गोली चलाउन सक्छ । त्यसमा पनि सीमामा परिचालित विशेष टोल उपरनै हतियारधारी समूहबाट फायर भएपछि प्रहरीले जवाफी कार्वाही गरेको सुनसरीको प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो । जवाफी कार्वाहीमा प्रहरीको तर्फबाट १० राउण्ड गोली चलेको अधिकारीले पुष्टि गर्नु भयो ।

चोरी, तस्करी, लुटपाट तथा डकैती सहित हतियार कारोबारीलाई मध्यनजर गर्दै सीमामा सर्तकर्ता सहितको निगरानी बढाइको थियो । सोही क्रममा शंकास्पद समूहलाई नियन्त्रणमा लिई सोधपुछ गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली हान्दै भाग्न खोजेपछि हतियारधारी उपर कार्वाही गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले तीनवटा पेस्तोलबाट १० राउण्ड गोली चलेको जनाएपनि हतियारधारी समूहले प्रहरीलाई लक्षित गरी कति राउण्ड गोली चलाएको हो भन्ने विषय यकिन हुन सकेको छैन् ।

प्रहरीको गोलीलागि अन्दाजी ३५ वर्षिय पुरुषको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका उनको साथबाट प्रहरी ५ राउण्ड गोली समेत बरामद गरेको छ । यसैगरी प्रहरी घटनास्थलबाट २ वटा लोड गरिएको पेस्तोल समेत बरामद भएको जनाएको छ ।

दोहोरो फायरिङका क्रममा हतियारधारी समूहमा रहेका अन्य व्यक्तिलाई समेत गोली लागेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटना लगत्तै रातिबाटनै सीमा क्षेत्रमा अप्रेसन चलाएको छ । घटनामा मृत्यु भएका व्यक्तिको अझैसम्म पहिचान खुल्न सकेको छैन् । मृतक भारतीय हुन सक्ने अनुमान गरिएको छ ।

असोज ४ र मंसिर ५ गते सुनसरीमा भएका दुईवटा हत्यामा समेत साना हतियारको प्रयोग भएको पाइएको थियो । सुनसरीबाट साना हतियार र गोली सहित ४ जना ब्यक्ति पक्राउ समेत परिसकेका छन् । जसमा तीनजना भारतीय रहेका थिए ।

पछिल्लो घटनासँगै सुनसरीको सीमा क्षेत्रमा थप सर्तकता अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्