ईपिएल : विराटनगर वारियर्सले रोमाञ्चक खेलमा पोखरा राइनोजलाई जित्यो

ईपिएल : विराटनगर वारियर्सले रोमाञ्चक खेलमा पोखरा राइनोजलाई जित्यो

काठमाडौं मङ्सिर २५ ।

करण केसी आफैंले धैर्यपूर्ण ब्याटिङका साथ बनाएको आधारमा आफैंले सुपरओभरमा आक्रामक २० रन बनाई सुखद् क्लाइमेक्स दिएपछि विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपिएल)अन्तर्गतको खेलमा मंगलबार पोखरा राइनोजमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

त्रिवि कीर्तिपुर मैदानमा सम्पन्न ८५ रनको न्यून लक्ष्य पछ्याएको विराटनगरले ८४ रन बनाउँदा सबै विकेट गुमाएपछि खेल निर्णयार्थ सुपर ओभरमा धकेलिएको थियो । जारी प्रतियोगितामा सुपर ओभरसम्म पुगेको यो पहिलो खेल हो ।
सुपर ओभरमा कप्तान पारससँगै क्रिजमा आएका करणले सबै ६ बल सामना गर्ने क्रममा दुई छक्काका साथ २० रन बनाए । पहिलो र दोस्रो बलमा लगातार पाउल कोघलिनलाई दुई–दुई रन प्रहार गरे । तेस्रो बलमा छक्का प्रहार गरेका उनले त्यसपछि चौथो र छैटौं बलमा दुई–दुई तथा पाँचौं बलमा छक्का प्रहार गरेका थिए ।

जवाफमा २१ रनको लक्ष्य लिएर पोखरालाई जित दिलाउने जिम्मेवारीसाथ आएका रिचार्ड लेवी र विनोद भण्डारीले १३ रनमात्र बनाउन सके । रोइफोल भान डर मेर्वेले पहिलो बल डट फाल्दा दोस्रो बलमा लेवीले एक रनमात्र बनाउन सके । त्यसपछि विनोदले तेस्रो बलमा छक्का प्रहार गरेर पोखराको आशा जोगाएका थिए । तर चौथो बलमा उनी पनि एक रनमात्र बनाउन सफल भए । पाँचौं बलमा १ रन बनाएर लेवीले स्ट्राइक विनोदलाई दिए ।

तर, अन्तिम बलमा विनोदले प्रहार गरेको चौका पोखराको जितका लागि निक्कै कम भयो ।
करणले यसअघि धर्मराउँदो सुरुआत गरेको विराटनगरको आशा जोगाउने क्रममा धैर्यपूर्ण ब्याटिङ गर्दै १५ रन बनाएका थिए । कमजोर सुरुआत भए पनि आशिफ शेखले १९ रन बनाएर जोगाएको आशामा मध्यक्रममा रोइलोफ भान डर मेर्वे र रोबिन क्षेत्रीले ११ तथा १२ रन जोड्दै आधार भत्किन दिएनन् । जसमा करणले १९ बलमा १५ रन  बनाए भने हरि चौहानले अविजित ९ रन जोड्दा विराटनगर खेल टाई गराउन सफल भएको थियो ।

त्यसअघि दुवै ओपनर जोडी दोस्रो ओभरको पहिलो बलमा पवेलियन फर्किँदा विराटनगरको खातामा ५ रनमात्र थियो । अनिलकुमार शाह खाता खोल्न नपाउँदै आउट भए भने कप्तान पारस खड्काले पनि एक रनमात्र बनाउन सके । आशा गरिएका भारतीय खेलाडी स्मित  पटेल ८ रनमा आउट हुँदा सुमित महर्जनले पनि ४ रनभन्दा बढी जोड्न सकेनन् ।

पोखराका विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए भने सुसन भारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । यसैगरी शक्तिप्रसाद गौचन, विक्रम सोब र पाउल कोघ्लिनले एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङलाई निम्त्याइएको पोखरा राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । विराटनगरका पाउल भान मिकेरेनले ४ ओभरमा १७ रन खर्चिँदै ३ तथा मेर्वेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएपछि पोखराका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेका थिएनन् । विराटनगरका लागि वशन्त रेग्मी र स्मित पटेलले एक–एक विकेट लिएका थिए ।
पोखराका लागि पाउल कोघ्लिनले सर्वाधिक २० रनको योगदान गरे भने राजेश पुलामी मगरले १७ रन बनाए । टोलीका अन्य खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
प्रतियोगितामा पोखराको यो लगातार तेस्रो हार हो भने विराटनगरको यो दोस्रो खेलमा दोस्रो जित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्