सावधान ! घुस लिने मात्रै हैन घुस दिनेलाई पनि कारबाही गरिदै

सावधान ! घुस लिने मात्रै हैन घुस दिनेलाई पनि कारबाही गरिदै

देवबहादुर कुँवर

काठमाडौँ,  मङ्सिर २६ गते । नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन । जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र होइन दिनेलाई समेत कारवाही गर्ने गरेको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले घुस लिने ट्राफिक प्रहरीका साथै घुस दिने व्यक्ति (चालक) खराव देखिएकाले कारवाही चलाइएको बताउनुभयो ।
महाशाखाका अनुसार साउन महिना यता सातजना चालकलाई कारवाही गरिएको छ । ट्राफिक नियम उल्लङ्घनको कारवाही गर्दा एकसयदेखि एकहजार रुपियाँसम्म घुस दिँदै गरेको अवस्थामा ती चालक कारवाहीमा परेका हुन् ।
पृथ्वीनारायण शाहले आफ्नो दिब्य उपदेशमा ‘घुस लिन्या र दिन्या दुबैलाई देशका शत्रु’ भनेको छन् । घुस दिने व्यक्तिलाई कारवाही नगर्दा ट्राफिक प्रहरीमा घुस लिने समस्या झन् फष्टाउने चुनौती देखिएको उहाँले बताउनुभयो ।
‘घुस लिने ट्राफिक प्रहरीलाई त कारवाही हुन्छ नै तर दिने व्यक्तिलाई उन्मुक्ति दिँदा अर्को ट्राफिक कारवाहीको भागिदार बन्छ ’ उहाँले थप्नुभयो,‘ घुस दिने व्यक्ति कानुनको परिपालना भन्दा घुस दिएर उन्मुक्ति पाउन उद्दत हुन्छ । त्यसैले दुबैलाई कारवाही गरेका हौँ ।’

घुस लिने र दिने दुबैलाई कारवाही गर्दा ट्राफिक प्रहरीमा मौलाउदै गएको ‘घुस’ खाने समस्या आफैँ हटेर जाने अपेक्षा गरिएको छ । चालकले घुस नै दिएन भने ट्राफिकले कसरी घुसको अपेक्षा राख्छ । उहाँको तर्क छ, ‘त्यतिखेर ट्राफिक प्रहरी पनि कानुन अनुसार कारवाही गर्न वाध्य हुन्छ ।’
घुस लिने र दिने ब्यक्तिहरूका कारण सिङ्गो प्रहरी संगठन बदनाम हुने गरेको छ । घुस लिनेलाई मात्र कारवाही गर्दा घुस दिने व्यक्तिको मनोवल बढ्नुका साथै अर्को ट्राफिकलाई पनि कारवाहीको शिकार बनाइ दिन्छ ।
महाशाखाले महाराजगञ्जबाट बा ३ ख ८८२५ नम्वरको मिनीट्रकका चालक हस्तबहादुर घर्र्तीलाई पाँचसय, गौशालाबाट बा ३ ख १३६१ नम्वरको बसका चालक बालकुमार वाइवालाई एकसय, कलंकीबाट लु २ ख ४९९ नम्वरको बसका चालक गोमानसिंह पुनलाई पाँचसय रुपियाँ घुस दिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

त्यस्तैं, सर्वोच्च अदालत अगाडिबाट बा ३ ख ३४४ नम्बरको बसका चालक पूर्णबहादुर श्रेष्ठ, विशालवजार न्यूरोमा बा १२ च ८४३ नम्बरको भ्यानका चालक नन्दलाल श्रेष्ठ, त्रिपरेश्वरमा बा ८७ प ४३३७ नम्बरको स्कुटीका चालक राजु घिसिङ ट्राफिक प्रहरीलाई घुस दिदँै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ ।

विशेष गरी सवारी चालक अनुमतिपत्र साथमा नभएको, लेन अनुशासनको पालना नगरेको, मदिरा सेवन गरी सवारी चलाएको, निषेधित क्षेत्रमा सवारी पार्किङ गरेको लगायत ट्राफिक नियमको पूर्णपालना नगरेको अभियोगमा कारवाही गर्दा ती चालकहरुले ट्राफिकलाई ‘घुस’ थमाएका थिए ।
त्यस्तैं, खानेपानी ट्याङकर, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर र एम्बुलेन्सका चालकको पनि मापसे (मदिरा सेवन गरी सवारी चलाउने ) जाँच गरिने भएको छ । ती सवारी साधनका चालकहरुले पनि मापसे गरी सवारी चलाउने गरेको गुनासो आएपछि महाशाखाले मङ्गलवार साँझबाट जाँच शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्