पर्यटकिय क्षेत्र इलामको चिया बगान झाडीमा परिणत हुँदै

पर्यटकिय क्षेत्र इलामको चिया बगान झाडीमा परिणत हुँदै

प्रकाश नेपाल

इलाम, मंसिर २७ । मजदुर अभाव भएसँगै इलाम बजारसँगै रहेको चियाबगान झाडीमा परिवर्तन हुन लागेको छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको संरक्षणमा चासो नलिँदा यस्तो अवस्था आएको हो ।

चियावगानको इतिहास मेटिन लागेको भन्दै स्थानीयवासी भने चिन्तित बनेका छन् ।

सन् १८६२ मा कर्नेल गजराजसिंह थापाले चीनबाट चियाको बोट उपहार पाएपछि इलाममा लगेर रोपेपछि सुरु भएको चियाखेती झापा, इलाम, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा व्यावसायिक खेती भइरहेको छ । विशेष गरी इलामकै पहिचानका रुपमा रहेको चियाबगानको अस्तित्व क्रमशः हराउने दिशामा बढिरहेको छ ।

चियाबगानमा काम गर्ने मजदुर अभावले गर्दा बगान सुनसान भएका हुन् । नेपाल सरकारको स्वामित्वमा रहेको चियाबगान अहिले भारतको सांघाई ग्रुपले चलाइरहेको छ । मजदुरलाई उचित पारिश्रमिक नदिएपछि चियाबगानको संरक्षण हुन सकेको छैन जसका कारण चियाबगान हेर्न आउनेहरुलाई पनि नरमाइलो लाग्ने गरेको स्थानीयको भनाइ छ ।

नेपालमा चिया खेती शुरु भएपछि मात्र भारतमा चिया खेती शुरु भएको हो । यस्तो ऐतिहासिक चिया निजीकरण गरेसँगै मेटिन लागेकोमा आफूहरु चिन्तित भएको चिया बगानका जानकारहरु बताउँछन् ।

चिया बगानको संरक्षण सम्बर्द्धनको जिम्मा पाएको सांघाई ग्रुपको बेवास्ताका कारण चिया बगानको अस्तित्व धरापमा परेकाले यसमा स्थानीय तहले विचार गर्नुपर्ने स्थानीयको माग छ ।

यता, इलाम नगरपालिकाका ४ का वडाध्यक्ष नूतनदेव दुलाल भने यसमा संघीय सरकारले सम्झौता गरेकाले स्थानीय तहले यसमा केही गर्न नसक्ने जवाफ दिन्छन् ।

स्थानीय समस्याहरु स्थानीय रुपमै समाधान गर्ने उद्देश्यका साथ गठन भएका टोलटोल गाउँगाउँका सरकारहरुले यस्ता समस्या सुल्झाउन सके आफैँले पहल गर्ने, नत्र संघीय सरकारलाई यसबारे सुचित गराउन सक्नुपर्छ । इलामको पहिचानका रुपमा रहेको चियाबगानको अस्तित्व जोगाउन सबैले सक्दोे प्रयास गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्