डा गोविन्द केसी तराईका विपन्न दलित बस्तीमा निशुल्क उपचार गर्दै

डा गोविन्द केसी तराईका विपन्न दलित बस्तीमा निशुल्क उपचार गर्दै

राजविराज मङ्सिर २८ – तराईका जिल्लामा चिसो बढेपछि विपन्न दलित परिवारलाई सास्ती थपिन्छ। न्यानो कपडाको जोहो गर्न नसक्दा कतिपयले अकालमै ज्यान गुमाउँछन्।

चिसोको कहर बढ्न थालेपछि सरकार तथा केही गैरसरकारी संस्थाले राहतका नाममा कम्बल वितरणलाई प्राथमिकता दिन्छन्। तर, उनीहरुको दिर्घकालीन समस्या समाधानको उपाय भने कसैले खोज्दैन, नत सरकार नै उनीहरुको विषयमा चिन्तित देखिन्छ।

यही अवस्थालाई ध्यानमा राखी डा गोविन्द केसीले सिरहाको दुर्गम दलित बस्तीमा न्यानो कपडा वितरण र स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्। सहज ढङ्गले आधारभूत स्वास्थ्य सेवासमेत पाउन नसकेका दलित र विपन्न परिवारलाई लक्षित गरी उनले शिविर सञ्चालन गरेका हुन्।

केसीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाइनमा आफ्नो निजी व्यवस्थापनमा बुधबारसम्म ३ दिने शिविर सञ्चालन गरे। चिकित्सा क्षेत्रमा बढ्दो माफियाकरणविरुद्ध पटक–पटक अनसन बस्दै आएका डा केसीको १४औं अनसनको समयमा जुस खुवाएर अनसन तोडाउने सोठियाइनका नथुनी रामको घर रहेको दलित बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

उनले स्वास्थ्य सेवासहित कम्बलसमेत वितरण गरे। शिविरमा मुसहर र चमार बस्तीका बृद्धबृद्धा, बालबालिका र अशक्तहरुको जाँचका साथै निशुल्क औषधिसमेत प्रदान गरिएको थियो।  शिविरमा करिब ३ सय बिरामीको जाँच तथा निःशुल्क औषधि र कम्बल वितरण गरिएको सखुवानन्कारकट्टी गाउँपालिका–२ का वडाध्यक्ष बिल्टु यादवले बताए।

सोमबार बिहानैदेखि मुसहर र चमार बस्तीमा दिनभर उनले सेवा दिएको वडाध्यक्ष यादवले जानकारी दिए।(स्वास्थ्य खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्