‘चेली’को बरखीबाट फर्किने क्रममा मिनिट्रक दुर्घटना– १६ जनाको मृत्यु

‘चेली’को बरखीबाट फर्किने क्रममा मिनिट्रक दुर्घटना– १६ जनाको मृत्यु

काठमाडौं, २८ मङ्सिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित घ्याङफेदीमा मिनिट्रक गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले १६ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनास्थलमा अझैं उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी भीमलाल भट्टराईको कमाण्डमा एक टोली र र समुन्द्रटारको इलाका प्रहरीको अर्को टोली उद्दारमा पुगेको छ ।

घटनास्थलमै रहेका दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य नागसाङ तामाङले शिखरबेसीमा ‘चेली’को मृत्युको बरखीमा गएका दुम्चेश्वर ७ सीसीपुका मावली खलकका आफन्त चढेको मिनिट्रक दुर्घटनामा परेको जानकारी दिए । आफन्तहरु मिनिट्रक रिजर्व गरेर शिखरबेसी पुगेका थिए ।

प्रहरीका अनुसार बा३ख ३९१३ नम्बरको गाडी शुक्रबार साँझ ५ बजे बरखीबाट फर्किने क्रममा दुर्घटना भएको हो । गाडीमा करीब ३० यात्रु सवार रहेको जानकारीमा आएको उनले बताए । कच्ची र साँघुरो सडक र चालक पनि लाइसेन्स नभएको बुझिएको वडा नम्बर ७ का वडा सदस्य भेष बहादुर सिटौलाले लोकान्तरलाई जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरु सबै तामाङ थरका रहेको प्रारम्भिक जानकारीमा आएपनि प्रहरीले सनाखत गर्न बाँकी रहेको छ । दुर्घटनास्थल निकै दुर्गम स्थानमा भएकाले विस्तृत विवरण प्राप्त गर्न समय लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्त कुँवरले जानकारी गराए ।   गाडी सडकबाट करीब ३०० मिटर तल खोँचमा खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्