लिभिङ टुगेदरको बेथिति : न गरी खानु, न मरी जानु

लिभिङ टुगेदरको बेथिति : न गरी खानु, न मरी जानु

काठमाडाैं । गाउँघरमा जन्मिएका प्रायः सबै युवायुवतीको सपना हुन्छ शहर जाने । अध्ययनको निम्ति होस् वा जागिर र रोजगारीका निम्ति, उनीहरूको सपना शहर–बजारकै हुन्छ, त्यसमा पनि देशकै राजधानी काठमाडौंलाई उनीहरूले मुख्य गन्तव्य बनाएका हुन्छन् । शहर जाने, राम्रो पढ्ने र सफल व्यक्ति बन्ने लक्ष्य राख्नु नराम्रो कुरा पनि होइन ।

दिनहुँ दुर्गम स्थानबाट सुगमतर्फ जाने हुँदा सहरीय क्षेत्रमा मान्छेको चाप बढ्दै गएको छ । यसकारण मूलुकका मुख्य शहरहरूमा कोठाभाडा पाउन पनि गाह्रो छ । कति त कोठा नपाएर साथीका रूपमा समेत बस्नु पर्ने बाध्यता छ ।

 

मुलुकका ठुला शहरहरू बढ्दो चापसँगै नक्कली मायाप्रेममा परेका युवायुवतीहरूको जीवन बर्बाद हुने गरेको पनि बढ्दै गएकाे पाइन्छ । कुखुरे बैशाका युवयुवतीहरु त सामाजिक सञ्जालबाटै मायाप्रेममा फस्ने गरेका छन् । कुनै बुझ–बुझारथको चेष्टा नै नगरी सामाजिक संजालबाट मायाको सुर्केगाँठोमा जवानीको आवेगका साथ आफ्नो शरीरलाई सहजै सुम्पनेको सङ्ख्या यतिखेर ह्वात्तै बढेको छ ।

विशेषगरी ‘लिभिङ टुगेदर’का नाममा पछिल्लो समय आएको नक्कली प्रेम–आतंकले कयौँको जीवन बर्बाद भएको छ । समयको परिवर्तित परिस्थितिअनुसार नेपाली समाजमा पनि पश्चिमा शैली वा प्रवृत्ति छाएको छ । यही परिवर्तनको परिणाम हो ‘लिभिङ टुगेदर’ । ‘लिभिङ टुगेदर’ नेपाली समाजमा विगत केही समययता सुशुप्त रूपमा विकसित हुँदै आएको छ ।

[caption id="attachment_72261" align="alignnone" width="400"] Couple Sleeping Together --- Image by © Roy McMahon/Corbis[/caption]

कोही बाध्यताले त कोही रहरले ‘लिभिङ टुगेद’र बस्नेको संख्य नेपालमा बढ्दै गरेको पाइन्छ । व्यक्तिगत स्वतन्त्रताको नाममा पछिल्लो समय ‘लिभिङ टुगेदर’ मा बस्ने चलन बढ्दो छ । सुरुमा आपसी सहमतिमा सँगै बसे पनि बिहे गर्ने विषयमा समझदारी नहुँदा विशेष गरी महिला यसको मारमा पर्ने गरेका छन् ।

क्याम्पसमै भेटिन्छन् प्रेमीप्रेमीका 

भोजपुरबाट उच्च शिक्षाका लागि काठमाडौँ पसेकी एक युवती छोटो समयमै सहपाठीसँग प्रेमसम्बन्धमा बाँधिइन । उच्च शिक्षाका लागि काठमाडौँ आएकी राई थरकी केटी, सिन्धुलीको बाहुन जातका केटासँग प्रेम सम्बधनम बाँधिएकी थिइन् । उनीहरूको भेट काठमाडाैंकाे एक पब्लिक क्याम्पसमा भएको थियो । उनीहरूको माया प्रेम दिनहुँ मैलाउदैँ गयो । साथीभाइहरूलाई पनि बिस्तारै थाहा हुँदै गयो । कलेजमा सँगै बस्ने कोठा र्फकदा पनि सँगै । दुवै जनाको कोठा कपनमा थियो । साथीहरूले पनि भन्ने गर्थे ‘तिमीहरूको जोडी कस्तो सुहाएको छ । तिमीहरूको नजरमा कसैको पनि आँखा नलागोस’ । उनीहरू पनि एक अर्कालाई भेटेपछि धेरै खुसी थिए ।

 

उनीहरूको मायाप्रेम बसेको करिब दुई वर्षपछि उनीहरु सँगै बस्ने थाले अर्थात् ‘लिभिङ टुगेदर’मा बस्न थाले । केटालाई घरबेटी घरबाट निकाल्दिएपछि उनीहरू लिभिङ टुगेदरमा बस्न थालेका हुन् । दुवैले सानो तिनो काम गर्थे । केटाले रुम खोजिन्जेलसँगै बस्ने भनेका उनीहरू एक वर्ष भन्दा बढी लिभिङ टुगेदरमा बसे । केटी र केटाको जात नमिले पनि उनीहरूले एक अर्कालाई धेरै माया गर्थे । सबै साथीहरूले भन्थे ‘तिमीहरूको विवाह चाहिँ कहिले गछौँ ? ’ उनीहरूले भन्ने गर्थे ‘किन आतुर गछौँ ? समय आएपछि भइहाल्छ नि ।’

केटा र केटीको दुवैको विवाह गर्ने उमेर पुगिसकेको थियो । केटीको घरमा बेला बेलामा विवाहको कुरा चल्थ्यो, विवाहको कुरा चल्नु त स्वाभाविक नै हो, उमेर पुगेको केटा केटीको विवाहको कुरा चल्नु कुनै ठुलो कुरो होइन । केटीको घरमा बारम्बार विवाहको कुरा चल्न थाल्यो । केटीलाई विवाह गर्ने दबाब आउन थाले । अन्त्यमा केटीले आफू ‘लिभिङ टुगेरद’मा बसको कुरा घरपरिवारलाई सुनाइदिइन् । केटीले अाफ्नाे घरपरिवारमा अाफ्नाे र केटाकाे बारेमा सबै कुरा बताएपछि उनलाई घरपरिवारले विवाहको दबाब दिन छाडे ।

केटीको मात्रै होइन केटाको घरमा पनि विवाहको कुरो चल्न थाल्यो । ‘घरको एक्लो छोरा अब विवाह गर्नुपर्छ’ भनेर घरबाट दबाब आउन थाले । केटोले पनि केटीले जस्तै सबै आफ्नो कुरा घरपरिवारलाई बताए । तर केटाको घरपरिवारले ‘राई’ जातकी केटी भनेर अस्वीकार गरिदिए । केटाले जति नै घरपरिवारलाई सम्झाउन खोजे पनि केटाको घरपरिवारले स्वीकार गरेनन् । केटोको घरपरिवारले अस्वीकार गरेपछि अहिले केटो र केटी छुट्टिएर बसेका छन् । केटा र केटीबीच अगाढ प्रेम भए पनि उनीहरूले विवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केटी उ बाहेक अरूसँग विवाह गर्न नसक्ने बताउँछिन् । तर केटा भने केटीलाई धेरै माया गरे पनि विवाह गरेर आफ्नो घरमा भित्राउन नसक्ने बताउँछन् । केटाले केटीको अरूसँग विवाह भएको पनि हेर्न सक्दैनन् र आफूले पनि विवाह गरेर लान सक्दैनन् । केटा भन्छन् ‘म उसलाई अरूसँग विवाह भएको पनि हेर्न सक्दिन र म आफू पनि विवाह गरेर लान सक्दिन । म उसलाई जसरी भए पनि पाल्छु विवाह नै नगरी तर अरूसँग विवाह हुन दिन्न ।’

 

यता केटी भने केटाको नामको एक धर्को सिन्दूरको पर्खाइमा रहेकी बताउँछिन् । केटी भन्छिन् ‘अरू मलाई केही चाहिँदैन उसको एक धर्को सिन्दूर भए पुग्छ । कहिलेकाहीँ सोच्छु मरी जान पनि सक्दिन गरी खान पनि सक्दिन । अब के गर्ने उसको घरपरिवारले पनि स्वीकार गरेनन् । अब बाबुआमालाई के भन्ने ?’ केटोलाई भन्दा यहाँ केटीलाई अप्ठ्यारो भएको छ । गाउँ तिर पनि प्राय सबैले थाहा पाइसकेका छन् । काठमाडौँमा पनि सबै साथीहरूलाई थाहा नै छ ।

कुनै महिलाको कुनै पुरुषसँग कुनै पनि बेला यौन सम्पर्क रहन सक्छ हाल यो सामान्य कुरा भइसकेको छ । जब चाहेर वा नचाहेर पनि गर्भ रही बच्चा जन्मन सक्छ, त्यो पनि स्वाभाविक नै हुन्छ । उनीहरूको पनि एक पटक गर्भ बसिसकेको थियो र गर्भपतन गराएका थिए, केटाकेटी दुवैको नाम नक्कली राखेर ।

किन  बिग्रन्छ लिभिङ टुगेदरको सम्बन्ध ?

लिभिङ टुगेदर बसुन्जेल सम्बन्ध राम्रै हुन्छ, जब घर लैजाने बिहे गर्ने कुरा हुन्छ त्यहाँबाट विवाद सुरु हुन्छ । यस्ता सम्बन्धहरू धेरै लामो समय टिकाउ भएको पनि पाइँदैन ।  महिलाले जब वैधानिकताको कुरा र सन्तान–इच्छाको कुरा उठाउन थाल्छन् त्यसपछि उनीहरूमा खटपट सुरु हुन्छ । जब महिलाले औपचारिक विवाह र सन्तान जन्माउने कुरा उठाउन थाल्छिन् तब सम्बन्धहरू बिग्रँदै जाने गरेको पाइन्छ ।

शुरुका दिनमा केटाले आकाशका तारा नै खसालिदिने सपना बाँड्दा मनको लड्डु घ्यूसँग खाने धेरै युवती तथा महिलाहरू शोषणको सिकार भएर पनि भित्रभित्रै सहेर बस्न बाध्य छन् । विशेषगरी पर्यटकीय नगरी पोखरा, सुन्दर नगरी धरान र राजधानी काठमाडौंमै लिभिङ टुगेदरको बहानामा शुरुका दिनमा रमाउने र लफडा मच्चिएपछि पछुताउनेको सङ्ख्या प्रशस्तै छन् ।

सहमति नमिल्दा पुरुषले महिलालाई कुटुपट गर्ने, चरित्र हत्या गर्ने, ‘ब्ल्याकमेलिङ’ गर्ने, अश्लील भिडियो सार्वजनिक गरिदिनेसमेत गरेका छन् । जसले गर्दा महिला समाजमा अपहेलित हुने, मानसिक रोगी भई आत्महत्यासमेत गरेका घटना छन् ।यस्ता सम्बन्धमा किशोरकिशोरी र अविवाहित मात्रै नभएर विवाहितसमेत फस्ने गरेको पाइन्छ ।

नेपालमा लिभिङ टुगेदरबारे स्पष्ट कानुन बनेको छैन । कानुनले यसलाई घरेलु हिंसामा समेटिदिए पनि पीडितलाई न्याय दिलाउन गाह्रो छ । लिभिङ टुगेदरका कारण आउने विकृतिको परिणामलाई बेलामै औँल्याएर यसलाई नियन्त्रण गर्न आवश्यक भई सकेको छ ।

यस विषयमा राज्यले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । यदि लिभिङ टुगेदर अवैध हो भने राज्यले एउटा प्रस्ट कानुन बनाएर सम्बन्धित निकायलाई कार्वाही गर्ने बाटो खुलाउनुपर्‍यो, होइन र सँगै बस्न पाउनुपर्ने हो भने पनि त्यसको प्रस्ट व्याख्यासहितको कानुन अपरिहार्य बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्