कोलकातामा बरामद ३३ किलो सुन काठमाडौँमा हराएको सुन हुनसक्ने

कोलकातामा बरामद ३३ किलो सुन काठमाडौँमा हराएको सुन हुनसक्ने

देवबहादुर कुँवर

काठमाडौँ, पुस १ गते । भारतको कोलकाता, धनकुटीटोल प्लाजास्थित दिल्ली–कोलकाता हाइवेबाट बरामद ३३ किलो सुन यसअघि काठमाडाँैमा हराएको सुन हुनसक्ने जनाइएकोे छ ।
सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीको समूहले खाडीबाट झिकाएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बानेश्वरस्थित गोरेको कार्यालय ल्याउँदै गर्दा हराएको थियो ।
भारत सरकारको केन्द्रीय राजस्व अनुसन्धान ब्यूरो (सीआरआईबी) को टोलीले मारुती स्वीफ्ट कारमा लुकाइराखेको अवस्थामा केही दिन अघिमात्र उक्त सुन बरामद गरेको जनाएको छ । सुनसँंगै सुनसरी इटहरीका हेमप्रसाद शर्मा र राकेशप्रसाद पक्राउ परेका छन् ।

सीआरआईबीले आफ्नो वेब साइटमा नै फ्ल्यास न्यूजका रूपमा ३३ किलो सुन बरामद भएको समाचार सार्वजनिक गरेको छ । अबैध सुन र सुनको ओसारपसारमा संलग्न ती दुईजना नेपालीको सम्बन्धमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

सुन भरिया सनम हत्या घटना र ३३ किलो सुन हराएको सम्बन्धमा गठित उच्चस्तरीय छानविन समितिले कोलकातामा बरामद सुनका सम्बन्धमा जानकारी लिने कार्य भइरहेको जनाएको छ । त्यसका लागि एकटोली नै खटाउने विषयमा पनि छलफल हँुदैछ ।

सुन तस्करीको विषयमा छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिका संयोजक सहसचिव ईश्वरीराज पौडेलले ३३ किलो सुनसहित दुईजना नेपाली पक्राउ परेको खबर प्राप्त भएको जानकारी दिनुभयो । ‘हामी सुनको ‘भेरिफाई’ गर्दैछौंँ,’ उहाँले भन्नुभयो ।

छानविन समितिले अनुसन्धानका क्रममा गोरेका साथै नेपाल प्रहरीका उच्च अधिकारीसहित ठूलो समूहलाई नियन्त्रणमा लिई अनुसन्धान गरेपनि हराएको ३३ किलो सुन भने फेला पार्न सकेको थिएन ।
सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चूडामणि समूहको सुन कारोवारको अन्तिम गन्तव्य समेत कोलकाता रहेको थियो । छानविन समितिका एक अधिकारीले भन्नुभयो, ‘त्रिभुवन विमानस्थलबाट काठमाडौँ भित्रिएको सुन नेपालको पूर्र्वी भाग भएर कोलकाता पुग्ने गरेको थियो ।’

सनमको हत्यापछि सुन तस्कर गोरे लुकेर बसेको स्थान पनि भारतको कोलकाता नै हो । खाडी मुलुकबाट हवाई रुट हँुदै काठमाडौंँ आउने अधिकांश अबैध सुन स्थलमार्ग हुँदै भारतको कोलकाता जाने गरेको जानकारी ती अधिकारीले दिएका छन् ।

कोलकाताबाट ग्राहकलाई विक्री वितरण गर्नुका सथौ नजिकै रहेका शहरमा निर्यात हुने गरेको छ । छानविन समितिले बरामद ३३ किलो सुन फिर्ता ल्याउने विषयमा छलफल गर्ने जनाएको छ । भारतमा नेपालको अतिरिक्त अन्य छिमेकी देशबाट समेत सुनको अबैध आयात हुने गरेको छ ।
उक्त ३३ किलो सुन बीचबाटोबाट नै गायव भएपछि थाई एयरका कर्मचारी सानु वनको विमानस्थलमा गुड्दै गरेको ट्याङकरले किचेर हत्या भएको थियो भने प्रेमलाल चौधरीले आत्महत्या गरेका थिए । उनीहरूलाई सुन तस्करीका नाइके गोरेका सहयोगीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्