विराटनगर, ४ पुस । मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएको उल्लेख गर्दै गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा दायर गरेको छ । संघले सोमवार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो । ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटकपटक कानून नै नबनाई दोहोरो पाराले कर दस्तुर लिनु नेपालको संविधानविपरीत रहेको’ संघको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय सरकारअन्तर्गत बूढीगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका उद्योगहरूमा यस आर्थिक वर्षदेखि लागू हुने गरी विभिन्न शीर्षकमा अत्यधिक रूपले छुट्टै व्यवसाय कर लगाएको संघले जिकिर गरेको छ । गाउँपालिकाले ठूला उद्योगलाई ५ लाख, मझौला उद्योगलाई ३ लाख र साना उद्योगलाई १ लाख कर कायम गरेको छ । साथै, घरजग्गा कर (उद्योग भवन) समेतको कर लगाएको छ । विभिन्न समयमा गरेको मौखिक तथा अन्य अनुरोधलाई गाउँपालिकाले बेवास्ता गरेपछि बाध्य भएर कानूनी प्रक्रियामा जानुपरेको संघका अध्यक्ष पवनकुमार सारडाले बताएका छन् ।