सुनसरीमा गाँजा नियन्त्रण गर्न प्रहरीलाई सकस , दक्षिणी भेगका वस्तीमा घरैपिच्छे गाँजा

सुनसरीमा गाँजा नियन्त्रण गर्न प्रहरीलाई सकस , दक्षिणी भेगका वस्तीमा घरैपिच्छे गाँजा

सुनसरी, ५ पुस  । सुनसरीमा विगत केहि वर्षयता लागू औषध कारोवार नियन्त्रण प्रहरीका लागि टाउको दुखाईको विषय बन्दै आएको छ । सीमावर्ती भारतीय बजारबाट भित्रिने लागुऔषध नियन्त्रणमा कडाई गर्दै आएको प्रहरीका लागि खासगरी दक्षिणी भेगका वस्तीमा घरैपिच्छे लगाइने गाँजा फँडानी प्रत्येक वर्ष चुनौतीकारुपमा देखिने गरेको छ ।

सदरमुकाम इनरुवा सहितका गाउँवस्तीमा समेत गाँजाका बोट घरआँगनमा लगाइएको भेट्न सकिन्छ । प्रहरीले बेलाबखत ति क्षेत्रमा पुगेर गाँजाका बोट नष्ट गर्ने गरेको छ । जिल्लाको दक्षिणी भेगमा केहि दिनयता प्रहरीले गाँजा फँडानीका लागि विशेष अप्रेसननै चलाएको छ । पछिल्लो दुई दिनमा मात्रै प्रहरीले हरिनगर र देवानगञ्ज गाउँपालिकाका केही वडाबाट मात्रै १० लाख मूल्य बराबरको तयारी गाँजाका बोट नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घरआँगनमा लुकाएर लगाइएका गाँजाको बोट नष्ट पारेको हो । प्रहरी निरीक्षक सुनिल दाहालका अनुसार हरेकजसोका घरआँगनमा व्यवसायिक रुपमा गाँजा खेती गर्ने गरेको पाइएपछि अभियान चलाएर नष्ट गर्न थालिएको हो । सीमावर्ती क्षेत्र भएकाले तयारी गाँजा सहजै बिक्री समेत हुने गरेका कारण आर्थिक प्रलोभनमा परी स्थानीयले गाँजाका बोट घरआँगनमा लगाउने गरेका छन् ।

प्रहरीको तथ्याङकलाई केलाउने हो भने सुनसरीमा गाँजाको सहजै कारोवार हुने गरेको छ । बढीमात्रामा युवाहरु गाँजा कारोवारमा संलग्न रहने गरेको तथ्य पक्राउ परेकाहरुको प्रहरी विवरणका आधारमा अनुमान गर्न सकिन्छ । प्रहरीले वर्षेनी गाँजा फँडानी गर्न अभियान चलाउने गरेको भएपनि घरधनी र सम्वन्धित व्यक्तिलाई पक्राउ गरी कारवाही नगरिँदा सुनसरीका गाउँवस्तीमा लगाइने गाँजा खेती रोकिन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्