कालिकाेटकाे पलाँता गाउँ रातारात खरानी, ८७ घर जले

कालिकाेटकाे पलाँता गाउँ रातारात खरानी, ८७ घर जले

कालिकोट, ९ पुस ।   कालिकोटको पलाँता गाउँपालिका–१ मा रहेको एक वस्तीमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। खाडा भनिने गाउँको न्यौपानेवाडामा आईतबार राति आगलागी भएको हो। आगलागीबाट घरहरु पूर्ण रुपमा नष्ट भएका छन्। ७ जना मानिस घाईते भएका छन्।

आगलागीमा परि गाई र गोरूसहित १९, दुईवटा भैँसी, दुईवटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। गाउँमा आगो लागेको खबर आईतबार राति साढे दुई बजेमा जिल्ला प्रहरीलाई खबर आएको प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी र स्थानीयको सहयोगमा सोमबार बिहान १० बजे आगो नियन्त्रणमा आएको थियो। स्थानीय नविन न्यौपानेको घरबाट आगो सल्किएको थियो। फुसका छानाहरु भएकोले अन्य घरहरुमा छिटो आगो फैलिएको प्रहरीको भनाई छ।

आगलागीमा परि घाईते हुनेहरुमा ७० वर्षीय दवराज हमाल, ७० वर्षीय चन्द्ररुपा सञ्ज्याल, ७० वर्षीय देवराज हमाल, ३५ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीइ कर्णप्रसाद न्यौपाने, १० वर्षीय करिस्मा न्यौपाने र ९ वर्षीय रत्न न्यौपाने रहेका छन्। अन्य घाईतेको तुलनामा चन्द्ररुपाको अवस्था भने मध्यमखालको रहेको प्रहरी निरीक्षक मल्लले बताए।

स्वास्थ्यकर्मीहरुको संलग्नतामा घाईतेहरु सबैको उपचार सोही ठाउँमा भैरहेको पलाँता गाउँपालिकाका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिइन्। उनका अनुसार अधिकांस घाईतेहरुलाई भाग्ने क्रममा चोट लागेको हो। कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार उक्त आगलागीबाट ३ करोडभन्दा बढीको क्षति भएको छ। क्षतिको पूर्ण विवरण आउन भने केही दिन लाग्ने प्रशासनले जनाएको छ।

उक्त गाउँमा खरले छाएका परम्परागत शैलीका १६९ घरधुरी रहेका छन्। न्यौपानेहरुको उद्गम स्थल भनेर चिनिने उक्त गाउँमा २०६२ सालमा पनि भिषण आगलागी भएको थियो। त्यसबेला ३२ घर जलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्