दशगजामा भारतको दादागिरी, विरोधपछि जहदामा निर्माण भएको सडक भारतले भत्कायो

दशगजामा भारतको दादागिरी, विरोधपछि जहदामा निर्माण भएको सडक भारतले भत्कायो

विराटनगर, १० पुस ।
विराटनगरको मुख्य बजारबाट करिब २० मिनेटको मोटरसाईकल यात्रा पछि पुगिने जहदा गाउँपालिकाको वडा नम्बर १ मा भारतीय पक्षले सोमबार बिहान सडक निर्माणको काम थाल्यो । बिहान करिब ८ बजे देखि शुरु भएको सडक निर्माणको काम शुरुमा त स्थानीयले खासै वास्ता गरेनन् जव डोजर आएर धमाधम सडक निर्माण गर्न थाल्यो अनी स्थानीय झस्किए ।
स्थानीय केही सडक बनाईरहेको ठाउँमा गए तर भारतीय पक्षले उनीहरुले भनेको कुरा वास्तै नगरी काम गरी रह्यो । स्थानीयले भनेको कुरा मान्ने त कुरै भएन उनीहरु उल्टै झपार खाएर फर्किए । भारतीय पक्षको यो ब्यवहार उनीहरुलाई पटक्कै मन परेन । उनीहरु फर्किए र केहीले पत्रकार बोलाए, केहीले वडा अध्यक्ष बोलाए अनी केहीले प्रहरीलाई खबर गरे ।
सोमबार दिनभरी भारतीय जेसिबीको प्रयोग गरी भारतीय ठेकेदार कम्पनीले काम गरेको भएपनि सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालयबाट आएको टोलीले दशगजामा सडक निर्माण गरेको बारेमा भारतीय सुरक्षा कर्मीसँग छलफल थाल्यो । दशगजा मिचेर निर्माण सुरु गरेको सडकको स्थानीय प्रशासनले रोकेको थियो । यसपछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले सडक भत्काउन थालेको सशत्र प्रहरी बल ३ नम्बर गण हेडक्वार्टर मोरङका उपरीक्षक मनिष थापाले जानकारी दिए ।
भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न दशगजा मिचेर भारतले सडक निर्माणको काम शुरु गरेको थियो । बिहारका बिधायकको कोषबाट दशगजामा सडक निर्माण भएको जानकारी पाएलगत्तै भत्काउन लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
दशगजा मिचेर करिब २ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । मंगलवार बिहान भारत र नेपाली पक्ष बिचको छलफल पछि थुपारिएको माटो भत्काउने सहमती बनेको थियो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समन्वय गरी मंगलबार विहानबाट सडक भत्काउन स्काभेटर प्रयोग गरिएको हो । ठेकेदारले निर्माण गर्नुपर्ने स्थान भन्दा ३५ मिटर उत्तर दशगजामा सडक खनेको थियो । भारतीय एसएसपीसँगको छलफलमा भारतीय पक्षले गल्ती स्वीकार गरेका छन । भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो ।
दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।
सो ठाउँमा सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी बर्षायाममा थुनिएर जहदाको वडा नम्बर १ र विराटनगर महानगरपालिकाको वडा नम्बर १४ र १७ जलमग्न हुनेछ। उक्त स्थानमा नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानहरुले दशगजा मासेर खेती समेत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्