सोलुखुम्बुको महाकुलुङ गाउँपालिका जहाँ गाडी किन्ने रकम छात्रबृतिमा खर्च भयाे

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका जहाँ गाडी किन्ने रकम छात्रबृतिमा खर्च भयाे

सोलुखुम्बु, १२ पुस।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गाडी खरिद गर्न ६२ लाख रुपैयाँ छुट्यायो । जनप्रतिनिधि विकासतर्फभन्दा सुखसयलमा केन्द्रित हुन थालेको भन्दै मुलुकभर चर्काे आलोचना हुन थालेपछि सो गाउँपालिकाले आफ्नो पूर्ववत् निर्णयमा परिवर्तन गरी बजेट रकमान्तर गरेको छ ।

गाउँपालिकाले बजेट रकमान्तर गरी महाकुलुङ–१ का रोशन कुलुङलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिस्वरूप ४ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
एसईईमा सोलुखुम्बु जिल्ला प्रथम हुँदै हालै एमबीबीएसको प्रवेश परीक्षामा छात्रवृत्ति कोटामा नाम निकाल्न सफल अत्यन्तै विपन्न परिवारमा जन्मिएका रोशनलाई डाक्टरका रूपमा पाउने गाउँपालिकाकै सपना पूरा गर्नका लागि छात्रवृत्ति दिइन लागेको अध्यक्ष सागर किरातीले बताए । यस्तै, फार्मेसी डिप्लोमाका लागि महाकुलुङ–२ की एकता कुलुङलाई छात्रवृत्तिस्वरूप १ लाख दिइने भएको छ ।

गाउँपालिकाले गाउँपालिकाका लागि गाडी खरिद गर्नका लागि छुट्याएको ६२ लाख रुपैयाँ बजेट रकमान्तर गरी छात्रवृत्तिलगायत अन्य विकास कार्यमा खर्च गर्ने भएको हो । देशैभरि स्थानीय तहले गाडी खरिदमा अत्यधिक रकम खर्च गरेको जनगुनासो आइरहेका बेला महाकुलुङ गाउँपालिकाले गाडी खरिद गर्नकै लागि छुट्याएको रकम अन्य काममा खर्च गर्ने निर्णय गरेको हो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्