म्याङ्लुङ (रासस) : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ ।
फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदीप लिम्बू, मन्दिप लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू, सुजन लिम्बू र सनम लिम्बू रहेका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।
पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाहुना आएका केटीसँग धान नाच्न स्थानीय युवाले अनुरोध गरेका र नमान्दा तानातान हुँदा आवेशमा आएर घटना घटेको पक्राउ परेका युवाले बताएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट २२ वर्षीया बेहुलीप्रति सम्बाहाम्फे गम्भीर घाइते छिन् । वैवाहिक समारोह भइरहेका बेला समूहमा आएका युवाले विवाह मण्डपमै बेहुली माथि आक्रमण गरेका थिए । गम्भीर घाइते बेहुलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बेहुली सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीका २२ वर्षीय सचिन आङ्देम्बेसँग विवाह भइरहेको थियो ।