धरानको भानुचोक क्षेत्रमा पार्क बनाउन डीपीआर तयार

धरानको भानुचोक क्षेत्रमा पार्क बनाउन डीपीआर तयार

विराटनगर, १३ पुस।  शहरी विकास मन्त्रालयले धरानको भानुचोक क्षेत्रमा पार्क बनाउन डीपीआर तयार गरेको छ । पर्यटकीय नगरीको रूपमा विकास भइरहेको धरानको मुख्य चोकलाई व्यवस्थित गर्ने गरी नयाँ योजना अघि सारिएको हो । विराटनगरदेखि धरानसम्म मेगा सिटी बनाउने परियोजना अन्तर्गत मन्त्रालयले पार्कको डीपीआर तयार गरेको हो । अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गरिनेछ भने माथि पार्क निर्माण गरिने भएको छ । डीपीआर अनुसार पार्कभित्र आकर्षक बगैंचा, पैदल बाटो, ठाउँठाउँमा पानीको फोहोराहरू निर्माण हुने धरान उपमहानगरपालिकाका योजना महाशाखाका प्रमुख सुरज श्रेष्ठले बताए ।

उनका अनुसार पार्क निर्माण भएपछि भानुचोक क्षेत्रमा कुनै पनि सवारीसाधन गुड्न प्रतिबन्ध लगाइने छ । उनले भने, ‘डीपीआर अनुसार भानुचोक बीच भएर कुनै पनि गाडी गुड्न पाउँदैन । त्यहाँ सुन्दर पार्क विकास हुन्छ र मान्छे हिँड्नलाई मात्र छूट दिइन्छ, ।’ सवारीसाधन सञ्चालनका लागि अण्डरग्राउण्ड वे बनाएर बाटो पास गराउने विषयमा छलफल भइरहेको उनले बताए ।

मन्त्रालयले भानुचोकलाई सुन्दर पार्कमा परिणत गर्ने गरी डीपीआर तयार गरे पनि यहाँको बसपार्क स्थानान्तरण नभएसम्म योजना कार्यान्वयन सम्भव नहुने उनले बताए । ‘बसपार्क सरे मात्र मन्त्रालयबाट बजेट सुनिश्चित हुन्छ,’ उनले भने ।धरानको बसापार्क सार्ने सहितको तीनकुने सुन्दर बस्ती विकास आयोजना डेढ दशकदेखि विवादले अवरुद्ध छ । उक्त विवाद समाधान गर्न उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गत वर्षदेखि नै संयोजक भएर पहल गरे पनि निकास भएको छैन । उनले बसपार्कको विवाद समस्या समाधान भइसकेकोले चाँडै काम अघि बढ्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्