२९ मंसिर २०७६, आईतवार

स्कूलमा रट्ने, रटाउने र ठटाउने प्रवृत्ति – डा. हरिप्रसाद पोखरेल

डा. हरिप्रसाद पोखरेल

सिकारूमैत्री, स्वतन्त्र र भयरहित वातावरणमा पढ्न÷सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । बालअधिकारको सर्वस्वीकृत मान्यता पनि मनोरञ्जनपूर्ण परिवेशमा सुरक्षित तवरमा सिकारूले सिक्न पाउनुपर्छ भन्ने छ । बाल बचाउ, बाल विकास, बाल सहभागिता, बालसंरक्षणजस्ता बालअधिकारको विश्वव्यापी मान्यताकोे समुचित कदर हुनेगरी नेपालका विद्यालयमा पठनपाठन भएको पाइँदैन । यसो हुँदा बालबालिकाको सन्तुलित शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा समेत सकारात्मक प्रभाव पर्न सकेको छैन ।
उमेर, क्षमता, रुचि, वैयक्तिक भिन्नताजस्ता पक्षलाई ख्यालै नगरी अतिरिक्त समयमा पनि सिकारूलाई कक्षाकोठाभित्र पढाइको नाममा कोचिराख्नु पनि एक किसिमको यातना नै हो । तर नेपालको सन्दर्भमा अधिकत्तर अभिभावक, शिक्षक तथा शिक्षासँग सरोकार राख्नेहरूले समेत विद्यार्थीको काम केवल पढ्नु र औपचारिक ज्ञान हासिल गर्नु मात्र हो भनेर बुझेको पाइन्छ ।

दुःख, कष्ट, यातना खपेर भए पनि पढ्नै पर्छ र परीक्षामा सफल हुनै पर्छ भन्ने मान्यता पनि स्थापित छ, नेपाली समाजमा । त्यसो त परीक्षामुखी शिक्षण सिकाइले परीक्षामा सोधिने प्रश्नको उत्तर घोक्ने कुरालाई नै प्राथमिकता दिने गरेको छ । जहाँ सिर्जनशीलता, खोजीकार्य र अनुसन्धानका पक्ष गौण बनाइन्छ । पढ्नु, सिक्नु, जान्नु र जानेको कुरालाई व्यवहारमा उतार्नु तथा बदलिँदो परिस्थितिमा आफूलाई सहज समायोजन गर्दै जीवनोपयोगी सिप आर्जन गर्नु अहिलेको शिक्षाको प्रमुख गन्तव्य हुनुपर्छ । यस्तो शिक्षाले परीक्षामा कति नम्बर या कुन ग्रेडिङ प्राप्त ग¥यो भनेर होइन सिकारू कति असल, व्यावहारिक एवम् सिर्जनशील बन्यो भनेर लेखाजोखा गर्ने गर्छ तर अहिले नेपालको विद्यालयीय शिक्षाले सैद्धान्तिक ज्ञान र परीक्षामा प्राप्त प्राप्ताङ्कलाई नै शैक्षिक सफलता ठानेको छ ।

यसै मेसोमा बालबालिकालाई परीक्षा नजिक आउनासाथ विद्यालयमा अधिक समयसम्म राखेर पढाउने अनि घरमा पनि गृहकार्यको बोझ बढाउने गरेको देखिन्छ । विद्यालयमा पनि पट्यार लाग्दो पढाइ, यातनाको त्रास, भययुक्त र प्रतिकूल वातावरणमा पढ्नु पर्दा सिकारूले आफूमा बेचैनी अनुभूत गर्छ । जब बालबालिकाले पढाइलाई बोझ मान्छन्, यातना ठान्छन् या जबरजस्ती गर्नुपर्ने बाध्यकारी काम ठान्छ तब सिकारूको सर्वाङ्गीण विकासमा समेत अवरोध उत्पन्न हुन्छ ।
अध्ययन, अनुसन्धानले भन्छ– उपयुक्त सिकाइ वातावरणको अभावमा करकाप एवं डर र त्रास देखाएर गरिने पठनपाठनले अपेक्षित सिकाइ उपलब्धि प्राप्त गर्न सकिन्न । सिकाइप्रति उत्प्रेरित नभई जबरजस्ती शिक्षण गर्दा सिकारूमा पढाइप्रति नै अनिच्छा उत्पन्न हुन्छ ।
जापान, बेलायत, फिनल्याण्ड, अमेरिका, जर्मनी, फ्रान्सजस्ता विकसित देशमा त विद्यालयको न्यूनतम मापदण्डमा सिकारूले विद्यालयमा बिताउने समय, पढाइ हुने समय, मनोरञ्जन तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुने समय, खाजा खाने समयजस्ता कुराको सुनिश्चितता गरिएको छ । साना कक्षामा कुनै प्रकारको गृहकार्यको बोझ दिइँदैन । ती देशमा विद्यालयको भौतिक सङ्रचना, बसाइ व्यवस्थापन, पुस्तकालय, खेलमैदानजस्ता पक्षको पनि वैज्ञानिक मापदण्ड तयार गरी कार्यान्वयन गरिएको छ । 
हालै भारतको केन्द्रीय सरकारको मानव संसाधन मन्त्रालयले कक्षा १ र २ का बालबालिकालाई गृहकार्य दिन नपाइने नियम सार्वजनिक गरेको छ । बालबालिकालाई विद्यालयमा कुनै प्रकारको दण्ड तथा यातना दिन नपाइने अनि कक्षा १ र २ का विद्यार्थीलाई तीन किलोभन्दा बढी तौलका झोला बोकाउन नपाउने निर्देशनसमेत त्यहाँ जारी गरिएको छ तर नेपालका अधिकांश सामुदायिक तथा निजी विद्यालयमा यस्ता आवश्यक मापदण्ड पूरा गरिएको छैन । हुन त नेपालमा बालमैत्री विद्यालय सञ्चालनका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप– २०६७ को पनि व्यवस्था गरिएको छ । तर धेरै कम विद्यालयमात्र बालमैत्री मापदण्ड अनुरूपका छन् ।

ठूलो सङ्ख्याका सामुदायिक विद्यालयमा बालबालिकाका लागि अनुकूल भवन तथा कक्षा, कोठा र फर्निचरको समेत व्यवस्था भएको देखिँदैन । निजी विद्यालयको अवस्था पनि खासै सन्तोषजनक छैन । यस्तो परिस्थितिमा सिकारूले विद्यालयमा सहजता अनुभव गर्न सक्दैन । असहज वातावरणमा बसेर सहज सिकाइ सम्भव हुने कुरै भएन । हुन त नेपालका निजी विद्यालयलाई नियमन गर्ने उद्देश्यले तयार गरिएको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका– २०६९ पनि अस्तित्वमा छ । यसमा प्राथमिक तहका विद्यार्थीको खाजासहित झोलाको तौल चार किलोसम्म, निम्न माध्यमिक तहको विद्यार्थीको झोलाको तौल छ किलोसम्म र माध्यमिक तहका विद्यार्थीको झोलाको तौल आठ किलोसम्म हुनुपर्ने व्यवस्था छ तर अनुगमनको पाटो कमजोर हुँदा अधिकांश निजी विद्यालयले यो व्यवस्था उल्लङ्घन गरेको देखिन्छ ।
केवल परीक्षाको प्राप्ताङ्क र एसइइको नतिजाको आधारमा नै अब्बल र कमजोर विद्यालयका रूपमा वर्गीकरण गरिने परिपाटी जसरी भए पनि सिकारूलाई परीक्षामा सफल बनाउनतर्फ नै क्रियाशील छ । अधिकांश विद्यालयका सञ्चालक, प्रधानाध्यापक र शिक्षकहरू यसैमा केन्द्रित छन् । अभिभवकको अपेक्षा पनि यस्तै देखिन्छ । परीक्षामा प्राप्त भएको ग्रेडिङका आधारमा सिकारूलाई जान्ने र नजान्ने भनेर श्रेणीकरण गर्ने प्रचलन पनि विद्यमान छ । एसइइ नतिजाका आधारमा विज्ञापन गर्ने र आफ्नो विद्यालय अब्बल भएको पुष्टि गर्ने अस्वस्थ प्रतिस्पर्धा पनि विद्यमान छ निजी विद्यालयमाझ । बालबालिकालाई परीक्षामुखी बनाएर निर्धारित विषयवस्तुमा मात्र सीमित गर्ने प्रचलन पनि बढ्दो छ । खासगरी कक्षा दशमा अध्ययनरत विद्यार्थीलाई एसइइको तयारी भनेर लामो समयसम्म विद्यालयमा राखेर घोकाउने, रटाउने र थर्काउने प्रचलन छ निजी विद्यालयमा । सामुदायिक विद्यालयले पनि निजीकै नक्कल गर्दै सोहीबमोजिम विद्यालय समयभन्दा बढी समय सिकारूलाई विद्यालयमा राखेर रटाउने गर्न थालेका छन् ।
बिहान उज्यालो नहुँदै विद्यालय जानुपर्ने र साँझसम्म निरीह भएर विद्यालयमै बिताउनुपर्ने बाध्यकारी अवस्थाले सिकारूको स्वतन्त्रताको समेत हनन् भएको छ । यहाँसम्म कि शनिबार या अन्य सार्वजनिक बिदाको दिनमा समेत विद्यालयमा बोलाएर एसइइको तयारीको नाममा पढाउने गरेको पाइन्छ । यस्तो अवस्थामा सिकारूले आफ्नो सरसफाइ, पारिवारसँग घुलमिल हुन तथा घुमफिर गर्न समेत समय पाउँदैन । अधिकांश विद्यार्थीले परीक्षाको तयारीको नाममा पटकपटक पुराना प्रश्नपत्रको परीक्षा दिनुपर्ने, शिक्षकको अपेक्षाअनुसार प्राप्ताङ्क ल्याउन नसक्दा हप्काइ खानुपर्ने, अपमानित हुनुपर्ने, यातना खानुपर्ने र गृहकार्यका नाममा घरमा पनि घोटिनुपर्ने बाध्यतामा पिल्सिनु परेको छ ।
थेग्नै नसक्ने गरी एकैचोटि धेरै विषयवस्तुको बोझ सिकारूमा थोपरीदिँदा सिकारूले पढाइलाई अनावश्यक बोझ ठान्छ । निरस विषय घोक्नुपर्ने बाध्यताले सिकारूको सिर्जनशीलता पनि मुर्झाउने परिस्थिति बन्छ । यहाँ शिक्षक तथा अभिभावकले पनि एसइइ परीक्षालाई उच्च प्रतिष्ठाको विषय मान्ने तथा आफ्ना बालबालिकाले परीक्षाको तयारीमा विद्यालय र घरमा हरेक समय पढिरहोस् भन्ने चाहना राख्ने गरेका छन् ।

कक्षा दशमा पढ्ने बालबालिका स्वभावले नै चञ्चले, खेलप्रेमी, स्वतन्त्रता चाहने, समूहमा रमाउने, घुमफिर र स्वतन्त्रता रुचाउने एवम् सिर्जनशील स्वभावकका हुन्छन् तर उमेरको यस विशेषताको ख्यालै नगरी अधिकांश समय परीक्षाको हाउँगुजी देखाएर पढ्न मात्र लगाउने प्रवृत्तिले सिकारूको मनोविज्ञानमा समेत नकारात्मक प्रभाव पर्न जान्छ । कतिपय निजी विद्यालयले त एसइइमा राम्रो नतिजा ल्याउने लहडमा कमजोर ठानिएका विद्यार्थीलाई कक्षा आठदेखि नै विभिन्न बहाना बनाएर विद्यालयबाट निष्कासित गर्ने गरेको पनि देखिएको छ । कक्षा दशमा पढ्ने विद्यार्थीलाई पनि एसइइ परीक्षामा सफल हुन नसक्ने भन्दै परीक्षा फाराम नै भर्न नदिने पनि गर्छन् । केही निजी विद्यालयले त अपेक्षित सिकाइ उपलब्धि कम भएका सिकारूका अभिभावकलाई विद्यालयमै बोलाएर उनीहरूको बालबालिकालाई अन्यत्र लैजान दबाब र धम्की दिने गर्छन् ।
आफ्नै अभिभावकको उपस्थितिमा आफूलाई शिक्षकले गाली गर्दा, हप्काउँदा, धम्क्याउँदा सिकारू मानसिक रूपमा पनि विक्षिप्त बन्न पुग्छ । यसबाट बालबालिकामा हिनताबोध विकास हुने, आफू अपमानित भएको महसुस हुने तथा पढाइप्रति नै वितृष्णा उत्पन्न हुने परिस्थिति बन्छ । विद्यालयबाट निष्कासित अधिकांश यस्ता बालबालिका कुलतमा लाग्ने, समाजविरोधी क्रियाकलाप गर्ने, प्रतिशोधको भावना लिने, झगडालु हुने तथा विभिन्न आपाराधिक गतिविधिमा संलग्न हुने गरेकोे पाइन्छ । कति त पछि गएर डिप्रेसनको शिकारसमेत बनेका छन् ।

परीक्षा तयारीका नाममा या अब्बल विद्यालय प्रमाणित गर्ने बहानामा सार्वजनिक बिदाको दिन तथा तोकिएको समयभन्दा बढी समय सिकारूलाई घोकाउने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न शिक्षा मन्त्रालय तथा स्थानीय तह गम्भीर हुनु जरुरी छ । अहिले चलिरहेको तीन घण्टे परीक्षाले सिकारूको समग्र पक्षको मूल्याङ्कन हुन सक्दैन । परीक्षामा रटेको, कण्ठ गरेको या पाठ्यपुस्तक अनुसार हुबहु उत्तर लेख्ने, मिल्ने गरी प्रश्नपत्र बनाउने प्रचलन पनि बन्द हुनुपर्छ । सिकारूको समालोचनात्मक चेतना, सिर्जनशीलता, तार्किकता तथा समस्या समाधान गर्ने सिप पहिचान गर्ने खालको प्रश्नपत्र निर्माण गरी सिकारूको मूल्याङ्कन गर्न सके मात्र पनि रट्ने, रटाउने र ठटाउने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ । विद्यालयमा पढाइ हुने समय, सिकारूले गर्नुपर्ने गृहकार्यको मात्रा, अतिरिक्त क्रियाकलापको समय, मनोरञ्जन तथा स्वतन्त्र क्रियाकलापको व्यवस्थापन, भयरहित वातावरणको बन्दोबस्ती, सिर्जनशीलताजस्ता पक्षमा स्पष्ट मापदण्ड बनाइ त्यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ । विद्यालयमा पढाइको नाममा हुने सबैखाले यातना बन्द गर्न तथा बालअधिकारको हनन् हुन नदिन सम्बन्धित सबै सरोकारवालाको समन्वयात्मक प्रयासको पनि आवश्यकता छ ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस