विराटनगरवाट अन्तरप्रदेश तथा अन्तर देशीय उडानको तयारीमा मुख्यमन्त्री

विराटनगरवाट अन्तरप्रदेश तथा अन्तर देशीय उडानको तयारीमा मुख्यमन्त्री

विराटनगर, १६ पुस ।
विराटनगर विमानस्थलबाट प्रादेशिक, अन्तरप्रादेशिक र अन्तरदेशीय उडान गरिने भएको छ । विमानस्थलको आवश्यक भौतिक पूर्वाधार विस्तार तथा स्तरोन्नती पछि अन्तराष्ट्रियस्तरको विमानस्थलको रुपमा विराटनगरबाट उडान सुरु गरिने तयारी शुरु भएको हो ।
नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिक उत्सवको अवसरमा विराटनगर विमानस्थले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यसको लागि चाँडै प्रक्रिया अगाडी बढाउन लागि परेको बताए । त्यसको लागि संघीय सरकारसँग पहल अगाडी बढाउन प्रस्ताव लगिने स्पष्ट पारे ।
मुख्यमन्त्री राईले संघीय सरकारको मातहतमा रहेको नागरिक उड्यन प्राधिकरण अन्तर्गत प्रदेश १ भित्र रहेको देशकै दोस्रो ठूलो विमानस्थलबाट ३ प्रकारका उडान गराउने दावी गरे ।
मुख्यमन्त्री राईले प्रधानमन्त्रीसँग यस विषयमा एकहप्ता भित्रै प्रदेश सरकारको तर्फबाट प्रस्ताव पेश गर्ने तयारीमा रहेको बताए । प्रदेश मन्त्रीपरिषद्को बैठकले यस अगाडी नै विमानस्थललाई ३ हजार मिटरमा विस्तार गर्नका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिसकेको बताए ।
उक्त निर्णयसहित विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजनको खाका संघीय मन्त्रीपरिषद्मा लैजान प्रधानमन्त्रीसँग प्रस्ताव लिएर मुख्यमन्त्री राईले जाने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री राईले समृद्धिको एउटा आधारको रुपमा रहेको विमानस्थल विस्तारमा प्रदेश सरकारको समेत चासो रहेको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दिर्घकालिन योजनामा राखेर भन्दा तत्काल गर्नुपर्ने योजनामा पारेर काम थाल्नुपर्नेमा जोड दिए । मन्त्री कार्कीले प्रदेश भित्रका १३ जिल्लामा विराटनगरबाट सोझै उडानले जोड्न आवश्यक रहेको, अन्तर प्रादेशिक उडानबाट प्रदेशलाई जोड्न आवश्यक रहेको र अन्तरदेशीय उडान जरुरी रहेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले आवश्यकता अनुसार यसको विस्तारको हुनुपर्नेमा जोड दिए ।
नागरिक उड्डयन प्राधिकरणका शाखा प्रवन्धक टेकनाथ सिटौलाले विस्तारका लागि पूर्व विस्तृत अध्ययन प्रतिवेदन तयार भएको र विस्तृत परियोजना प्रतिवेदनसहित गुरुयोजनाको काम अगाडी बढ्ने चरणमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्