दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन

<span class='c1'>दश बुँदे घोषणापत्र जारी</span> <span class='c2'>गर्दै सकियो जलवायु सम्मेलन</span>

सिन्धुपाल्चोक, १७ पुस ।  दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नुभएको थियो ।

मंगलवार जारी दश बुँदे घोषणापत्रमा जलवायु परिवर्तन तथा यसले पारेका असरबारे वैज्ञानिक खोज अनुसन्धान गर्दै जनचेतनामा जोड दिने, जलवायु परिवर्तनले मानव जीवनमा पारेको नकारात्मक असरबारे भरपर्दो सूचना प्रवाह गर्नुका साथै समुदायमा आधारित जलवायु अनुकूलन तथा न्यूनीकरणका उपायलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तर्जुमा प्रभावकारिताका लागि राष्ट्रिय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वयकारी भूमिकामा जोड दिनेलगायतका विषय समावेश छन् ।

सम्मेलनमा सहभागी जलवायु विज्ञले प्रस्तुत गरेका कार्यपत्रमा गम्भीर छलफलसहित पृथ्वीमा भइरहेको तापमान वृद्धिलाई कसरी कम गर्न सकिन्छ भन्ने साझा निष्कर्ष निकाल्दै सम्मेलन सकिएको कार्यक्रम व्यवस्थापन संयोजक एवं जिसस सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले बताए ।

सम्मेलनमा सहभागी जिसस प्रमुख तथा उपप्रमुखले विश्वमा भइरहेको औद्योगिक चाप, वातावरण प्रदूषण तथा प्राकृतिक स्रोतको अव्यवस्थित दोहनका कारण जलवायु परिवर्तनको असर नेपालमा समेत प्रत्यक्ष देखा पर्न थालेको निष्कर्ष निकाल्दै यसलाई रोक्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्मेलनले नेपालजस्ता हरियाली वनजङ्गल, जलस्रोत तथा हिमशृङ्खला भएका देशमा प्राकृतिक सम्पदामा धनी भएर पनि कार्बन उत्सर्जनको प्रत्यक्ष असर परेकाले यसको रोकथामका लागि अन्तर्राष्ट्रिय मञ्चमा दबाब दिन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्