राष्ट्रपति प्रमुख अतिथि रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा यस्ताे फितलो व्यवस्थापन

राष्ट्रपति प्रमुख  अतिथि रहेको पूर्वाञ्चल  विश्वविद्यालयको  कार्यक्रममा यस्ताे फितलो व्यवस्थापन

विराटनगर, १९ पुस ।  बिहीवार बिहान ११ बजे पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा आउनेको भीड नै थियो । ११ बजेसम्म कार्यक्रममा बोलाइएका पाहुना खचाखच भरिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १२ बजे बोलाइएकाले अरु अतिथिलाई अगाडि नै आफ्नो ठाउँमा बस्न भनिएको थियो ।विश्वविद्यालय प्राज्ञिक संस्था भएपनि कार्यक्रम व्यवस्थित थिएन । मञ्च व्यवस्थापनका गतिविधिले सहभागी नै अचम्ममा परेका थिए । एकातर्फ मञ्चमा आशन ग्रहण गराइँदै थियो, अर्कोतर्फ मञ्चमा राख्ने कुर्सी पुर्याउन र मिलाउन भ्याइँनभ्याइँ देखिन्थ्यो । सभ्य र भव्य कार्यक्रमबीच देखिएको दृश्य पाहुनाका लागि सकारात्मक सन्देश लिने खालको नभएको काठमाडौंको ‘गेट वे’ कलेजका एक सञ्चालक नाम उल्लेख नगर्ने शर्तमा गुनासो गरे । उनले भने, ‘कति पाहुनामाथि राख्ने, कति पाहुनालाई कसरी व्यवस्थित गर्ने भन्नेबारे पहिल्यै तयारी गरिनुपर्नेमा राष्ट्रपति हेलिकप्टरबाट विराटनगर झरिसक्दापनि कुर्सी मिलाउने र खोल लगाउनमा कर्मचारी व्यस्त हुनु राम्रो होइन ।’विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि कार्यक्रममा आइसकेका थिए । एकैछिनपछि आएका राष्ट्रपति विद्यादेवी भण्डारी सहितको टोली कार्यक्रमस्थलमा पसेपछि मात्र मञ्च मिलाउने काम रोकिएको थियो ।

सोचे अनुसारको काम भएन

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वविद्यालयले सोचे अनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् । सम्बन्धन कजेलको अनुगमन नभएको, सम्बन्धन दिने अनि शिक्षाको गुणस्तर र मापदण्डको खोजी विश्वविद्यालयले नगरेको आरोप लगाएका हुन् । सुशासन र पारदर्शिताको मामिलामा विश्वविद्यालयले धेरै गर्नुपर्ने भएपनि हालसम्म कुनै काम देख्न नसकिएको उनले बताए ।विश्वविद्यालय मातहत ५ वटा आंगिक क्याम्पस, ६ वटा सामुदायिक क्याम्पस र १ सय २१ वटा सम्बन्धन प्राप्त कलेज छन् । ‘यसरी सम्बन्धन लिएका कलेजहरू अहिले पनि चल्न सक्ने अवस्थामा छैनन्,’ मन्त्री पोखरेलले भने, ‘अब थप क्याम्पसलाई सम्बन्धन दिने होइन, अहिले भएका कलेजलाई मर्जर गरी उच्च आचरणयुक्त गुणस्तरीय कलेज बनाइनुपर्छ ।’  विश्वविद्यालयले हालसम्म धान, जुट, अदुवा, अलैंची लगायतका कृषि विषयको पठनपाठनमा ध्यानै दिन नसकेको मन्त्री पोखरेलको आरोप छ । मन्त्री पोखरेलले समृद्धिको लागि शिक्षा, श्रमलाई सँगै लैजान नसकिए सोचेजस्तो युवा पलायन हुने विषय रोक्न नसकिने बताए ।

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विश्व बजारलाई चाहिने जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्ने बताए । विश्वविद्यालयजस्तो गरिमामय इतिहास बोकेको शैक्षिक क्षेत्र एउटा साँघुरो घेरा र मनस्थितिबाट बाहिर निस्किएर बृहत् योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । शैक्षिक संस्थालाई संघीय संरचनामा लैजानको लागि छिट्टै नयाँ नीति तर्जुमा कामलाई सम्पादन गर्न सक्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिए । अहिलेको संघीयतासँग सुहाउँदो कार्यक्रम ल्याएर त्यसलाई अहिलेको नेपालको अवस्थासँग सुहाउँदो बनाउँदै लैजानुपर्ने बताए । कार्यक्रममा विश्वविद्यालयका उपकूलपति घनश्यामलाल दासले विश्वविद्यालयले गोठगाउँ र विराटनगरमा १ अर्ब खर्च गर्ने योजना बनाएको बताए । उनले अहिले भएको शैक्षिक गतिलाई सुधार गर्न धेरै काम गर्न लागिएको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्