विराटनगर विमानस्थल मार्ग निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग

विराटनगर विमानस्थल मार्ग निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग

प्रेम देवान, ओवी ।
विराटनगर, १९ पुस । विराटनगर ४ मा रहेको विमानस्थल मार्गमा कमसल तथा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको पाईएको छ । विराटनगर विमानस्थल मार्गमा स्तरोन्नतीको नाममा कमसल सामाग्रीको प्रयोग गरिएको भेटिएपछि स्थानीयले विरोध गरेका छन् ।
कोशी राजमार्गदेखि विमानस्थल प्रवेशद्धारसम्मको सडक स्तरोन्नतीको काम भएको थियो । त्यसको मंगलबार कालो पत्रे गरिएको छ तर यसरी गरिएको कालोपत्रेमै कैफियत देखिएको स्थानीयको आरोप छ । एसियाली विकास बैंकको परियोजना अन्तरगत विराटनगर ९ मा रहेको गीताञ्जली जोशिला जे.भीले निर्माणको लागि जिम्मा पाएको थियो । तर जिम्मा लिएको निर्माण कम्पनीले भने सडकमा कमसल सामाग्रीको प्रयोग भएको थाहा पाएपछि स्थानीय आक्रोशित भएका हुन् । स्थानीयले कमसल सामाग्रीको प्रयोग गरेर काम गर्न भन्दा बरु काम नगर्न भन्दै बिरोध जनाएका थिए ।
देशकै दोश्रो ठुलो बिमानस्थलबाट बाहिरीने मार्गमा यसरी कमशल तथा गुर्णस्तरीहिन सामाग्रीको प्रयोग हुनुले भोलीका दिनमा समस्या सबैले भोग्ने हाम्रो स्कुल अफ नर्सिङ कलेजका निर्देशक ज्ञानु खड्काले गुनासो गरे । विमानस्थल जस्तो अति विशिष्ट ब्यक्तिहरुको आउजाउ हुने सडकको अबस्थालाई ध्यानमा राखेर पनि कामलाई गुणस्तरिय बनाउनु पर्ने खड्काले बताए ।
खड्काले भने, ‘अहिले भएको काम अपुरो र अधुरो छ भोलीको दिनमा यसलाई सुधार गर्नुपर्छ ।’
विराटनगर ४ का बाबुराम थापालाई पनि सडकको कालो पत्रेको बारेमा चित बुझेको छैन । उनले सडकमा कालोपत्रे गर्नको लागि कुनै प्रक्रिया नै पुरा नगरी काम भएको आरोप लगाए । ‘आफ्नै आँखा अगाडी हिलो र धुलाम्मे माथि पिच गरे’ उनले आवर विराटनगरलाई भने, ‘ठकेदारले आज बनाईदिन्छ भोली कहाँ पुग्छ त्यो थाहा हुन्न तर भोलीको दिनमा दुःख पाउने हामी नै हौँ काममा लापरवाही गरेको पटक्कै मन परेको छैन ।’ कालोपत्रे भईरहेको बेलामा कुनैपनि प्राबिधिक नआएको उनीहरुको गुनासो छ ।
करिब ५ सय मिटर लामो सडकको सम्झौता मिति समेत सकिएको छ । यसका लागि ६ महिनाको म्याद थपेको छ । २०७३ चैत्र ३ गते सम्झौता गरिएकोमा २०७५ जेठ मसान्तमै यसको सम्झौता मिति सकिएको हो । करिब ३ करोड २९ लाख ८० हजार ४ सय ४१ रुपैयाँको लागत लाग्ने अनुमान गरिएकोमा २ करोड ५९ लाख ७१ हजार १ सय ३५ रुपैयामा सम्झौता भएको थियो । यतिका ठोलो लगानी गरेर निर्माण भएको सडकको कालोपत्रे गर्दा भएको लापरवाहीले सबैलाई झस्काएको छ।
विराटनगर ४ का स्थानिय युवा पर्यटक व्यावसायी पुन्य भट्टराईले लगानी अनुसारको काम नभएको आरोप लगाए । उनले प्रत्यक्षरुपमा काम भईरहेको बेलाको भिडियो समेत सामाजिक संजाल फेसवुकबाट सार्बजनिक गरे । विमानस्थल जस्तो मार्गमा निर्माणमा ठेकेदार कम्पनीले चरम लापारबाही गरेको उनले बताए । कालोपत्रे निर्माणमा गुर्णस्तरीय हुनको लागि ४० एमएम हुनुपर्नेमा त्यो नभएको भट्टराईको दावी छ ।
विराटनगर महानगरपालिका सहरी विकास महाशाखाका प्रमुख गोपाल पोखरेलले सडक कालोपत्रे बनाउने अन्तिम अवस्थामा थोरै समस्या आएको स्वीकार गरका छन् । कहिले काहीँ सानो तिनो समस्या र त्रुटि आउनु सामान्य भएको गेह्रजिम्मेवार जवाफ दिए ।
निर्माण भएको कालोपत्रेमा कङ्क्रिटमा ओभर ल्याप भएर थोरै मात्र समस्या देखा परेको उनले बताए । ‘हामी कहाँ गुनासो आउनसाथ हामीले साईड ईन्जिनियर राकेश ठाकुरलाई अनुगमनमा पठायौ, उनले भने, एक दुई ठाँउमा थोरै समस्या आएको रहेछ, आगामी दिनमा त्यसलाई सुधार गर्दै जान्छौ ।’ निर्माण कम्पनीलाई पनि यस बारेमा जानकारी गराईसकेको उनको भनाई छ । गीताञ्जली जोशिला जे.भी ठेकेदार कम्पनीका संचालक ऋषि जोशीले निर्माण कम्पनीको तर्फबाट गर्नुपर्ने सबै काम पुरा भएको दावी गरे । कम्पनीको तर्फबाट गल्ती भेटिएर त्यसलाई सुधार गरेर लैजाने उनको भनाई छ । तर बिमानस्थल मार्गमा भएको कालोपत्रेको बारेमा आफ्नो गल्ती स्वीकार गर्ने पक्षमा ठेकेदार कम्पनी देखिएको छैन । काम पुरा भईरसकेको बताएका जोशीले कुनै त्रुटीनै नभएको दाबी गर्दै आएका छन् ।
यसरी विकासको काममा स्थानीयले गरेको खबरदारी अनी महानगरपालिका र ठेकेदार कम्पनीबाट आउने एकै खालका जवाफले विकासको काम कसरी हुँदैछ भन्ने आशंका जन्माएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्