रङ्गेलीमा रहेको छोटी भन्सारको स्तरोन्नति गरिने

रङ्गेलीमा रहेको छोटी भन्सारको स्तरोन्नति गरिने

विराटनगर, १९ पुस। मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा रहेको छोटी भन्सारको स्तरोन्नति गरिने भएको छ । व्यापारिक दृष्टिले प्रशस्त सम्भावना भएको रङ्गेली नाकाबाट भारतीय मालसामान पैठारी गर्न पाउने गरी स्तरोन्नति गरिने भएको हो ।भन्सार विभागका महानिर्देशक तोयम रायाले मोरङको रङ्गेली भन्सारको स्तरोन्नति गर्न गृहकार्य सुरु गरिएको पुष्टि गरे । महानिर्देशक रायाका अनुसार रङ्गेली लगायत अन्य छोटी भन्सारको स्तरोन्नति गर्न विभागले गृहकार्य गरिरहेको छ । भारतीय भन्सार विभागका समकक्षीसितको बैठकमा छोटी भन्सारको स्तरोन्नति गर्ने विषयले प्रवेश पाएको र सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै रायाले यसलाई वाणिज्य विभागले अन्तिम स्वरूप दिने स्पष्ट पारे ।रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाका अनुसार हाल रङ्गेली छोटी भन्सारनेर सरकारी जमिन साढे आठ कट्ठा फेला परेको छ र यसलाई भन्सारको स्वामित्वमा आउने गरी दर्ता गर्न प्रक्रिया सुरु गरिएको छ ।

यसबाहेक भन्सार कार्यालयकै लागि सोही ठाउँमा थप एक विघा जमिन खरिद गर्ने निर्णय पनि गरिएको छ ।व्यापारिक प्रयोजनका भारतीय मालसामान पैठारी गर्न सकिने उद्देश्यले रङ्गेली भन्सारको स्तरोन्नति गर्न लागिएको भन्सार स्रोतले जनायो ।रङ्गेली नाकासित भारतको मजरक पञ्चायतस्थित बौका बोर्डर जोडिएको छ ।

प्रमुख बगडियाले रङ्गेली नाका स्तरोन्नति गरिएमा मोरङ र झापा गरी दुई ठाउँका बजार लाभान्वित हुने बताए ।नाका स्तरोन्नति भएर सुचारु भएमा रङ्गेलीसहित मोरङका कानेपोखरी, पथरी, उर्लाबारी, बेलबारी र झापाको दमक बजार गुल्जार हुने बगडियाको कथन थियो ।‘अहिलेसम्म रङ्गेलीसहित यस क्षेत्रका व्यवसायी ३० किलोमिटर पश्चिममा रहेको विराटनगर भन्सारबाट पैठारी गरिरहेका छन्, ’ , प्रमुख दिलीपले भने, ‘रङ्गेली नाका सुचारु भएमा बाटो छोटो भएर ढुवानी खर्च कम हुने छ । यस क्षेत्रका व्यवसायीले रङ्गेली नाकाबाट नै पैठारी गर्नेछन् ।’

महेन्द्र राजमार्गको कानेपोखरीबाट रङ्गेली नाकासम्म २८ दशमलव ४ किलोमिटरको ४ लेनको पक्की सडकको निर्माण  आगामी ३ महिनामै पूरा हुने बगडियाले जानकारी दिए ।यो सडकको निर्माण पूरा भएपछि भन्सारको स्तरोन्नति सार्थक हुने उनले बताए।‘डेढ वर्षअघि मीरगञ्जको पुल भत्किएपछि विराटनगर नाकाबाट हुने कारोबार अवरूद्ध भएर सुनसरीको सेतुबन्ध भन्सारबाट निकासीपैठारी गर्नुपरेको थियो र व्यवसायीले करोडौँ गुमाउनु परेको थियो’, प्रमुख बगडियाले भने, ‘रङ्गेली नाका स्तरोन्नति गर्ने हो भने यो समस्या हुँदैन । रङ्गेली नाकाबाटै पैठारी गर्न सकिने छ ।’ साभार : बिजमाण्डू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्