इनरुवामा कफी विथ मेयर कार्यक्रम संचालनमा,कफीको चुस्की लिँदै मेयरसंग गफ

इनरुवामा कफी विथ मेयर कार्यक्रम संचालनमा,कफीको चुस्की लिँदै मेयरसंग गफ

इनरुवा। नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर कार्यक्रम संचालनमा ल्याएका छन् । यो सँगै मेहताले कृषकसँगको भलाकुसारी कार्यक्रम समेत संगसंगै अघि बढाएका छन् ।

कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक्रम संचालनमा ल्याएको नगर प्रमुख मेहताले बताए ।

कफी विथ मेयर कार्यक्रमकालागि मेहताले हरेक दिन विहान ८ देखि ९ बजेको एक घण्टा समय निर्धारण गरेका छन् ।

इनरुवा १ मा रहेको एस. एल. क्याफेमा मेयर मेहतासँग कफीको चुस्की लिँदै युवाहरुले आफ्ना समस्या राख्न सक्नेछन् । नगरभित्रका युवाहरुको समस्या पहिचान गर्दै उपयुक्त सुझाव संकलनकालागि सुरुवात गरिएको कफी विथ मेयर कार्यक्रममा युवाहरुको सहभागिता समेत बढ्दै गएको छ ।

देशको कर्णधार र समाज बदल्ने शक्ति बोकेका युवा समुदायको धारणा बुझ्न र रचनात्मक सहित सकारात्मक सुझाव संकलनकालागि कार्यक्रम थालनी गरिएको मेहताले बताए । युवा वर्गको समस्या पहिचान गरी हातेमालो गरी अघि बढ्न कफी विथ मेयर कार्यक्रम सकारात्मक बन्ने नगर प्रमुख मेहताको विश्वास छ । कार्यक्रमको मुलभूत उद्येश्य युवाको क्षमता अभिवृद्धि र सकारात्मक क्रियाकलापमा जागरुक गराउनु रहेको बताइएको छ ।

त्यसैगरी मेयर मेहताले किसानसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउने उद्येश्यसाथ कृषकसँग भलाकुसारी कार्यक्रम समेत थालेका छन् । प्रारम्भिक चरणमा वडातहमा पुगेर किसानका पिरमार्का बुझ्न थालिएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा किसान समूहलाई भेला गराएर समस्या पहिचान गरी समाधानको पाटो खोज्न थालिएको मेयर मेहताको भनाई छ ।

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा तरकारी थोक बजारकालागि राजधानी मानिन्छ । ब्यापारीहरु ताजा तरकारी खरिदकालागि राजधानी सहित पूर्वका प्रमुख शहरबाट इनरुवामा पुग्ने गरेका छन् । उब्जनीका हिसाबले समेत उर्वर मानिने जमिनमा आधुनिक खेती तर्फ प्रोत्साहन गर्न कृषकसँग भलाकुुसारी कार्यक्रम महत्वपूर्ण सावित हुने मेहताको विश्वास छ ।

कार्यक्रमले किसानका समस्या पहिचान गरी आवश्यक सेवासुविधा उपलब्ध गराउने तर्फसमेत पहल थाल्ने बताइएको छ । कफी विथ मेयर सरह निश्चित स्थानमा भेला भई प्रत्यक्ष कुराकानी गर्ने वातावरण मिलाउने गरी आवश्यक तयारी समेत थालिएको नगर प्रमुख मेहताले बताएका छन् ।

-न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्