पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह विराटनगरमा विमोचन

पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह विराटनगरमा विमोचन

विराटनगर, २१ पुस ।
मुक्तककार बाबुराम पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह आज विराटनगरमा विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा, मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार विष्णुबहादुर सिंहलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गरे ।
विमोचित संग्रहमा समसामयिक विषयमा लेखिएका १ सय ८८ वटा मुक्तक संग्रहित छन् । प्राज्ञ विवश पोखरेल र प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचित संग्रहका विषयमा समीक्षात्मक टिप्पणी गरेका थिए ।
त्यस्तै प्रदेश १ का ११ जना मुक्तककारहरूको मुक्तक वाचन पनि कार्यक्रममा राखिएको थियो । कार्यक्रममा सोलुका मेरुदण्ड राई, उदयपुरका माधव गोज्याङ्ग्रे, सिर्जना सरोवर, मोरङका भूषण ढुंगेल, उमेश लुइँटेल, कविता केसरी, चूडामणि नेपाल ‘अकिञ्चन’, हरि कट्टेल, उमेश लुइँटेल, झापाका विष्णु कार्की, भोजपुरकी विनिता दाहाल र सुनसरीकी रीता ताम्राकारले आफ्ना चार–चारवटा मुक्तक प्रस्तुत गरे ।
पछिल्लो समय मुक्तकप्रति लेखक र पाठकको आकर्षण कम हुँदै गएकाले प्रतिष्ठान नै गठन गरेर मुक्तकको संरक्षणमा लागेको मुक्तक प्रतिष्ठानका १ नम्बर प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले बताए । नयाँ स्रष्टाहरूलाई मुक्तक लेखनतर्फ अभिप्रेरित गराउन जिल्ला–जिल्लामा गएर कार्यक्रम गर्ने तयारी भइरहेको प्रतिष्ठानकी उपाध्यक्ष कल्पना काफ्लेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्