मास्क लगाएर प्रहरी कार्यालयमा पुगिन् चर्चित गायिका विष्णु माझी

मास्क लगाएर प्रहरी कार्यालयमा पुगिन् चर्चित गायिका विष्णु माझी

काठमाडौं, २३  पुस । पछिल्लो रेकर्डअनुसार युट्यूवमा गायिका विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी... बोलको गीतले २ करोड नजिक भ्यूअर पाइसकेको छ । यो गीत मात्रै होइन उनले  यस्तै धेरै  हिट गीतमा आवाज दिएकी छिन् । उनै माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुगिन्, त्यो पनि मुखमा मास्क लगाएर ।

लोकसंगीत क्षेत्रकी चर्चित गायिका भएपनि माझी गुमनाम भएको र परिवारसँग समेत लामो समययता भेटघाट नभएको समाचार सार्वजनिक भएपछि प्रहरीले माझीको खोजखबर गरेको थियो । खोजखबरको क्रममा प्रहरीले उनका श्रीमान सुन्दरमणि अधिकारीलाई फोन गरेर बोलाएपछि माझी अधिकारीसँगै प्रहरी कार्यालयमा पुगेकी हुन् ।  स्थानीय सञ्चारकर्मीहरुका अनुसार आइतबार दिउँसो विष्णु श्रीमानसँगै ट्याक्सीमा प्रहरी कार्यालय पुगेकी थिइन् भने  कालो ओभरकोट र पछ्यौराले शरीर टाउको ढाकेकी उनले मुखमा पनि कालै मास्क लगाएकी थिइन् ।

 एसपी राजकुमार लम्साल,  प्रमुख जिल्लाअधिकारी कोषराज निरौला, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले माझी दम्पतीसँग छलफल गरेका थिए ।  छलफलमा विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सहभागि थिए ।छलफलका क्रममा  विष्णुथोरै मात्र बोलेको र अधिकांश प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको बताइएको छ ।

विष्णुले  आफूले धेरै पढेलेखेको नहुनाले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। छलफलका क्रममा बाबुआमा भने कम बाेले बरु माैन बनेर सुनिरहे।  विष्णुलाई सुन्दरमणिले विष्णुलाई बन्धक समेत बनाएको आशयमा समाचार आउन थालेपछि स्याङ्जा प्रहरीले विष्णुबारे चासो राख्दै  झिकाएको थियो । तर छलफलका क्रममा उनीहरुले आफ्नै ढंगले खुसीसाथ जिइरहेकाले यसमा अरुले चासो राख्न नहुने बताएकाले व्यक्तिगत जीवन धेरै नखोतलेको बताइएको छ।

यद्यपि विष्णुले छलफलका बेला पनि मुखबाट  मास्क नहटाएपछि एसपी लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएका थिए। तर अनुहारमा कुनै चोट, खत नभेटिएकोपनि एसपी लम्सालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्