भोजपुरमा जडीबुटीको तथ्यांक संकलन

भोजपुरमा जडीबुटीको तथ्यांक संकलन

भोजपुर, २३ पुस । जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको छ । चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनबेत, बुढो ओखती, मजिटोलगायत व्यावसायिक रूपमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको हो ।
त्यस्तै, जडसेतक चिनी, वनआलु, वनमुला, वन लसुन, विखुम्मा, धसिग्रे, बोजो कुट्की, पदमचालन, सुगन्धवाल लगायतको सामान्य रूपमा खेती भए पनि व्यावसायिक रूपमा खेती गर्न कृषकलाई प्रोत्साहन गरिने भएको छ ।

गत बिहीवार जडीबुटी उत्पादक, संकलक तथा व्यापारीसँग भएको अन्तरक्रियामार्फत कृषकका समस्याको विषयमा समेत छलफल भएको छ । किसानले जडीबुटीको मूल्य निर्धारण नहुँदा समस्या भएकाले सरोकारवाला पक्षलाई मूल्य निर्धारण गरिदिन माग गरेका छन् । उनीहरूले जिल्लामा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गर्नसमेत माग गरेका छन् । उत्पादित वस्तुको बजारीकरणमा समस्या रहेकाले यसतर्फ ध्यान दिन किसानले आग्रह गरेका छन् ।

किसानबाट आएका सल्लाह सुझावका आधारमा समस्याको विषयमा कार्ययोजना बनाएर समाधानमा लाग्ने डिभिजनल वन अधिकृत हेमन्तप्रसाद शाहले प्रतिबद्धता व्यक्त गरे । किसानले जिल्लाको खावा, तिम्मा, हेलौछा, सिद्धेश्वर गुप्तेश्वर, लेखर्क किमालुङलगायत ठाउँमा विभिन्न खाले जडीबुटी खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्