विवादास्पद तपस्वी बम्जन सिन्धुली आश्रममा, प्रहरी पर्ख र हेरकाे अबस्थामा

विवादास्पद तपस्वी बम्जन सिन्धुली आश्रममा,  प्रहरी पर्ख र हेरकाे अबस्थामा

 

सिन्धुली, २४ पुस । पाँचजना अनुयायी बेपत्ता पारिएको लगायतका आरोप लागेका ‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको खुलासा भए पनि माथिको आदेश आई नपुगेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छैन। तपस्वी भनिएका विवादास्पद  बम्जनलाई प्रहरीले खोजी गरिरहेको र उनीमाथि लागेका आरोपबारे प्रहरीले चौतर्फी अनुसन्धान थालेको खबर आइरहेका बेला बम्जन सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेमा रहेको उनकै आश्रममा रहेका प्रशासन र प्रहरीले पुष्टी गरेकाे छ ।

उनका विभिन्न आश्रममा बस्दा पाँचजना उनका अनुयायी र आनीहरू बेपत्ता भएको, आश्रमका आनीहरूमाथि यौन दुर्व्यबहार गरेको जस्ता आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा घेराबन्दी गरेर अनुसन्धान थालेको थियो। तर, यस्ता संगिन आरोप लागेको बम्जनलाई नियन्त्रणमा लिन भने प्रहरीले सकेको छैन्। बम्जनको सिन्धुली आश्रममा भने प्रहरीले गम्भिरतापूर्वक अनुसन्धान अगाडि नबढाएको भनी आलोचनासमेत हुन थालेको छ। मकवानपुर र सिन्धुपाल्चोक प्रहरीले गरेको परिपत्र अनुसार सिन्धुली प्रहरीले पनि अनुसन्धान गरिरहेको र विशेष टोली आए अनुसन्धानमा थप काम हुने यादवको भनाई छ। यादवले बम्जन भने सिन्धुली आश्रममै रहेको पुष्टि गरे। प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको बाँडेगाउँ आश्रममा अश्वभाविक घटना भएको पाइएको जनाएको छ। उनको सिन्धुली आश्रममा प्रहरीले छापामार्ने चर्चा चले पनि हालैमात्र बम्जनको आश्रममा पुगेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र एसपी यादव रित्तोहात फर्किएका थिए।

तर, बम्जनको आश्रम र उनका गतिविधि बुझ्न केही दिन अघि बम्जनको आश्रम पुगेको भन्दै उनलाई नियन्त्रणमा लिन सरकारको माथिल्लो निकायबाट निर्देशन नआएकाले उनलाई नियन्त्रणमा नलिइएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको भनाई छ। बम्जन र उनका सहयोगिमाथि नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी वेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी जाहेरी दिएका छन्।

बेपत्ता भएका भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले भनि चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन्। बेपत्ता भएका भनिएका चारैजना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ।

विभिन्न जिल्लाका आश्रममा रहँदा विवादास्पद  छवि भएका बम्जन गत डेढ वर्षयता सिन्धुली आश्रममा बस्दै आएका छन्। करिब ४२ विगाहा जमिनमा पक्का संरचनाहरू निर्माण गर्दै बोधिश्रवण धर्म संघको व्यवस्थापनमा झण्डै २०० अनुयायीहरूलाई मैत्री ज्ञान दिँदै सिन्धुलीमा बस्दै आएका बम्जनले आफूमाथि लागेका संगिन आरोपबारे बोल्न चाहेका छैनन्। उनीमाथि लागेको आरोपबारे बुझ्न सोमबार बम्जनको आश्रममै पुगेका संचारकर्मीहरूसँग बम्जनले भेट नै दिएनन्। श्राेत : थाहा खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्