बर्षाैँदेखि नाङ्लो ठटाएर हात्ती तर्साउँदै झापाका बासिन्दा

बर्षाैँदेखि नाङ्लो ठटाएर हात्ती तर्साउँदै झापाका बासिन्दा

गाेपाल झापाली/दमक(झापा), २५ पुस ।  नाङ्लो ठटाएर हात्ती तर्सदैन भन्ने नेपाली उखान छ। तर झापाका बासिन्दा भने अझै नाङ्लो ठटाउन छोडेका छैनन्। दिनका दिन हात्तीको बथान गाउँ छिर्ने तर धपाउने अरु कुनै उपाय नै नभएपछि उनीहरु थोत्रा भाँडा, थाल र नाङ्लो ठटाएर हात्ती धपाउन बाध्य भएका हुन्। झापाको  शिबसताक्षी–११ मा पर्ने झिलझिले बजारदेखि उत्तरतर्फ रतुवामाई बृक्षारोपण आयोजनाको वन क्षेत्रमा पर्ने डाडाँगाउँबाट प्रवेश गरेको जङ्गली हात्तीले मंगलबार राती डुडामारी हुदै धरमपुरमा पनि उपद्रो मच्चाएपछि रातैभर यहि नियती भयो।

शिबसताक्षी वडा नं ८ को डुडामारीचौक पश्चिम र वडा नं १ को धरमपुर चौक पूर्बको फूलबारी चोकहुदै जङ्गली हात्ती धरमपुरको डाडाँगाउँमा आइपुगेको स्थानीयहरु बताउँछन्। राती गाउँ प्रवेश गरेको जङ्गली हात्तीले स्थानीयको खेतबारीमा लगाइएको तोरी, आलु, मकै, गहुँ लगायतका हिउँदे बाली समेत नष्ट गरेको छ। हात्तीको त्रासका कारण घरेलु हात हतियारसहित स्थानीयहरु आफ्नो गाउँमा संयुक्त गस्ती गरिरहेका छन्। त्यस्तैं, डुँडामारी पश्चिम फूलबारी चौकहुदै गाउँतर्फ प्रवेश गरेको जङ्गली हात्तीले धरमपुर चौक पश्चिममा बिनोद चेम्जोङको भान्सा घर भत्काएको छ। हात्तीले नुन, चामल र जाँडसहित खाद्यन्य सामाग्रीहरु खाएर क्षति गरेको छ।

त्यसैगरी झिलझिले–दुधे सडक खण्डको उत्तरी चुरेजङ्गलको गाउँमा जङ्गली हात्तीले उपद्रो मच्चाएको शिवसताक्षी १ का सञ्जय राईले बताए। उनले भने–‘मध्यरातमा बस्तिमा हात्तीको बथान छिरे पछि सवैको निद गायव भो नि, कुन बेला बथान फर्किने हो अझै त्रास छ।’ जङ्गलमा हात्तीको निम्ति पर्याप्त आहाराको अभावले गाउँतर्फ आउने गरेको स्थानीय पिडीतहरु बताउँछन्। दैनिक जसो साँझ वा रातको समयमा जङ्गली हात्तीहरु गाउँमा आउने र खेतबारीमा लगाइएको बालीहरु खाएर नष्ट गर्ने गरेको धरमपुरका स्थानीय प्रेम शेर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्