विराटनगरमा प्रहरीको साईकल अभियान, नागरिककाे समस्यामा प्रहरी पुग्ला (फाेटाे फिचर)

विराटनगरमा प्रहरीको साईकल अभियान, नागरिककाे समस्यामा प्रहरी पुग्ला (फाेटाे फिचर)

विराटनगर, २६ पुस ।
बुधवार विहान करिब पौने ५ बजेको थियो । मानिसहरु कोही आगो तापेका , कोही मर्निङवाकमा निस्किएका । केही हेल्मेट लगाएका ब्यक्ति साईकलमा आए । ति ब्यक्तिलाई देख्ने बित्तिकै विराटनगर महानगरपालिका ५ कोचाखालमा आगोतापेर बसेका स्थानीय झस्किए । विहानीको झिसमिसे अध्यारोमै यसरी साईकलमा त्यो पनि हेल्मेटमा आएका ब्यक्ति बिस्तारै साईकलमा कटे । अनी ति साईकलमा आएका ब्यक्ति त्यहाँको गतिबिधिको बारेमा बुझ्दै अघि बढे । त्यसपछि मात्र उनीहरुको पछाडि लेखिएको ‘नागरिक सहयोगी प्रहरी’ स्थानीयले देखे र उनीहरुलाई बोलाएर आफ्ना कुरा सुनाउन थाले । गाउँमा केही ब्यक्तिले जाँड खाएर होहल्ला गर्ने अनी घरेलु मदिरा ओसार पसारको बारेमा पनि उनीहरुलाई सु्नाए । त्यहाँ पुगेको साईकल गस्तीमा भएको प्रहरी टोलीका रुद्र लिम्बु, गंगाराम मण्डल, विजय विष्ट र कर्णबहादुर राईले उनीहरुको समस्याको बारेमा त्यहाँको समस्याको बारेमा सबै टिपोट गरेर ल्याए ।

हरेक दिन यसैगरी साईकलमा निस्कने प्रहरीलाई सर्बसाधारणले केही न केही समस्या सुनाउँदै आएका छन् । गाउँका समस्या त सुनाउँछन् नै गाउँमा हुनसक्ने संभावित घटनाको बारेमा पनि प्रहरीलाई जानकारी गराउने गरेको वडा प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले बताए । डिएसपी कार्कीले यसरी बिहानै ४ बजे नै उठेर साईकलमा निस्कने प्रहरीहरुले सर्बसाधारणको घरमा पस्ने अनी पानि मागेर खाने र त्यहाँका बिभिन्न उमेर समुहका ब्यक्तिहरुसँग पनि छलफल गर्ने गरेको सुनाए ।
पछिल्लो समय साईकल गस्ती शुरु गरेको केही समयमा नै धेरै सुचनाहरु सहज रुपमा प्राप्त गर्न थालेकोमा प्रहरीलाई काम गर्न सजिलो भएको छ । यसरी बिहानै हिँडेको प्रहरीलाई आउने सुचनामा लागु औषध, गाँजा, मदिराको ओसार पसार र बिक्री बितरण, झै–झगडा, चोरी, घरेलु हिंसाका घटनाहरु बढी आउने गरेको छ ।

जिल्ला प्रहरी कर्यालय मोरङले असोज ३० गते देखि चाडवाड लक्षित सुरक्षा योजना अनुसार शुरु गरेको साईकल गस्ती प्रभावकारी भएपछि अहिले यसलाई निरन्तरता दिएको हो । साईकल अभियान, ईलाका प्रहरी कार्यालय रानी, वडा प्रहरी कार्यालय बिराटनगर, वडा प्रहरी कार्यालय हाटखोला र ईलाका प्रहरी कार्यालय नेमुवा मार्फत साईकल गस्ती गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए ।पहिलो चरणमा बिराटनगर लक्षित साईकल गस्ती शुरु गर्नुको कारण महानगर तथा १ नम्बर प्रदेशको अस्थायी राजधानी बिराटनगरको सुरक्षा संबेदनशिलतासँग पनि जोडिएको उनले जानकारी दिए । अहिले यी क्षेत्रमा २६ वटा साईकल नियमित गस्तीमा हिँड्ने गरेको छ। बिशेषगरी साईकल गस्तीले बिहानै मर्निङवाकमा हिँड्दै गरेका सर्बसाधारणबाट धेरै फाईदा लिएको छ भने मर्निङवाकमा निस्किएका ब्यक्तिलाई पनि सहज बनाएको छ। एउटा गस्ती समुहमा ३ वटा साईकल हुन्छ । एकै पटक गस्तीमा २६ वटा साईकल निस्कँदा कुनै घटना भईहाले त्यहाँ तत्काल प्रहरी पुग्न सजिलो भएको प्रहरीको पछिल्लो २ महिनाको अबधिले सिकाएको एसपी केसी बताउँछन् ।

साईकलमा जिपिएस जोड्ने तयारी
बिराटनगरमा गत असोज ३० गते देखि शुरु भएको प्रहरी साईकल अभियानले अपराध रोकथाममा सहज भएपछि प्रहरीले अब रुट बढाउने तयारी थालेको छ । रुट बढाउन भन्दा पहिला अहिले भएका साईकलमा जिपिएस जडानको तयारी गरेको छ । एसपी केसीका अन्ुसार, जिपिएस जडान गरेपछि कुन साईकल गस्तीको टोली कहाँ पुगेको छ भन्ने कार्यालयबाट नै थाहा हुने भएपछि त्यसलाई प्रभावकारी बनाउनको लागि साईकलमा जिपिएस जडान गर्न लागिएको हो । अब साईकलमा जिपिएस जडानसँगै साईरन र लाईटको ब्यवस्थाले प्रहरीलाई गस्तीमा धेरै सजिलो हुने उनको तर्क छ ।एसपी केसी भन्छन्, ‘माताहत कार्यालयबाट क्युआरटीमा सँधै साधन माग्दा मोटरसाईकल माग्ने गरेको छ । मोटरसाईकल र गाडीको काम भनेको गर्नु पर्ने काम गरेर फर्किने नै हो तर गस्ती गर्न जाँदा त आम नागरिकसँग बस्ने कुरा गर्ने र उनीहरुको दुःख सुखको कुरालाई सुन्नु र नागरिकसँग नजिकै रहेर काम गर्नुपनि हो । तर त्यसको लागि साईकल नै प्रभावकारी हो ।’ (प्रस्तुती: सुमन सुस्केरा/विराटनगर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्