सुनसरी, मोरङ र झापाका उखु किसान तनावमा, उखु बिकेन

सुनसरी, मोरङ र झापाका उखु किसान तनावमा, उखु बिकेन

नवराज कट्टेल

विराटनगर, पुस २६ गते । उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण भएको चिनी बिक्री गर्ने वातावरण सरकारले नबनाउँदासम्म किसानबाट उखु नकिन्ने जनाएका छन् । चिनी मिल सञ्चालकको यो चेतावनीपछि उखु किसान तनावमा परेका छन् ।  आयातित चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै किसानको खेतमा पाकिसकेको उखु किन्न अस्वीकार गरिएको हो । ‘उखु काट्ने पुर्जीसमेत जारी गरिएको छैन’ कोसी उखु उत्पादक सङ्घका अध्यक्ष शिवलाल चौधरीले भन्नुभयो, बुधबार पनि इस्टर्न सुगर मिल व्यवस्थापन पक्षसँगको छलफलबिना निष्कर्ष टुङ्गियो ।

सुनसरी, मोरङ र झापाका दुई हजारभन्दा बढी किसानले पाँच हजार छ सय बिघा क्षेत्रफलमा लगाएको उखु खरिद गर्दै आएको इस्टर्न सुगर मिल व्यवस्थापन पक्षले अहिलेसम्म उखु काट्न पुर्जी जारी गरेको छैन । समयमै उखु काटेर किसानले बिक्री गर्न नपाए आगामी वर्षको उत्पादनसमेत प्रभावित हुनसक्छ ।
गत वर्ष आवश्यकताभन्दा बढी चिनी आयात भएपछि नेपालका उद्योगको उत्पादन बिक्री हुन नसकेको उद्योगीको दाबी छ । उत्पादन भएको चिनीको लागत अनुसार मूल्य पाउने र खपत हुने अवस्था नआउँदासम्म उखु खरिद गर्न असमर्थ रहेको दबाब उद्योगीले किसानलाई दिँदै आएका हुन् ।

उखुको समर्थन मूल्य निर्धारणमा त्रिपक्षीय वार्ता जरुरी रहे पनि सरकारले उद्योगीको हितविपरीत मूल्य निर्धारण गर्दा समस्या उत्पन्न भएको बताइन्छ तर सरकारले उखुको समर्थन मूल्य तोक्नु अगावैदेखि उद्योगीले उखुको मूल्य न्यून प्रस्ताव गरेर किसानलाई स्वीकार गर्न दबाब दिँदै आएका थिए ।

सरकारले उखुको न्यूनतम मूल्य ५३६ रुपियाँ ५६ पैसा तोकेको छ । सरकारले दिने अनुदान ६५ रुपियाँ २८ पैसा कटाएर ४७१ रुपियाँ २८ पैसा प्रतिक्विन्टलमा किसानले पाउनुपर्ने हुन्छ । इस्टर्न सुगर मिल व्यवस्थापन पक्षले सरकारले तोकेको मूल्यमा उखु बिक्री गर्ने मनसाय राखे खेतमै सुकेर जानसक्ने जनाउ किसानलाई दिँदै आएको अध्यक्ष चौधरीको आरोप छ । मिल सञ्चालक पक्षले यस वर्ष ३८५ रुपियाँ प्रतिक्विन्टलमा उखु उपलब्ध गराउन किसानलाई दबाब दिँदै पुर्जी जारी गर्न आनाकानी गरिरहेको छ । उखुको मूल्यका आधारमा चिनीको मूल्य न्यून भएकाले इस्टर्न सुगर मिलले धान्न नसक्ने मिलका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले बताउनुभयो । अनुदान कटाएर प्रतिक्विन्टल ४७१ रुपियाँ २८ पैसामा खरिद गरिएको उखुबाट नौ केजी चिनी मात्रै उत्पादन हुने मिलका उत्पादन निरीक्षक बीआर दाहालले बताउनुभयो । तोकिएको मूल्य अनुसार प्रतिकेजी ५५ रुपियाँमा बिक्री गर्दा ४९५ रुपियाँले उद्योगीको लागत घाटामा जाने दाबी छ ।

इस्टर्न सुगर मिललाई गत वर्ष किसानले ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थिए । यस वर्ष खेतीयोग्य जमिन र उत्पादन वृद्धिले १५ लाख क्विन्टल पुग्ने अनुमान गरिएको छ । मिलले गत वर्ष उत्पादन गरेको एक लाख छ हजार क्विन्टलमध्ये अझैसम्म ३० हजार क्विन्टल चिनी बिक्री हुन बाँकी रहेको दाबी गरिएको छ ।
नेपाल चिनी उद्योग महासङ्घका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगीहरूले उखुको जस्तै चिनीको मूल्यमा समेत सरकार गम्भीर हुनुपर्ने मागसहित छलफल गरिरहेको बताउनुभयो । उहाँले महोत्तरीको बर्दिवासमा बुधबार उद्योगी–उद्योगीबीचको छलफलसहित किसानसँगको छलफल भएको र निष्कर्षोन्मुख रहेको दाबी गर्नुभयो । उखु बेच्ने वातावरण तयार गरेजस्तै चिनी बिक्री गर्ने वातावरणको माग गरेका हौँ, अध्यक्ष अग्रवालले भन्नुभयो, एकोहोरो मूल्य तोकिदिएर अवस्था झन् भाँडियो ।

नेपालमा गत वर्ष दुई लाख ३६ हजार मेट्रिक टन चिनी आयात हुँदा नेपाली उद्योगले उत्पादन गरेको चिनी भण्डारमै थन्किएको छ । नेपालका ११ वटा चिनी उद्योगले एक लाख ७८ हजार मेट्रिक टन चिनी गत वर्ष उत्पादन गरेको मध्ये ७० मेट्रिक टन अझै बिक्री हुन नसकेको दाबी छ । नेपालमा चिनीको वार्षिक खपत दुई लाख ५० हजार मेट्रिक टन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्