नेपथ्य ब्याण्डले पाँचथरकाे फिदिममा कन्सर्ट गर्ने

नेपथ्य ब्याण्डले पाँचथरकाे फिदिममा कन्सर्ट गर्ने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ।माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो।

माघ २ गते पाँचथरकाे सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउने भएकाे छ। कन्सर्ट ठीक ६ बजे सुरु हुनेछ।

दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो। त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखेकाे बताएकाे छ। स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवर्द्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाकाे रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ।

'केहि वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्नसकेको छैन,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘ठूला व्यवसायिक आयोजनाहरुको आफ्नै महत्व छन्। मलाइ भने साना सहरका प्रिय श्रोताहरुको घेरामा पुग्दा अझ आनन्द लाग्छ।’

गुरुङका अनुसार ‘सुन्दर शान्त नेपाल’ कार्यक्रम अन्तर्गतै नेपथ्यलाई समेत प्रस्तुत गर्न सन् २००५ मा पनि फिदिमको संभाव्यता अध्ययन गरिएको थियो। फिदिम पुगेरै निरिक्षण गरेता पनि त्यतिबेला व्यवस्थापकीय कारणले त्यो संभव हुन सकेको थिएन। ‘आज त्यो पुरानो सपना पुरा भएको छ,’ गुरुङ भन्छन्, ‘फिदिमवासीका अघिल्तिर प्रस्तुत हुन हामी आतुर छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्