२९ मंसिर २०७६, आईतवार

पृथ्वी जयन्ती र हाम्रा नेताका सोचाइ – मोदनाथ प्रश्रित

मोदनाथ प्रश्रित

सिङ्गै विश्वका मानव समाजको विकासक्रम आ–आफ्ना देशको भौतिक परिवेशको सही परिचालनबाट मात्र अगाडि बढ्न सक्तछ । हाम्रो धर्तीका सातद्वीपका परिवेश भिन्न भिन्न खालका छन् । हाम्रो दक्षिण एसियाको प्राकृतिक परिवेशको तुलनामा युरोपका माथिल्ला भूभाग धेरै मात्रामा अनुर्बर छन् । त्यसैले युरोपेली प्रकृतिविद्, वैज्ञानिकहरूले आफ्नो खाद्यान्न आपूर्ति निम्ति जौ, गहुँ, उवा जस्ता अन्नखेतीको विकासमा जोड दिएर धान–चामल लगायत अन्न आयात गर्न पानी जहाजको आविष्कार गरेका हुन् ।

हाम्रो देशका पृथ्वीनारायण शाहले तराई, पहाड, हिमालका बाइसे–चौबीसे आदि राज्य–रजौटाहरूको निरन्तरको तानातान, झैं–झगडा आदिले गर्दा यो देश कहिल्यै शान्त र उद्यमशील हुन नसक्ने भयो भन्ने ठहर गर्नुभयो । अनि उहाँले आफ्ना बौद्धिक नातेदारहरूसँग सर–सल्लाह गर्ने, शिक्षा लिने, जनताका पनि समस्या बुझ्ने प्रयत्न अघि बढाउनुभयो ।

उहाँले विद्वान्हरूबाट नेपालको इतिहासमा के कस्ता घटना हुँदै आए । बहुसङ्ख्यक किराँतहरूको पुरानो राज्य व्यवस्था, लिच्छवि मानदेवको नेतृत्वले सुदृढ तुल्याएको राज्यव्यवस्था, मल्लकालको विभाजित अवस्था आदि विविध पक्षको अध्ययन, चिन्तन आफैँले र आफ्ना मान्यजनहरूको सहयोगबाट प्राप्त गर्दै आउनुभयो ।

पहिले निकै विस्तारित भएको नेपाल छिन्नभिन्न भई बाइसे–चौबीसे रजौटाहरूको तानातानको स्थिति र त्यसको कारण पनि बुझ्दै आउनुभयो । अनि सबभन्दा विकसित मानिएको काठमाडौँका ती मल्ल राज्यको कचिंगलको स्थिति आफैं भक्तपुरमा बसेर बुझ्दै चारैतिरको भौगोलिक स्थितिको पनि गहिरो अध्ययन गर्नुभयो । त्यसपछि देशका विभिन्न रजौटाहरूलाई पराजित गर्दै सङ्गठन सुदृढ तुल्याएर बागमती उपत्यका समेत हात पार्न सफल हुुनुभएको थियो ।
त्यस युगको एउटा सानो गोर्खा राज्यको रणनीति र कूटनीतिको परिणामस्वरुप गण्डकी पूर्वको अधिकांश नेपाली भूभागलाई पुनः एकीकरण गर्न सफलता मिल्यो । त्यसपछि उहाँका उत्तराधिकारीहरूले गण्डकी पश्चिमको भू–भागलाई पनि समेट्दै गएका थिए । तर महाकाली पश्चिमको भू–भाग समेट्ने प्रयत्नमा उनीहरू सफल हुन सकेनन् ।

नेपालको राष्ट्रिय एकीकरणका सन्दर्भमा प्राचीन र मध्यकालीन इतिहासको पर्याप्त ज्ञान नभएका कारणले या जातीय पूर्वाग्रहको कारणले केही मानिसले पृथ्वीनारायण शाहलाई विस्तारवादी र एकीकृत नेपाललाई ‘खस साम्राज्य’ भन्ने गरेको पनि सुनियो । तर हाम्रो देशको इतिहासले स्पष्ट रूपले के देखाउँछ भने पृथ्वीनारायणद्वारा शुरु भएको अभिमान साम्राज्यवाद या विस्तारवाद नभई पहिले पटकपटक एकीकृत भएपछि विशृंखल भएको नेपाललाई जनभावना अनुरुप पुनः एकीकरण गर्ने ऐतिहासिक अभियान थियो ।

यसभन्दा पनि पछाडि फर्केर चाँगुनारायणको अभिलेखलाई आधारमान्दा लिच्छवि राजा मानदेव प्रथम (ई.४६४–५०५) कालीन नेपाल कम्तीमा पनि कोशीदेखि गण्डकीसम्म फैलिएको थियो भन्ने स्पष्ट हुन्छ ।

जसले मानव समाजको आदिम कालदेखिको इतिहासका समग्र पक्षलाई गम्भीर रूपले अध्ययन गरेका हुन्छन्, उनीहरूले समयक्रममा पछाडि परेर पुनः अगाडि बढ्ने क्रममा केही आक्रामक घटना भए पनि त्यसलाई इतिहासको विकास प्रक्रियाको अङ्ग ठान्दछन् । मानव समाज झैं झगडाद्वारा छिन्नभिन्न भएको अवस्थामा अन्य कुनै शक्तिको बलले उनीहरूलाई जसरी भए पनि मिलाएर अघि बढाउने प्रयत्न गर्नु मानव चेतनाको स्वाभाविक प्रक्रिया हो ।

विश्वको प्राचीन समाजको प्रक्रिया थियो– ठूला कमिलाले साना कमिला जितेर ‘जनपद’ (गाउँ)को विस्तार गर्दै जाने र ठूलो राज्यले साना राज्य, रजौटा जितेर शक्तिशाली ठूला राज्य बनाउने । सम्राट भरतले ५५ अश्वमेघ र राजसूय यज्ञद्वारा हजारौँ जनजाति जितेर भारत राज्यको विस्तार गर्नुभएको थियो ।
यस्तै प्रक्रिया अगाडि बढ्दै नआएको भए अहिले भारत, चीन, अमेरिका जस्ता ठूला राज्य अस्तित्वमा आउने नै थिएनन् र सानातिना जनजातीय समाज खिइँदै जाने थिए ।
तर अहिले विश्व समाज धेरै हदसम्म सभ्य शिक्षित, सुसंस्कृत हुँदै आएको छ । राज्यहरूका नियम कानून नमान्नेहरू घट्दै गएका छन् । विश्वका सबैजसो राज्यका झैं झगडा, युद्ध, लुटपाट आदि जस्ता कुरा संयुक्त राष्ट्र सङ्घले पनि हेर्न थालेको छ । धेरै साना–ठूला राज्यले विभिन्न विवाद मिलाउन नचाहेर ठूलाले सानालाई हेप्न थालेमा त्यसको समाधानका अनेक नियम पद्धतिहरूको विकास हुँदै आएको छ । हामी नेपालीले पनि त्यसको अनुसरण गर्दै जानु आवश्यक छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने– पृथ्वीनारायणका दिव्योपदेशका अधिकांश प्रसंगहरू अहिले पनि सान्दर्भिक देखापर्दछन् ।

 मेरा सारा दुःखले आर्जेको मुलुक होइन । यो सबै जातको साझा फूलबारी हो । 
 न्याय निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने हुन् । 
 खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरू जग्गामा सारेर खानी चलाउनू । 
 खेत बन्ने जग्गामा घर भए पनि घर अरू जग्गामा सारी कुलो काटी खेत बनाइ आवाद गर्नू ।

दिव्योपदेशमा पृथ्वीनारायण शाहका अत्यन्त गहन र महìवपूर्ण विचारहरू पाइन्छन् । तिनलाई अटेर गर्ने प्रवृत्ति छोडेर सही ढङ्गले लागू गर्ने हो भने नेपाल र नेपालीको भविष्य सुनौला बन्न सक्तछ ।
के पृथ्वीनारायण शाहका ती उपदेशहरू अहिले पनि उत्तिकै महìवपूर्ण छैनन् त ?
बागमती उपत्यकाजस्ता अति ऊर्बर माटोमा सिमेन्टका जङ्गल लस्कर लाग्न थालेपछि कृषि विहीन नेपाल भविष्यमा कस्तो होला त ? एकचोटि गम्भीर भएर यस विषयबारे सोचौं त ‘मोहोन जोदाडो’(मुर्दाको किल्ला) को इतिहास कस्तो थियो ?

हाम्रा ‘नेताजीहरू विवेकशील  जनताहरू ! पृथ्वीनारायणका महìवपूर्ण योगदान र अर्ति उपदेशहरूलाई सम्मान सहित व्यवहारमा उतार्ने कि, उपेक्षा गरेर मनबाटै मिल्काउने ? दुईमध्ये कुन ठीक होला ? पहिले किन ढाल्नुभो सालिक ? अहिले किन फूल चढाउँदै हुनुहुन्छ ?

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस