महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरले   १ करोड सहयोग गर्ने

महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरले   १ करोड सहयोग गर्ने

विराटनगर, २७ पुस  ।  विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने अन्तरराष्ट्रिय स्तरको महिला साफ फुटवल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले   १ करोड सहयोग गर्ने भएको छ । महानगरको तेस्रो नगरपरिषदले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।  काठमाडौंबाहिर पहिलो पटक हुन लागेको यस प्रकारको अन्तरराष्ट्रिय प्रतियोगितालाई भव्य बनाउन महानगरले  साे रकम उपलब्ध गराउने निर्णय गरेको मेयर भीम पराजुलीले बताए ।

भूकम्पपछि काठमाडौंको दशरथ रंगशाला जीर्ण बनेपछि विराटनगरमा साफ खेल हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्त अर्यालले महानगरबाट प्राप्त सहयोगबाट रंगशालाको स्तरोन्नति गरिने बताए । उक्त रकमबाट खेलाडीहरूका लागि ‘चेन्जिङ रूम’ निर्माणका साथै रंगरोगन लगायतका पूर्वाधारका काम पनि गरिने छ ।

अन्तरराष्ट्रिय स्तरको महिला साफ फुटवल प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ । यो खेल यस वर्ष श्रीलंकामा गर्ने तय भएकोमा श्रीलंकाले ढिलो गरेपछि नेपालमा गर्न लागिएको हो । प्रतियोगितामा नेपालका अतिरिक्त भारत, भुटान, श्रीलंका, पाकिस्तान, बंगलादेश र मालदिभ्सबाट गरी २८० भन्दा बढी खेलाडी सहभागी हुँदैछन् ।

प्रतियोगिताको तयारीस्वरूप मुख्य खेल मैदान, प्रशिक्षण र अभ्यास खेल मैदानहरूको स्तरोन्नति तथा व्यवस्थापनका काम तीव्र गतिमा भइरहेको बताइएको छ । मुख्य खेल मैदानको रूपमा रहेको शहीद मैदानका साथै दिल्ली पब्लिक स्कूल, प्रदेश प्रहरी तालीम केन्द्र रानी र विराटनगर जुट मिलको खेल मैदानलाई अभ्यासको लागि मर्मत गर्न थालिएको छ । विराटनगर महानगरपालिकाले मैदान आसपासको सडकको कालोपत्रे गर्ने, मैदानभित्रै आवश्यक पर्ने संरचना निर्माण गर्ने र मैदान वरपर रंगरोगनको कामसमेत थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्