रकम निकासामा वडाअध्यक्षको किर्ते हस्ताक्षर गरेको बिषयमा छानबिन

रकम निकासामा वडाअध्यक्षको किर्ते हस्ताक्षर गरेको बिषयमा छानबिन

ओखलढुङ्गा, २७ पुस । ओखलढुंगामा वडाअध्यक्षको किर्ते सहिछाप गरेर योजनाको रकम निकासा गरेको बिषयमा प्रशासनले छानबिन सुरु गरेको छ । चम्पादेवी गाउँपालिका–६ का वडाअध्यक्ष तिलक बहादुर खड्काको सहिछाप किर्ते गरी योजनाको रकम विनियोजन गरेको बिषयमा जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले छानबिन थालेको हो ।

केही दिनअघि सोही वडाको दमाइघुम्ती–देउराली सडकखण्डको योजनाको किस्ता निकासा गर्दा गाउँपालिकाबाटै वडाअध्यक्ष खड्काको सहीछाप किर्ते गरेर उनकै सिफारिस बनाई योजनाको रकम भूक्तानी लिएको बिषयमा प्रशासनमा छानविनका लागी उजुरी परेको थियो ।

गाउँपालिकाले आर्थिक अनियमिमता गरेको, सही समेत किर्ते गरी योजना फरकफरक गर्ने गरेको तथा जग्गा सम्याउने योजनामा उपभोक्ता समिति नै गठन नगरी ठेकेदारलाई सिधै रकम भुक्तानी गरेको विषयमा छानविन गर्न माग गर्दै नेकपाका स्थानीय नेता कमलबहादुर खड्काले प्रशासनमा उजुरी दर्ता गरेका थिए ।  सोही उजुरीमाथि प्रशासनले छानबिन थालेको हो । छानबिनका लागी सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौड्यालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरि काम सुरु गरिएको छ ।

सहायक प्रजिअ पौड्यालले छानविन सकिएपछि अख्तियारमा प्रतिवेदन बुझाउने बताए । गाउँपालिकाको अनियमितताको बिषयमा परेका अन्य उजुरीमाथि समेत छानबिन हुने प्रशासनले जनाएको छ । यसअघि गाउँपालिकाले अनियमितता गरेको भन्दै एमाले समर्थित चारजना वडाअध्यक्षहरुले छानबिनका लागि उजुरी दर्ता गरेका थिए । गाउँपालिकोको अनियमितता काण्ड छताछुल्ल भएपछि नेकपाको स्थानीय कमिटीले समेत गाउँपालिकामा ज्ञापन पत्र बुझाएको थियो ।

तर ज्ञपनपत्र बुझाउँदा समेत गाउँपालिकाले सुनुवाई नगरेपछि प्रशासनमै उजुरी दिनु परेको नेकपा चम्पादेवी गाँउकमिटी अध्यक्ष खड्गबहादुर कार्कीले बताए । गाउँपालिकामा अहिले अनियमितताको बिषय बाहिर आएपछि नेकपा एमाले र नेपाली काग्रेस समर्थित स्थानिय सरकारहरु दुई धुब्रमा बाझिएको छ ।

गाउँपालिकाको यस्तो विवादले विकास निमार्णको काम भने प्रभावित भएको छ । यसैबीच गाउँपालिकाको अनियमिततामाथि छानबिन गर्न उजुरी परेपछि गाउँपालिकाले जग्गा सम्याउने योजनाको २१ लाख रुपैयाँ फिर्ता गरेको छ । गाउँपालिकाको जग्गा सम्याउने योजनाको रकम सिधै ठेकेदारलाई दिएर रकम अनियमितता गरेको उजुरीमाथि छानबिन हुने भएपछि उक्त रकम फिर्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्