इलाममा डा. केसी सत्याग्रहमा , छातीको संक्रमण देखियो अस्पताल लगिँदै

इलाममा डा. केसी सत्याग्रहमा , छातीको संक्रमण देखियो अस्पताल लगिँदै

चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई छातीको संक्रमण देखिएको छ ।  डा. केसीलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् ।

आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटुको चालमा गडबडी, स्वासप्रश्वासमा समस्या देखिएको इलाम अस्पतालका चिकित्सक डा. विजेन्द्र कुमार शाहले  बताए ।

“रगत परीक्षणको रिपोर्ट हेर्दा डा. केसीको रगतमा ग्लकुजको मात्रा घटेको छ । स्वासप्रश्वासमा आएको समस्याले छिटोभन्दा छिटो अक्सिजन दिनुपर्ने अवस्था छ । तर उहाँले नमान्दा समस्या भएको छ,” उनले भने “डा. केसीको छातीमा पनि संक्रमण देखिएको छ ।”

डा. केसी अनसनको दोस्रो दिन रातिदेखि नै मुटुमा समस्या देखिएकोमा अहिले मुटुुको चाल बढ्दै गएको, रक्तचाप घटेको, टन्सिल बढेको, फोक्सोमा संक्रमण भएको हेरचाहमा संलग्न इलामका स्थानीय चिकित्सक डा. रामकृष्ण आर्चायले  बताए ।

“अहिले नजिकबाट डा. केसीसँगको भेटघाट रोकेका छौं,” उनले भने “दिन प्रतिदिन स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।”

सरकारले डा. केसीसँग गरेको सम्झौताविपरीत संसदको शिक्षा तथा स्वास्थ्य समितिले अहिले भएका विश्वविद्यालयबाटै थप मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने बाटो खुला राख्दै विधेयकमाथिको प्रतिवेदन पारित गरेपछि डा. केसी पुस २५ देखि १६ औं सत्याग्रहमा बसेका हुन् ।

डा. केसीसँगै रहेका डा. अभिषेकराज सिंहका अनुसार स्वास्थ्य अवस्था अत्यन्तै जटिल देखिएको छ । उनले डा. केसीलाई जिल्ला अस्पतालमा लैजान लागिएको छ । उनको स्वास्थ्य अवस्थाको ख्याल गर्दै जिल्ला अस्पतालमा लैजान लागिएको हो ।
डा. केसी सहरी विकास भवन निर्माण डिभिजन कार्यालयमा १६ औं सत्याग्रह सुरु गरेका थिए ।

त्यसैगरी प्रतिनिधिसभामा समितिले बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक समिति सभापति जयपुरी घर्तीले पेस गरेकी छन् ।

डा. केसीले १६ औं अनशनमा राखेका ६ बुँदे मागहरु 

१) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णयका बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम  लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमास सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा््िष्ट्रय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्