पाँचथरमा हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

पाँचथरमा हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

नारायण तुम्बापो

फिदिम, पुस ३० गते । लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो ।

बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको स्वरूप फेरिएको हो । बिजुली बल्न थालेपछि मात्र आफूहरूको बजार बजार जस्तो लाग्न थालेको स्थानीयले बताएका छन् ।

hawabata bijuli_Narayan, panchthar.
टुकीको टिलपिले उज्यालोमा रात काट्नुपर्ने सप्तमीका एक सय घरमा अहिले उज्यालो छाएसँगै सप्तमी नमुना बजार भएको छ । वायु ऊर्जासँगै ५० किलोवाट क्षमताको सौर्य प्रणालीको विद्युत् पनि सञ्चालनमा ल्याइएको छ । यसबाट जम्मा ११० घर लाभान्वित हुने जनाइएको छ । अहिले ७६ घरले विद्युत सेवा लिन थालेका छन् । थप विद्युत वितरणका लागि विद्युतीकरणको काम भइरहेको छ ।
सप्तमी बजार नजिकै डाँडामा निकै जोडले हावा चल्छ । सो स्थानमा दुई वटा फ्यान र १५२ वटा सोलार प्यानल राखेर विद्युत निकाल्न थालिएको हो ।

योजनाको प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले गरेको हो ।
सप्तमी डाँडामा परीक्षणका लागि २०७० सालदेखि लगातार पाँच वर्षसम्म हावाको चाप मापन उपकरण राखिएको थियो । यो अध्ययनबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना देखिएको थियो । यसपछि वायु तथा सौर्य मिनीग्रिड उपभोक्ता समिति बनाई बिजुली बाल्ने योजना थालिएको थियो ।
परियोजनाका लागि एसियाली विकास बैंकबाट चार करोड पचास लाख र उपभोक्ताबाट २० लाख र मिक्लाजुङ गाउँपालिकाबाट २४ लाख ७५ हजार रुपियाँ जुटाइएको थियो ।

स्थानीयले वायु र सौर्य ऊर्जाको बिजुली सहुलियत दरमा पनि बाल्न पाउने उपभोक्ता समिति अध्यक्ष गङ्गाबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । बिजुली स्थानीय होटल व्यवसायी धनमाया निरौलाले बत्ती बलेपछि रातको समयमा पनि काम गर्न धेरै सजिलो हुन थालेको सुनाउनुभयो । अँध्यारोको सकससँग जुध्नुपर्ने वाध्याता हटेकोमा सप्तमीवासी धेरै खुसी भएको उहाँको भनाइ छ । सप्तमीको नजिकैको अर्को डाँडा हिउँबारीबाट हावाबाटै पाँचसय किलोवाटसम्म विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । यहाँ पनि हावाको चाप मापनयन्त्र राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्