फाल्गुनन्द गोल्डकपकाे उपाधि झापा–११लाई, विजेताले पायाे ४ लाख

फाल्गुनन्द गोल्डकपकाे  उपाधि झापा–११लाई,  विजेताले पायाे ४ लाख

पाँचथर, १ माघ ।  पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।

झापाको जितमा पुजन उपरकोटी नायक बने । उनले २३ औँ र ८३ औँ मिनेटमा २ गोल गरे । प्रतिस्पर्धात्मक खेलमा ७२ औँ मिनेटमा आर्मीका राजिब गुरुङले बराबरी एक गोल गरे । अन्तिम ७ मिनेटको समय सम्हालिन नसक्दा आर्मीले गोल खान पुग्यो । ८३ औँ मिनेटमा झापा–११ का पुजन उपरकोटीले विजयी गोल गर्दै टिमलाई उपाधि दिलाए । जितसँगै झापाले ट्रफीसहित नगद ४ लाख प्राप्त गर्दा उपविजेता बनेको आर्मीले २ लाख रुपैयाँमा चित बुझायो । फाइनल खेलको म्यान अफ् द म्याच आर्मीका गोलकर्ता राजिव गुरुङ भए । उनले नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको विधागत तर्फ पनि झापाकै वर्चस्व रह्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी झापाका देबेन्द्र तामाङ भए । उनले यामाहाको मोटरसाइकल पाए । प्रतियोगितामा ४ गोल गरेका झापाका कर्ण लिम्बू सर्वाधिक गोलकर्ता बने । उनले नगद १५ हजार पाए । बेस्ट मिडफिल्ड झापाका पुजन उपरकोटी, बेष्ट फरवार्ड दिलन लोक्तान, बेष्ट गोलकिपर मनोज प्रधान र बेष्ट कोच प्रवेश कटुवाल घोषित भए । उनीहरुले जनही नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको बेस्ट डिफेन्डर भने आर्मीका युद्ध शाही बने । उनले पनि नगद १० हजार पाए । प्रतियोगिताको उदीयमान खेलाडी भने आयोजक फिदिम स्पोर्टिङ क्लबका प्रबिन जवेगु बन्दै नगद १० हजार पाए । फिदिम स्पोर्टिङ क्लब पाँचथर र पाँचथर फुटबल संघको संयुक्त आयोजनामा पुस २१ गतेबाट सुरु भएको प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरुसहित १० टोलीले सहभागिता जनाएका थिए । पूर्वको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप नेपालको १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको सम्झानामा विगत १० वर्षदेखि आयोजना हुँदै आएको छ । यो प्रतियोगिता जिल्लाको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्