डा. केसीको उपचारका लागि विशेषज्ञ चिकित्सकहरुको टोली इलाम पठाइयो

डा. केसीको उपचारका लागि विशेषज्ञ चिकित्सकहरुको टोली इलाम पठाइयो

सुनसरी, माघ २ ।

इलाममा अनशनरत् डा. गोविन्द्र केसीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली इलाम प्रस्थान गरेको छ ।

बुधबार प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहको नेतृत्वमा चिकित्सकहरुको टोली केसीको उपचारका लागि इलाम गएको हो ।

डा. केसीको स्वास्थ्यमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशनपछि केसीको थप उपचारका लागि प्रतिष्ठानबाट विशेषज्ञसहितको टोली इलाम पठाइएको प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले जानकारी दिए ।

प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साह, जेनेरल फिजिसियन डा. अजय यादव, एनेस्थेसिायोलोजी डा. सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र यादव र आइसीयु नर्स निर्मला बस्नेतलाई डा. केसीको उपचार गर्न इलाम पठाइएको हो ।

एन्टिबायोटिक औषधि दिन सुरु

इलाममा ८ दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्लाइनबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको छ ।

जिल्ला अस्पताल इलामले केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उनकै सहमतिमा आइभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको जनाएको छ । उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजेन्द्रकुमार साहले डा. केसीलाई अन्य कुनैपनि औषधि भने प्रयोग नगरिएको जानकारी दिए ।

उनले अनशनरत् डा. केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको र शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म आइपुगेको बताए ।

डा. साहकाअनुसार केसीलाई आइसीयुमा राख्नुपर्ने भएपनि अस्पतालमा आइसीयु नभएकाले उपचारमा समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्