विराटनगरमा लायन्सको काम : शवगृह निर्माणदेखि बिरामीलाई उपचारसम्म

<span class='c1'>विराटनगरमा लायन्सको काम :</span> <span class='c2'>शवगृह निर्माणदेखि बिरामीलाई उपचारसम्म</span>

विराटनगर, २ माघ ।
सामाजिक सेवामा सक्रिय रहेको लायन्स क्लबले विराटनगरमा स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पु¥याउँदै आएको छ । अस्पतालमा व्यवस्थित शव गृह निर्माणदेखि आर्थिक अवस्था कमजोर भएर उपचारको पर्खाईमा छटपटाइरहेका बिरामीलाई उपचारमा सहयोग पु¥याउनेसम्मको काममा लायन्सको भूमिका देखिएको हो । त्यही सामाजिक काम अन्तरगत खुट्टा भाँचिएर समस्यामा परेका संखुवासभाको खाँदबारी नगरपालिका ७ का ६० वर्षीय लीलाबहादुर घिमिरेलाई उपचारका लागि लायन्स क्लब अफ विराटनगर सिटिजन्सले सहयोग गरेको छ ।

दाउरा काट्ने क्रममा गत बिहीबार मुडाले किचेर खुट्टा भाँचिएपछि घिमिरेलाई उपचारका लागि विराटनगरको कोशी अञ्चल अस्पतालमा ल्याइएको थियो । रकम अभावमा उपचार गराउन नसकिरहेका उनको उपचारमा लायन्स क्लबले सहयोग गरेको हो । क्लबकै सहयोगमा शल्यक्रिया गरेर उनको खुट्टामा स्टिल राखिएको छ । क्लबले औषधि, उपचार र खुट्टामा राख्ने स्टिलको व्यवस्था गरिदिएको लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी रेवतबहादुर कार्कीले बताए ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाएका घिमिरेलाई ५४ हजार रुपैयाँ बराबरको आर्थिक सहयोगमा उपचार गराईएको कार्कीले बताए । उनले अस्पतालमा उपचार अबभिर फलफुल र पोषिला खानेकुराको व्यवस्था लायन्स क्लबले नै मिलाउने बताए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका अन्य जुनसुकै बिरामीलाई पनि उपचारमा सहयोग गरिने कार्कीको भनाइ छ । कार्कीले पैसा अभावमा उपचार नपाइकन कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए ।
घिमिरेले अर्काकोमा ज्यालामजदुरी गरेर जसोतसो गुजारा गर्दै आएको परिवार भएको छिमेकी लीलाबहादुर विश्वकर्माले बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले घिमिरेको शल्यक्रिया गर्दा र ल्याब परीक्षण गराउँदा लाग्ने सबै शुल्क अस्पतालले मिनाहा गरिदिएको जानकारी दिए । उनले आर्थिक रुपमा विपन्न र असहाय बिरामीलाई अस्पतालले विशेष छुट दिंदै आएको बताए ।
पैसा नभएर उपचार नपाउँदा समस्यामा परिरहेको आफूलाई सहयोग गर्ने लायन्स क्लब, अस्पताल र चिकित्सक टोलीप्रति घिमिरेले आभार व्यक्त गरेका छन् । उनले भने, ‘उपचार नपाइकन मर्छु जस्तो लागेको थियो । उपचारमा सहयोग मिलेपछि नयाँ जीवन पाएको महसुस भएको छ ।’
यसैबीच लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी कार्कीकै सक्रियतामा लायन्स क्लबले बुधबार नै पेट भित्रै सात महिनाको शिशुको मृत्यु भएकी एक महिलालाई समेत आर्थिक सहयोग गरेको छ ।
मोरङको बेलबारी नगरपालिका ६ की २८ वर्षीय कविता खवासलाई पाँच हजार एक सय रुपैयाँ सहयोग गरिएको लायन्सका निवर्तमान डिस्ट्रिक गर्भनर लीलाकुमार ढुँगेलले जानकारी दिए । खवासको पेटमा साता महिनाको शिशुको मृत्यु भए पनि शल्यक्रिया गरेर बाहिर निकाल्नलाई पैसाको अभाव रहेको पाइएपछि सहयोग गरिएको उनको भनाइ छ । खवासलाई कोसी अञ्चल अस्पतालको प्रसूति वार्डमा राखेर उपचार सुरु गरिएको छ ।
अस्पतालमा व्यवस्थित शव गृह
लायन्सका डिस्ट्रिक क्याविनेट सेक्रेटरी कार्कीकै पहलमा कोसी अञ्चल अस्पताल विराटनगरमा व्यवस्थित शव गृह निर्माण गरिएको छ । त्यसको निर्माणका लागि लायन्स क्लब विराटनगर एक्टिभ, विराटनगर शुभम् र लायन्स क्लब अफ दिङ्ला भोजपुरले सहयोग गरेका हुन् । कार्कीले टायल्स र मार्वल समेतको प्रयोग गरेर एसीसहितको सुबिधा भएको शव गृह निर्माण सम्पन्न गर्न छ लाख तीन हजार तीन सय १५ रुपैयाँ खर्च लागेको जानकारी दिए ।
मेसु पोखरेलका अनुसार, शव गृहमा एकै पटकमा तीनवटा शवको पोष्टमार्टम गर्न सकिन्छ । यस अघि कोसी अञ्चल अस्पतालमा व्यवस्थित शव गृह नहुँदा पोष्टमार्टमका लागि ल्याएर राखिएका शव गन्हाउने र वरपर दुर्गन्ध फैलने समस्या थियो ।
‘विभिन्न घटनामा परेर मृत्यु भएकाहरुको शव एक दिनमा अस्पतालमा तीनवटा भन्दा बढी पोष्टमार्टमका लागि ल्याउने गरिएको छ,’ मेसु पोखरेलले भने, ‘तर व्यवस्थित शव गृह निर्माणपछि पोष्टमार्टममा सजिलो हुनुका साथै शव सडेर दुर्गन्ध फैलने समस्याको अन्त्य भएको छ ।’ लायन्स क्लबले यस अघि नै अस्पतालमा एक रातमा २२ जना सम्म सुत्न मिल्ने गरी बिरामी कुरुवा घर पनि बनाइदिएको छ । बिरामीले अस्पतालमा कुर्नका लागि आउने कुरुवालाई सुत्ने ठाउँको अभाव हुने भएका कारण लायन्सको सहयोगमा निर्माण भएको बिरामी कुरुवा घरले धेरैलाई सजिलो भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्