विराटनगर, ४ माघ ।
बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा पेईङ ओपिडी सेवा शुरु भएको छ । नेपाल सरकारको निर्देशन अनुसार अतिरिक्त रकम तिरेर उपचार गर्न जानेहरुको लागि यो सेवा शुरु गरिएको हो । अतिरिक्त रकम तीनसय तिरेपछि सहजै विशेषज्ञ सेवा उपलब्ध गराउने गरी कोशी अञ्चल अस्पतालले पेईङ ओपिडी सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा रोशन पोखरेलले बताए ।
पेईङ ओपिडी नाम दिईएको थप शुल्क तिरेपछि पाईने सेवा दिन शुरु गरिएको हो ।सामान्य समय बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म ५० रुपैया ओपिडी शुल्क तिरेपछि सहजै उपचार पाईनेमा अब सर्बसाधारणको समस्यालाई ध्यानमा राखेर हरेक दिन २ बजेदेखि ५ बजेसम्म थप शुल्क ३ सय ५० रुपैयाँ तिरेपछि बिशेषज्ञ सेवा पाउने डा पोखरेलले बताए । शुल्क तिरेपछि पाईने पेईङ ओपिडि सेवामा दिउँसो २ देखि ४ बजेसम्म टिकट काट्ने बिशेषज्ञ डाक्टर ५ बजेसम्म नै बस्ने ब्यवस्था गरिएको छ ।
यो सेवा माघ २ गतेबाट शुरु भएको हो । नेपाल सरकारले पेईङ कन्सेप्टमा जानेगरी तयारी थालेपछि कोशी अञ्चल अस्पताल विकास समितिको निर्णयबाट यो सेवा शुरु गरिएको हो । पैसा तिर्नसक्नेलाई क्लिनिकमा पठाउन भन्दा अस्पतालमा नै ल्याउने उदेश्यले यो कार्यक्रम शुरु गरिएको डा पोखरेलले बताए ।