विराटनगर, ४ माघ ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले बृहद योग शिविर संचालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै माघ १३ गतेदेखि १९ गतेसम्म बृहद योग शिविर संचालन गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो योग शिविर नेपालकै ऐतिहाँसिक हुन उल्लेख गरे । उनले विराटनगर महानगरपालिकाको बिराट नर्सिङहोम पुर्बको खाली जमिनमा योग गराउने तयारी भएको बताए ।
उपचार खर्चको नाममा अर्बौ अस्पतालमा पुर्याउनु भन्दा रोग नै लाग्न नदिनका लागि मन्त्रालयले योग अभियानलाई अगाडि सारेको मन्त्री घिमिरेको भनाई छ । योग शिविरमा पहिला नाम दर्ता गराएपछि मात्र सहभागी हुन पाउने ब्यवस्था गरिएको छ । नाम दर्ता गराएपछि टोकन दिईने र टोकनका आधारमा योग स्थलमा ब्यवस्था भए अनुसार गएर योग गर्न पाईने मन्त्री घिमिरेले बताए । सामाजिक विकास मन्त्री घिमिरेको संयोजकत्वमा योग आयोजक समिति गठन गरिएको छ । जसमा योगको क्षेत्रमा काम गर्ने संघ संस्थासँगै बिभिन्न गैरसरकारी संस्थाहरु समेत रहेका छन् ।
मन्त्रालयका कर्मचारी डा सरोज विशालका अनुसार ७ दिनसम्म संचालन हुने योग शिविरमा करिब ९ लाख लाग्ने अनुमान गरिएको छ । दैनिक ५ हजार भन्दा बढीले योग गर्ने भनिएको योग शिविरमा राष्ट्रिय स्तरका योग प्रशिक्षक लभदेव मिश्र, श्रीकृष्ण देव जी महाराज लगायतले योग सिकाउने छन् ।