सुमन सुस्केरा/ विराटनगर, ५ माघ ।
सम्झौता भएको लामो समय बितिसक्दा पनि रानी– विराटनगर– इटहरी –धरान व्यपारीक सडक आयोजनाको काम अझै ६० प्रतिशत भन्दा बढी बाँकी छ । ठेक्का लागेर निर्माण शुरु भएको ठाउँमा मात्र करिब ३५ देखि ४० प्रतिशत मात्र काम पुरा नभएको हो । आयोजना सम्झौताको मितिलाई आधार मानने हो भने चैत्र भित्रमा सबै काम सम्पन्न भइसक्नु पर्ने हो । तर बिभिन्न बहाना देखाउँदै काम हुन नसकेको हो । ७ अर्ब ५० करोड बढीको ठेक्का लागि सकेको बिराटनगरको रानी देखि सुनसरीको तरहरासम्म ३५ देखि ४० प्रतिशत मात्र काम भएको परियोजनाले जनाएको छ । यसरी भएको विकासको काममा कतिपय स्थानमा सरकारी संयन्त्र नै समस्याको रुपमा देखिएका छन् । बिराटनगर महानगरपालिका, इटहरी उप–महानगरपालिका, दुहवी नगरपालिका, खानेपानी र नेपाल बिद्युत प्राधिकरणले विस्तारित सडक आयोजनामा असहयोग गर्दै आएको बताईन्छ ।
भारतीय सिमा नाका रानीदेखि धरानसम्म बन्ने व्यपारी सडक निर्माणका लागि अहिले १५ ठाउँमा फरक फरक टेण्डर लगाईएको छ । यसमा एउटा पुल समेत छ । इटहरी उप महानगरको तरहरा खण्डदेखि धरान सम्म जंगल क्षेत्रको ठेक्का समेत लाग्न सकेको छैन ।
यस्ता छन् ठेक्का योजना र अबरोध
भारतीय सिमानासँग जोडिएको क्षेत्रदेखि नहरसम्मको सडक बनाउने ठेक्का आशिष ÷एपेक्स ÷रोशन जेभीले संयुक्त रुपमा पारेको छ । त्यस क्षेत्रको काम ८२ प्रतिशत काम सम्पन्न भएको आयोजनाको अभिलेखमा उल्लेख छ । बाँकी रहेको १८ प्रतिसत काम सक्न रानी भन्सार कार्यालय बाधक बनेको छ । सडकको ‘राइट अफ वे’ मा पर्ने २ सय मिटर सडक क्षेत्रमा भन्सार कार्यालय परेको र सो क्षेत्र भन्सारले खालि नगरिदिएका कारण काम अलपत्र छ ।
यसैगरि बिराटनगर बजार क्षेत्रमा पर्ने एसलाल पम्पदेखि बरगाछिसम्मको सडकको काम २५ प्रतिशत मात्रै सकिएको छ । सडक निर्माण गर्ने ठेक्का एमएस-तुन्दीरमन जेभीले पाएको छ ।
समस्याग्रस्त दुहबी र ईटहरी
इटहरी बजारको मुख्य क्षेत्र र दुहवी नगरपालिकको बजार क्षेत्रमा पनि काम गर्न नगरपालिमा अबरोध छ । नगरपालिकाले सडकको ‘राइट अफ वे’ खाली गराउन नसक्दा काम थाल्न समस्या भएको आयोजनाका कर्मचारीले बताएका छन् । ६ लेन सडकमा सबैभन्दा बढी समस्या दुहवी नगरपालिकामा देखिएको छ । मन्त्री स्तरीय निर्णयबाट सडकको राइट अफ वे घटाइएको छ । २ किलोमिटर क्षेत्र घटाउने निर्णय २०५४ साल चैत्र ३ गते राजपत्र जारि गरेर भएको छ । यसले गर्दा सडक आयोजनाले दुहवी नगरको मुख्य बजारमा काम नै गर्न सकेको छैन ।
इटहरी उप महानगरपालिकाले सडकको ‘राइट अफ वे’ कति हो ? भन्दै केहि महिना अगाडि नै लिखित पत्राचार गरेको छ । सडकले बिच सडकबाट १५ -१५ मिटर लिने र ६ लेनको सडक बनाउने भन्दै डिपीआर बनाएको जानकारी यस अघि नै सम्बन्धित स्थानीय पालिकाहरुलाई जानकारी गराइसकेको थियो । तर बजार क्षेत्रमा बसोबास गर्ने केहि घरधनीको दवावमा इटहरी उप महानगरले १५-१५ मिटर नलिन मौखिक निर्देशन आयोजनालाई केहि महिना अघि दिएको थियो ।
यी निर्णय दुहबीका बाधक
२०२१ साल फागुन ११ गतेको राजपत्रमा निस्किएको सुचनामा जोगबनी सडक खण्डको राइट आफ वे सडकबाट २५÷२५ गज हुने उल्लेख छ । त्यसको १५ दिन पछि पुनः राजपत्रमा जोगबनी धरान सडकको राइट अफ वे सडकको सेन्टर लाइनबाट २५÷२५ मिटर हुने उल्लेख भयो । तर दुहवी क्षेत्रको २ किलोमिटर बजार क्षेत्रको बारेमा भने पुन २०५४ साल चैत्र ३ गते राजपत्रमा सुचना जारी गर्दै सडकको राइट आफ वे घटाइयो । राइट आफ वे घटाँउदै दुहवी क्षेत्रमा सडकको मध्य विन्दूबाट २७÷२७ फिट दाँया बाँया कायम गरियो । जुन कामका लागि तत्कालिन मन्त्री विजयकुमार गच्छदारको हात रहेको बताइन्छ । त्यस्तै २०४८ साल बैशाख १३ गते राजत्रपको सुचनाले बिराटनगर बजार क्षेत्रको सडकको ‘राइट आफ वे’ पनि घटाएर १५ मिटर दाँया बायाँ बनाउने निर्णय गर्यो । तर तत्कालिन समयमा जग्गा धानीको नाम श्रेस्ताबाट नहटाइदिएका कारण अहिले सो सडकको आसपासमा रहेका जग्गा धनीहरुले अदालतमा मुद्दा दायर गरेका छन् । कतिपय मुद्दामा सर्वोच्चले सडकको विपक्षमा समेत फैसला गरेको छ ।
कानुन त सडकको राइट अफ वे अर्थात क्षेत्रअधिकार सडकको मध्य बिन्दुबाट २५ मिटर दायँ बाँया हो । तर जग्गा नभएका कारण १५÷१५ मिटर दायाँ बायाँ बनाउने गरि सडक विस्तार आयोजनाले ५ बर्ष अगाडि नै डिपिआर तयार गरेर काम शुरु गरेको हो । डिपिआरका अनुसार धेरै स्थानमा ठेक्का पनि लाग्यो । लागेका ठेक्कामा पनि सवै तिर एक समानले सडक बन्न नसेको ईटहरीका प्रदेश सभा सदस्य सर्बध्वज साँवा बताँएछन् । जुन रुपमा काम हुनु पर्न हो त्यो अनुसार नभएर कुनै ठाउँमा सानो, कुनै ठाउँमा भुँडे अनी कुनै ठाउँमा खुँडे सडक बनाएको बताए । आफुले यो बारेमा पटक पटक सदनमा कुरा उठाउँदा पनि कुराको सुनुवाई नभएको सुनाए ।
विवादका कारण ६ लेनको महत्वपूर्ण सडकको मापदण्ड फरक फरक बनाइएको छ । कतै ८२ फिट बनाइएको छ भने कतै ६५ र कतै ५५ फिटमा झारेर काम भइरहेको छ । सडकको एक रुपताका बिषयमा सडक आयोजनासँग समेत स्पस्ट जवाफ छैन । इन्जिनियर उपेन्द्र दासले समस्या नभएको स्थानमा सडकको क्षेत्र अधिकार अनुसारको सडक बनाएको र समस्या भएको स्थानमा घटाएरै भएपनि काम अगाडि बढाइएको बताए ।
भारत–नेपाल –चिन जोड्ने रानी बिराटनगर इटहरी धरान व्यपारीक सडक विस्तार आयोजनाका लागि ट्याङ्ग्रा खोला व्यबस्थापन अर्को समस्या देखिएको छ । सुनसरीको इटहरीदेखि दुहवी नगरपालिकाको सोनापु खण्डमा बग्ने ट्याङ्ग्रा खोलामा कसरी सडक निर्माण गर्ने बिषयमा आयोजनाले सहि योजना बनाउन नसक्दा काम शुरु भएपछि समस्या भएको ईन्जिनियर दासले बताए । इटहरीदेखि सोनापुरसम्मको ५ किलोमिटर सडकको एक साइडमा ट्याङ्ग्रा खोला बगिरहेको छ । यसरी बगेको खोलामा कसरी ६ लेन बनाउने भन्ने अझै आयोजनासँग योजना छैन । डाई भर्सन गर्ने गरी बिभागमा छलफल भएपनि साईडका ब्यत्तिःका जग्गा जाने भएकोले मुआब्जाका कुराले समस्या भएको ईन्जिनियर देबले बताए । उनले भने, ‘खोलालाई पूर्व तर्फ सारौँ भने व्यक्तिको जग्गा पर्छ नसारौ भने ६ लेन पुग्दैन, सडक विस्तारमा खोला समेत अवरोध भएको छ । यसको व्यबस्थापन नगरि सडक बनाउन समस्या भएको छ ।’
५ बर्षमा साढे ७ अर्बको ठेक्का साढे २ अर्ब खर्च
५ बर्ष अगाडी डिपिआर तयार पारेर २०७१ सालदेखि शुरु भएको काम अझै ४० प्रतिशत कट्न सकेको छैन । ठेक्कालाई आधार मान्ने हो भने करिब ७ अर्ब ५० करोडको टेण्डर लागि सकेको छ । जसमध्य अहिलेसम्म करिब २ अर्ब ५० करोडको मात्र काम भएको आयोजनाले जनाएको छ । आयोजनाका ईन्जिनियर दासले अझै दुहबीको २ किलोमिटर र तरहरा–धरान करिब १४ किलोमिटरको काम ठेक्का नै लाग्न नसकेको बताए । अबको यस आर्थिक बर्ष भित्र तरहरा–धरानको ठेक्का लगाउने तयारी भईरहेको बताए ।
यस्तो छ, कामको रेकर्ड
रानीदेखि–नहर ३ किलोमिटर भौतिक प्रगती ८२ प्रतिशत,
नहरदेखि एसलाल पेट्रोलपम्प ३ किलोमिटर, ४८ प्रतिशत,
एसलाल पम्पदेखि बरगाछिसम्म, ३ किलोमिटर, ५० प्रतिशत
बरगाछि देखि एयरपोर्ट गेटसम्म, १५ सय मिटर, ९५ प्रतिशत, २०७० सालमा
एयरपोर्ट गेट देखि डिडिसीसम्म १५ सय मिटर, ९५ प्रतिशत
डिडिसीदेखि टंकीसम्म १८ सय मिटर, ७० प्रतिशत काम
टंकीदेखि बाँसवारी, २ किलोमिटर, ४३ प्रतिशत
बाँसवारीदेखि नेमुवासम्म, २ किलोमिटर २६ प्रतिशत
नेमुवादेखि बुढीखोला ईटहरी ७२५ मिटर,४० प्रतिशत
बुढीखोलादेखि पेट्रोलपम्प अगाडी, २ किलोमिटर ठेक्का लाग्न बाँकी
दुहबी ईटहरी ६ किलोमटर २ प्याकेजमा २७ प्रतिशत काम पुरा भएको छ ।
ईटरहरी देखि आँपगाछि ३ किलोमिटर, २३ प्रतिशत
आँपगाछिदेखि तरहराको २ किलोमिटर ६ सय मिटर ४० प्रतिशत काम सकिएको छ । २०७० साल देखि शुरु भएको ब्यापारिक मार्ग सडक आयोजना अन्तरगतको ६ लेन सडक बिस्तारको काम ५ बर्षमा जम्मा ४० प्रतिशत पुगेको हो । यसरी हेर्दा काम सक्नको लागि अझै ५ बर्ष लाग्ने अनुमान गरिएको छ । तर अहिले निर्माण भएर ठेक्का लागेको सडकको काम भने आगामी २ बर्ष लाग्ने आयोजनाले जनाएको छ ।