प्रदेश १ सरकारले थाल्यो सार्बजनिक स्थल सरसफाई अभियान, पान खाएर कार्यालय प्रवेश निषेध

प्रदेश १ सरकारले थाल्यो सार्बजनिक स्थल सरसफाई अभियान, पान खाएर कार्यालय प्रवेश निषेध

विराटनगर, ६ माघ ।
प्रदेश १ मा रहेका सार्बजनिक निकायमा सरसफाई सुदृढीकरणको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । आगामी १ बर्ष भित्र पुर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तरगत मन्त्रालयले कार्यालय प्रमुखलाई बोलाएर आफ्नो कार्यालय सरसफाई गर्ने प्रतिबद्धता लिएको हो ।
कार्यालय प्रमुखहरुले प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छन् । बिभिन्न १५ वटा कार्यालयको सरसफाईको अबस्थाको बारेमा तयार पारिएको श्रब्यदृश्य सामाग्रीसँगै मन्त्रालयको अनुगमन पछि सार्बजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुको अबस्था सुधारकालागि अभियान नै चलाउन लागेको हो । यसरी कार्यालय प्रमुखहरुले गरेको प्रतिवद्धता पत्रमा कार्यालय परिसरमा सफा शुद्ध एवं सुरक्षित खानेपानीको उपलब्ध गराउने, कार्यालयबाट निस्कने फोहोरलाई श्रोतमा नै वर्गिकरणगरी कुहिने र नकुहिने फोहोरको समुचित ब्यवस्थापन गर्ने , कार्यालयबाट निस्कने फोहोर पानीको सुरक्षित निकासको उचित प्रबन्ध गर्ने ब्यवस्था गर्ने प्रतिबद्धता कार्यालय प्रमुखहरुको छ ।
१६ बुँदे प्रतिबद्धतामा सरसफाईको लागि विशिष्ट जिम्मेवारी सहित मानव श्रोत लगायत आवश्यक सामग्रीहरु उपलब्ध गराउने, सेवाग्राहीको चाप अनुसार शौचालयहरुको संख्यामा बृद्धी गर्ने, साबुन पानीको उपलब्ध गराउँदै हात मुख धुने उचित ब्यवस्था मिलाउने, शौचालयको सरसफाईलाई विशेष प्राथमिकता दिई दुर्गन्ध रहित रुपमा संचालन गर्न दैनिक न्यूनतम दुई पटक सफा गर्ने व्यवस्था मिलाइने समेत कार्यालय प्रमुखले प्रतिबद्धता जनाएका छन्।
त्यस्तै कार्यालय परिसरको शौचालयहरुलाई महिलामैत्री, बालमैत्री, अपाङ्गमैत्री बनाउदै लगिने, कार्यालय परिसरमा स्वच्छता कायम गरिराख्न नियमित सरसफाई एवं फूलवारीको व्यवस्था गर्ने, पूराना काम नलाग्ने सामानहरुको समयमै उचित व्यवस्थापन गर्ने, कार्यालयका छाना र भित्ताहरुमा माकुराको जालो, धुलो वा अन्य कुनै किसिमको फोहर रहन नदिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
कार्यालय एवं कार्यालय परिसरको समयानुकुल मर्मत संभार तथा रङ रोगन गर्ने, सरसफाई अवस्थाको दैनिक रुपमा चेकलिष्ट प्रयोग गरी अनुगमन गर्ने व्यवस्था मिलाइने, कार्यालय परिसरभित्र पान, गुट्खा एवं सुर्तीजन्य पदार्थ पुर्णतया निषेध गरिनेछ, कार्यालय प्रमुखद्धारा हस्ताक्षरित प्रतिबद्धता पत्रमा भनिएको छ । सरसफाई दिगोपनाका लागि कार्यालयको भुमिका र सेवाग्राहीहरुको भूमिका सबैले देखिने र बुझिने गरि कार्यालय परिसरमा अनिवार्य राख्नुपर्ने ब्यवस्था सामाजिक विकास मन्त्रालयले गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले अहिलेसम्म सामान्य सरसफाईमा समेत ध्यान नदिईएको पाईएकोले यो प्रतिबद्धता पछि प्रदेश सरकारले सोचे अनुसारको प्रदेश सफा अभियान कार्यान्वयनमा जाने विस्वास ब्यक्त गरे । मन्त्री घिमिरेले अहिले हामीले काम गर्ने कार्यकक्ष देखि कार्यालय परिसरको सरसफाईको अबस्थाको बारेमा जानकारी हुँदा हुँदै पनि कामहरु हुन नसक्नुको कारण पहिचान गरेर अघि बढ्ने हो भने कार्यालय सरसफाईमा केही दिन मै नमुनाको रुपमा अगाडि आउने बताए । प्रदेश सरकारले एक बर्ष भित्र पुर्ण सरसफाई युक्त सार्बजनिक निकायको रुपमा विकास गर्न लागिएकोले यसमा सबैको साथ हुनु पर्ने विस्वास ब्यक्त गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेशलले प्रदेश सरकारले थालेको अभियान सबैभन्दा उत्कृष्ट र सबैको चासोको बिषय भएको बताए । मानिसको हैसियत भान्सा र शौचालयबाट थाहा हुने भन्दै आफ्नो घरको शौचालय र भान्सा सफा छ त्यही अनुरुप कार्यालयको कार्यकक्ष र शौचालय सफा बनाउने प्रतिबद्धताले अब सरकारी कार्यालयको सरसफाईमा सुधार हुने आशा पलाएको बताए । उनले भने, ‘भान्सा र शौचालय सफा भयो भने ९० प्रतिशत रोगबाट बँचिन्छ त्यसमा हामी सबै लाग्नुपर्छ ।’
आयो कर्मचारीको प्रतिबद्धता
एक नम्बर प्रदेश सरकारले आयोजना गरेकै कार्यक्रममा कर्मचारीले कार्यालयको सरसफाई कमजोर भएको वीकार गरेका छन् । सार्बजनिक सेवा प्रवाह स्थलमा सरसफाईको बर्तमान अबस्था, चुनौती तथा भावी कार्यदिशा सहित मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले आजैदेखि कार्यालयमा सुचना प्रकाशित गरी कार्यालय परिसरमा पान, गुट्खा, सुतीजन्य पद्धार्थ निषेध गरिने बताए । ‘हामीले लाज पचाउन अप्ठेरो मान्नै पर्दैन, हामीले कार्यालय सरसफाई गर्न सकेका छैनौ, प्रमुख जिल्ला अधिकारी उप्रेतीले भने, अब कार्यालयमा पान खाएर पस्नेलाई कार्वाही गरिनेछ ।’
कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख राजेन्द्र बुढाथोकी, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, निजी अस्पताल संचालक संस्थाका अध्यक्ष शंकर अधिकारीले सरसफाई ब्यवस्थापनको काम आफैँबाट शुरु गर्नु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्