सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट पौड्याल पुरस्कृत

सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट पौड्याल पुरस्कृत

विराटनगर, ६ पुस ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले युवा साहित्यकार महेश पौड्याललाई पुरस्कृत गरेको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’बाट पौड्याललाई पुरस्कृत गरिएको हो । सुदिश निरौला मेमोरियल ट्रष्टले हरेक वर्ष ४५ वर्षमुनिका एकजना स्रष्टालाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरेको हो । पुरस्कार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्नेछ । वरिष्ठ समालोचक दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सुदिशकी मातासमेत रहेकी ट्रष्टकी अध्यक्ष टेकमाया निरौला लगायतले पौड्याललाई दोसल्ला ओढाएर १५ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
पौड्याल अनुवादसहित समालोचना, आख्यान, कवितालगायतका विधामा कलम चलाउँदै आएका छन् । उनको पछिल्लो कृति ‘त्यसपछि फुलेन गोदावरी’ कृति चर्चित छ ।
कविसमेत रहेका सुदिशको सवारी दुर्घटनामा निधन भएको थियो । पिता गोविन्द र माता टेकमाया निरौलाले छोरा सुदिशको स्मृतिमा ट्रष्ट स्थापना गरेर सामाजिक कार्य गर्दै आएका छन् । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका समालोचक दधिराज सुवेदी, समालोचक भूषण ढुंगेल, कवि गोकुल अधिकारी, मधु पोखरेल, मीनकुमार नवोदित, भेषराज पोखरेल, ट्रष्टका सल्लाहकार कमल सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । ट्रष्टलाई सहयोग गर्ने सुदिशका सहपाठी दिपेश गौतमलाई पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्