प्रदेश नं १ पर्यटन : पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बन्यो

प्रदेश नं १ पर्यटन : पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बन्यो

भोजपुर, माघ ७ गते ।

टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो ।

यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ ।

पर्यटकीय स्थल टेम्के डाँडाको काखमा पर्ने यो पोखरीको संरक्षण तथा प्रचारप्रसार गर्न सके सयौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । स्थानीय नवराज माङपाहाङ राईले भन्नुभयो, “पुर्खाले स्थापना गरेको यो पोखरी अहिले आएर जीर्ण बनेको छ, संरक्षणमा सरोकारवाला पक्षको ध्यान गएको छैन ।”

खोटाङ जिल्लाको सिमानामा पर्ने यस ठाउँबाट निकै मनोरम दृश्य देखिने भएकाले यसको विकास, विस्तार तथा प्रचारप्रसार गर्न सके अन्तिरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने अर्का स्थानीयवासी भीमकुमार राईले बताउनुभयो । “यो ठाउँले निकै ऐतिहासिक महत्व बोकेको छ, पोखरीको संरक्षण गरी यहाँका पर्यटकीय क्षेत्रको विषयमा जानकारी दिन सके गाउँपालिकाले लाखौँ आम्दानी गर्नसक्छ”

स्थानीय तहले पनि पोखरीको संरक्षणमा अहिले चासो देखाएको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिनुभयो । राईले भन्नुभयो, “यो पोखरी हाम्रो ऐतिहासिक सम्पदा हो, यसको संरक्षणका लागि हामी काम गर्छौँ साथै हाम्रो क्षेत्रमा पर्ने अन्य पर्यटकीय क्षेत्रको पनि गुरुयोजना बनाएर काम गर्ने सोचमा छौँ ।”

खर्च विवरण नदिँदा बजेट रोक

साल्पासिलिछो गाउँपालिकाको दोस्रो चौमासिकको बजेट निकासा रोकिएको छ । गाउँपालिकाले पहिलो चौमासिकमा भएको खर्चको विवरण नपठाउँदा दोस्रो चौमासिकको निकासा रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका प्रमुख गुरुभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले साल्पासिलिछो बाहेक आठवटा स्थानीय तहलाई भने बजेट निकासा गरेको छ । अर्थ मन्त्रालय, सरकारी वित्तीय हस्तान्तरण व्यवस्थाअन्तर्गत दुईवटा नगरपालिका र छ गाउँपालिकालाई रु ४७ करोड ७९ लाख ६७ हजार निकासा गरिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले सबैभन्दा बढी षडानन्द नगरपालिकालाई रु सात करोड ५५ लाख १९ हजार ७५० र सबै भन्दा कम पौवादुङ्मा गाउँपालिकालाई रु तीन करोड ९६ लाख ४५ हजार ५०० निकासा गरेको छ ।

त्यस्तै भोजपुर नगरपालिकालाई रु सात करोड २३ लाख ४२ हजार ५००, अरुण गाउँपालिकालाई रु चार करोड ६६ लाख २८ हजार २५०, टेम्केमैयुङ गाउँपालिकालाई रु पाँच करोड १३ लाख ३६ हजार निकासा गरेको छ । त्यसैगरी रामप्रसाद राई गाउँपालिकालाई रु चार करोड ३९ लाख ६० हजार ५००, आमचोक गाउँपालिकालाई रु चार करोड ५५ लाख ७४ हजार ५०० र हतुवागढी गाउँपालिकालई रु चार करोड ५८ लाख ६३ हजार ५०० निकासा दिइएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्