झापामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन

झापामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन

झापा बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरिएकाे छ ।

डिभिजन वन कार्यालय झापाले विगत एक महिनादेखि यस क्षेत्रमा जारी जङ्गली हात्तीको अातंक कम गर्न साे टाेली परिचालन गरेकाे हाे । हात्तीकाे बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पुर्याउने गर्न थालेपछि कार्यालयले जनधनको सुरक्षाका लागि हात्ती धपाउन गस्ती टोली शुरु गरेको कार्यालयका प्रमुख विष्णु घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार सो क्षेत्रको सामुदायिक वन क्षेत्रमा गर्भिणी ढोईसहित १३ जङ्गली हात्ती रहेको अनुमान गरिएको छ । ती हात्ती दिनभर आदर्श, नमूना र थोप्लेविरान सामुदायिक वनभित्र बस्ने र साँझ पर्नासाथ गाउँ पसेर स्थानीयवासीलाई आतङ्कित तुल्याउने गरेका छन् ।

गाउँको बीचमा रहेको जङ्गलमा हात्तीको बासस्थान भएका कारण गाउँवासीको अन्नबाली मात्र नभएर ज्यानै जोगिन गाह्रो भइरहेको छ । जिल्ला वन कार्यालयबाट साइरन गाडीसहितको सात सदस्यीय वन रक्षक टोली आएपछि स्थानीयवासीले राहत र सुरक्षित अनुभूति गर्न पाएको बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेतीले बताए ।

स्थानीय आदर्श सामुदायिक वन समितिको कार्यालयमा वनको गस्ती टोली बस्दै आएको छ भने टोलीले हरेक दिन हात्ती गाउँ पस्ने भएकाले साँझ पर्नासाथ स्थानीयवासीलाई घरबाट ननिस्कन माइकिङसमेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्