विराटनगरमा ‘धुलो ब्यवस्थापन समस्या’ कन्सल्ट्यान्ट गैरजिम्मेवार

विराटनगरमा ‘धुलो ब्यवस्थापन समस्या’   कन्सल्ट्यान्ट गैरजिम्मेवार

विराटनगर, ९ माघ । सहरमा उड्ने धुलो कसको हो ? कसले नियन्त्रण गर्ने ? विराटनगरको पछिल्लो तर पेचिलो विवाद हो यो । हिजोआज महानगरबासी धुलोमा पुरिएर यात्रा गर्छन् । कार्यालय, विद्यालय, अस्पताल सबै क्षेत्र धुलाम्मे छन् । काम गर्न जानेलाई उत्तिकै सास्ती छ । पसल र होटल सग्ला छैनन् । मुख्य वा सहायक मार्ग सबैतिर हालत उस्तै छ । जता गयो उतै धुलो । सडकभरि वुङवुङ्तीे उड्छ । मास्कले नाक छोप्दा थेग्दैन । मुख नै खिरिलो हुँदै श्वासनलीसम्म पुग्छ ।

धेरैले त मफलर र सलले टाउदेखि मुखसम्म छोपेरै हिँड्छन् । ‘‘तर, कहाँ बच्नु र ?,’’ तीनपैनी चौकमा भेटिएका रमेश मण्डलले भने, ‘‘आज सग्लो देखिएको सडकमा भोलि डोजर चल्दै हुन्छ । भत्कायो, छाड्यो अनि हिँड्यो । पर्सिपल्टदेखि धुलै धुलो । कहिले बन्ने हो टुंगै हुँदैन ।’’  विराटनगरमा आगन्तुकले त झन् ठूलो सास्ती बेहोर्नुपर्छ । हालै विराटनगर आएका काठमाडौका पत्रकार सुरेश आचार्यले यहाँको धुलोबारे टिप्पणी गरे, ‘‘उता काठमाडौमा मास्क खोल्नुपर्ने अवस्था हुँदैछ यता भने मास्कले पनि नथेग्ने रहेछ ।’’

साँझबिहान धुलो उडेर सहर तुवाँलोमा छोपिए झैं देखिन्छ । तर, यसलाई नियन्त्रण गर्ने अथवा उड्नबाट रोक्ने जिम्मा कसको हो ? ‘‘अहिलेको धुलो हाम्रो होइन,’’ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाल भन्छन्, ‘‘यसको स्वामित्व त झन् हाम्रो हुँदै होइन ।’’

उसो भए कसको हो त ?

‘‘देख्दा दोष हाम्रो टाउकोमा थोपरिन्छ,’’ दाहालले उत्तर दिए, ‘‘जनताले मेयरदेखि कर्मचारीसम्म र महानगरलाई नै सराप्छन् । गाली पनि गर्छन् । तर म भन्न चाहन्छु, अहिले सहरमा उड्ने धुलो हाम्रो कारणले भएको होइन । रोक्ने अर्कैले हो । हामी बीचमा पर्न चाहँदैनौं ।’’

धुलो उडेको सडकमा पानी छर्कने, बढी मानिसको आउजाउ हुने सडक निर्माणमा गति दिने, डाइभर्सन बनाउने जिम्मा महानगरको नभए कसको हो त ? यस विषयमा कमै नगरबासी मात्र जानकार छन् । धेरैलाई लाग्छ ‘भत्काउने महानगर हो, उसैले बनाउनु पर्छ पानी छर्नुपर्छ र धुलो हटाउनु पर्छ ।’

मापदण्ड एसियाली, काम गुणस्तरहीन 
विराटनगरमा एसियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) को फटाइँका कारण नगरवासीको स्वास्थ्यमै गम्भीर असर पुगिरहेको महानगरको आरोप छ । सम्झौताअनुसार बैंकले अन्य एसियाली देशमा अपनाएको मापदण्डअनुसार नै निर्माणको काम अघि बढाउनु पर्छ । तर, विराटनगरमा मापदण्डको ख्याल नगरी मनोमानी ढंगले काम गरिँदैछ । पहिलो चरणमा सम्पन्न मझौला सहरको एकीकृत सहरी वातावरणीय सुधार परियोजना र दोस्रो चरणको क्षेत्रीय सहरी विकास परियोजनाको बजेट ६ अर्ब हो । रयुडीपीको काम अब एक वर्षभित्र पूरा गरिसक्नु पर्छ । परियोजनाअन्तर्गत एसियाली विकास बैंकको मापदण्डअनुसार निर्माणको काम गर्न कन्सल्ट्यान्ट नियुक्त गरिएको छ ।

न्जिनियरको ठूलो समूह पनि परिचालित छ तर सहरमा अन्धाधुन्ध सडक भत्काएर निर्माणलाई गति नदिने र एकातर्फको काम पूरा नगरी विकल्पबिनै अर्कोतिर सडक भत्काउने गर्नाले सहर धुलोले छोपिएको नगरवासीको गुनासो छ । महानगरपालिका रकम भुक्तानीबाहेक थप जिम्मेवारीमा छैन ।

महानगरका प्रमुख भीम पराजुलीले भने, ‘‘नेपाल सरकारबाट सबै जिम्मा परियोजनाले प्राप्त गरेको छ । उसैले परियोजनाको मोडल बनाएको छ । कन्सल्ट्यान्ट खटाएको छ । मापदण्ड पनि तय छ । सोहीअनुसार उसले गर्ने हो । हामीले जनस्तरबाट आएका गुनासो सुन्ने र परियोजनाका कन्सल्ट्यान्ट र ठेकेदारलाई काम गर्न दबाबमात्र दिने हो । गुनासो आए सुनाउने हो ।’’ धुलोको सवाल पनि यस्तै भएको बताउँदै पराजुलीले परियोजनाले नगर्दा कतिपय ठाउँमा महानगरले आफ्नै ट्यांकरले पानी छर्ने गरेको बताए ।

महानगर कमजोर, कन्सल्ट्यान्ट गैरजिम्मेवार
महानगरले सडक फराकिलो बनाउन छेउछाउका संरचना हटाउने, नाला निर्माण गर्दा विवाद भए मिलाउने जस्ता मात्र जिम्मेवारी पाएको बताउँदै महानगरका सामाजिक विकास प्रमुख पुनम दाहाल भन्छन्, ‘‘सामाजिक रुपमा परियोजना अघि बढाउँदा समस्या आए हामीले मिलाउने काम मात्र गर्छौ । बाँकी सबै जिम्मा कन्सल्ट्यान्ट र ठेकेदारको हो ।’’ आरयुडीपी परियोजनाको सडक तथा नाला निर्माणको ठेक्का आशिष कन्स्ट्रक्सन्सले लिएको छ ।

सम्झौता लतार्दै ठेकेदार
ठेकेदारले कामको सम्झौता गर्दा नै जनस्वास्थ्यलाई ध्यान दिँदै निर्माण हुने स्थानमा धुलो उड्न नदिने, नियमित पानी छर्कने, निर्माणस्थललाई प्लास्टिकले छोप्नुपर्नेलगायत सम्झौता गरेको छ । तर, विराटनगरमा भएका कुनै पनि काम सम्झौताअनुरुप भएका छैनन् । प्रमुख पराजुली भन्छन्, ‘‘यसमा महानगर पर्न चाँहदैन, बरु धेरै ठाउँमा त आफैं ट्यांकर चलाएर पानी छर्दै पनि आएका छौं ।’’ महानगरले आफ्नै स्रोत खर्च गरी दैनिक पाँच ट्यांकर पानी सडकमा खन्याउँदै आएको पराजुली बताउँछन् ।

अहिले जताततै सडक खनिएका छन् । नाला निर्माण गर्न खाल्डो खनिएका छन् । उत्तरतर्फबाट अहिले निर्माणको काम दक्षिणतर्फ सरेको छ । तीनपैनी चौक, अस्पताल चौक, जलजलामोड, ठाकुरबाडी रोड, गुदरी मोड आदि सडकमा बीचमा भ्वाङ पारेर डोजरले खनिरहेका छन् । तर, उड्ने धुलो नियन्त्रणको काम भएको छैन । आरयुडीपीको ठेकेदार आशिष कन्स्ट्रसन्सले समेत महानगरको निर्देशन मानिरहेको छैन ।

परियोजनाबाहेक जारी ६ लेन सडकको जिम्मा लिएको भूमि कन्स्ट्रक्सन्सले धुलो नियन्त्रण गर्न चासो दिएको छैन । परियोजनाअन्तर्गत महानगरभित्र मुख्य सडक निर्माण, ढल तथा नालाको काम र ट्रिटमेन्ट प्लान्टसहित फोहोर प्रशोधन केन्द्र निर्माणको काम जारी छ ।  (साभार : कुमार लुईटेल/ बाह्रखरी डटकम)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्